Comments Add Comment

त्रिवि परिसरको प्रहरी भवन कृषि तथा पशुविज्ञान संस्थानलाई

१४ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा नेपाल प्रहरीले बनाएको भवन कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले लिने भएको छ ।

त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानको भवन नजिकै प्रहरीले आफैं बस्न बनाएको भवन विभिन्न विद्यार्थी र प्राध्यापक स‌ंगठनहरुको विरोधका कारण प्रयोगविहीन अवस्थामा थियो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका लागि त्रिविले जग्गा दिएर भवन निर्माण सुरु भएपछि विद्यार्थीहरुले विरोध गरेका थिए । त्यही विरोधका कारण भवन  तयार भएपछि पनि प्रहरी कार्यालय त्यहाँ सारिएको थिएन ।

उक्त प्रयोगविहीन भवन असार ५ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले कृषि तथा पशुविज्ञान अध्ययन संस्थानलाई स्नातकोत्तर र विद्यावारिधीको कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अब प्रहरीलाई यस्तै अर्को भवन बनाउन लाग्ने रकम कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले दिनेछ ।

संस्थानले भवन अभावमा स्नातकोत्तर र विद्यावारधीका कार्यक्रम निजी भवन भाडामा लिएर सञ्चालन गर्दै आएको थियो । त्रिवि परिसरमै जग्गा पाए पनि संस्थानले भवन बनाउन सकेको थिएन ।

प्रहरी भवन प्रयोगविहीन भएपछि संस्थानले ती भवन आफूले लिने र उस्तै भवन निर्माण गर्दा लाग्ने खर्च नेपाल प्रहरीलाई उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।

संस्थानको उक्त प्रस्तावलाई त्रिवि कार्यकारी परिषदको बैठकले स्वीकृत गरेको छ । त्रिवि कार्यकारी परिषदको निर्णय नम्बर ३२७ मा भनिएको छ, ‘…कीर्तिपुरस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको भवनसँगै नेपाल प्रहरीले निर्माण गरेको दुईवटा भवन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर र विद्यावारिधी कार्यक्रम सञ्चालनका लागि लिने र सो वापत नेपाल प्रहरीलाई त्यस्तै प्रकृतिका भवन बनाउन लाग्ने रकम अध्ययन संस्थानको आन्तरिक स्रोत र नेपाल सरकारबाट प्राप्त रकमबाट व्यहोर्न स्वीकृति दिने निर्णय भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment