Comments Add Comment

अनलाइन कक्षा : देखावटी लहडको एक नमूना

विज्ञान र प्रविधिको विकास सँगसँगै उपलब्ध स्रोतसाधनको प्रयोग गर्नु राम्रो हो। विशेषगरी विज्ञान र प्रविधिमैत्री स्रोतसाधनहरु शिक्षा क्षेत्रसँग बढी जोडिएको पाइन्छ । कोविड-१९ को प्रभावले गरिएको लकडाउन झन्डै ३ महिना पुग्न लागिसकेको छ। सरकारले लकडाउनअघि नै सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लकडाउन अवधिभर सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरेतापनी कतिपय शिक्षण संस्थाहरुले अनलाइन माध्यमबाट कक्षा संचालन गरिसकेका छन् र कतिपय संस्थाहरु अनलाइन कक्षा संचालन गर्ने तरखरमा छन् ।

अनलाइन कक्षा राम्रो वा नराम्रो भन्नेमा सबैका आ-आफ्नै धारणा होलान् तर राम्रो र नराम्रो भनेर वादविवाद खेलेर बस्नुभन्दा अनलाइन प्रविधिको अधिकतम प्रयोग शिक्षा क्षेत्रमा कसरी गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ । त्यसका लागि सुगम क्षेत्रमा अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउने र दुर्गम क्षेत्रमा कसरी स्रोतसाधन उपलब्ध गराउने भन्नेतर्फ ध्यान जानू अति आवश्यक छ।

सारा मानवजगत लकडाउनमा फसेको अवस्थामा शिक्षालाई प्रभावकारी बनाउन अनलाइन कक्षा सन्चालन गर्नु राम्रो हो तर हाम्रो जस्तो विकासोन्मुख देशमा सिमित स्रोतसाधन भएकाले हामीले सोचेजस्तो सम्पूर्ण कुरा अनलाइनबाट मात्रै गर्न भने पक्कै सकिँदैन ।

यसबाट शिक्षक र विधार्थीबिचको सम्बन्धमा सुधार भने आउँछ । कतिपयले निजि शिक्षण संस्थाले ‘अनलाइन कक्षा’ लाई ‘मार्केटिङको टुल’ नै बनाएका छन् ।शैक्षिक सत्रलाई निरन्तरता दिने निहुँमा यसरी पढाएर शुल्क उठाउने आधार तय गरेको विज्ञहरु बताउँछन् ।

कुरा गरौं त्रिभुवन विश्वविद्यालयको- धेरैजसो निजी शिक्षण संस्थाले अनलाइन कक्षा सञ्चालन गरेपछि त्रि.वि.ले पनि वैशाखमा सूचना निकाल्दै आफ्नो मातहतका क्याम्पसहरुलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण बनाउन पत्राचार गरेको थियो। लकडाउनले शैक्षिक गतिविधिहरु अनिश्चित हुने भएकाले “अनलाइन कक्षासम्बन्धी निर्देशिका-२०७७” तयार पारी वैकल्पिक शिक्षाको बाटो रोजेको छ।

निर्देशिकामा त्रिविका पूर्णकालीन अध्यापकलाई त्रिवि बाहेकका क्याम्पसमा अनलाइन कक्षामा सहभागी हुन नपाइने, अनलाइन कक्षाका समयमा शिक्षक विधार्थीले औपचारिक पोसाक लगाउनुपर्ने, शिक्षक विधार्थीको हाजिर राख्ने, सोही हाजिरानुसार शिक्षकलाई पारिश्रमिक दिने र विधार्थीलाई परीक्षामा सहभागी गराउने, शिक्षक, विधार्थी वा कर्मचारीले नियम उल्लंघन गरेमा कारवाही गरिने प्रावधान उल्लेख गरिएको छ। तर, यो निर्देशिका आफैंमा पूर्ण भने छैन। हरेक विधार्थीसँग विद्युतीय सामग्री र ईन्टरनेटको पहुँच छैन भन्नेबारे निर्देशिकामा केही पनि उल्लेख गरिएको छैन। यस्तो अपूर्ण निर्देशिकामा प्रवधानहरु उल्लेख गरेर मात्रै सञ्चालन गर्ने अनलाइन कक्षा कत्तिको प्रभावकारी होला?

त्रिविले केही दिनअघि सूचना निकालेर एघार हजार अध्यापक र साढे चार लाख विधार्थीलाई इ-आइडी प्रदान गरिने भनेको थियो। के इ-आइडीकै भरमा मात्रै अनलाइन कक्षा चल्छ ? त्रिविका कतिपय विधार्थीसंग ल्यापटप त छाडौँ एन्ड्रोइड मोबाइल पनि छैन । त्यहीँमाथि धेरै विधार्थीहरु विभिन्न भौगोलिक क्षेत्रमा कष्टसँग बसिरहेका छन् । अनि बिजुली कतिबेला आउँछ, कतिबेला जान्छ थाहा हुँदैन । यस्तो बेलामा अनलाइन कक्षा केवल देखावटी र लहडको नमुना मात्रै हुन्छ भन्नेमा दुई मत छैन ।

अब कुरा गरौँ कृषि तथा वन विज्ञान विश्वविद्यालयको- नेपालको एकमात्र प्राविधिक विश्वविद्यालय मानिने कृषि तथा वन विज्ञान विश्वविद्यालयले त्रिवि ले जस्तो निर्देशिकासमेत तयार पारेको छैन। विश्वविद्यालयका पदाधिकारी र कर्मचारी त्यसतर्फ लागेको त बताउँछन् । तर, लकडाउनको ३ महिना बितिसक्दासम्म केही अत्तोपत्तो छैन। तर, केही विधार्थीहरुले अनलाइन कक्षासम्बन्धि रुचि देखाएर सामाजिक सन्जालमा भटाभट पोस्ट गरेका छन् ।

विश्वविद्यालय मौन रहँदा विधार्थीहरुले दबाब दिनुपर्छ भन्ने उनिहरुको भनाइ छ। यो आफैंमा राम्रो पक्ष हो। तर, यहाँ कोही विध्वान मित्रहरु स्रोत र प्रविधिको अभाव हुँदाहुँदै अरुलाई देखाउनकै लागि भएपनी अनलाइन बाट पढाउनुपर्छ भन्नेतर्फ लागेका छन् ।

तर, विश्वविद्यालयले एनसेल र टेलिकमसँग विधार्थीहरुलाई डाटामा सहुलियत दिन समेत कुरा गरेको छैन।अहिले अनलाइन कक्षाका लागि अवलम्बन गर्ने भनिएको गुगल जुम वा म्यासेन्जर दोहोरो कुराकानीका लागि मात्रै उपयुक्त छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयजस्तो एउटै कक्षामा ५०-५५ जना विधार्थीहरु पढाउने विश्वविद्यालयमा यी सामाजिक सन्जाल उपयुक्त छैनन् । यी सन्जालबाट सिकाइको शैलीसमेत मिल्दैन। भिडियो च्याट जसरी हुने पढाईले सिकाइमा के सुधार ल्याउला ?

विश्वविद्यालयको कक्षाकोठामा पढाई भइरहँदा त्यस्तो जाबो सरको क्लास त आफैं पढे हुन्छ भन्ने विधार्थीहरुलाई अहिले अनलाइन कक्षाको भुत किन चढेकाे हो कुन्नी ? विश्वविद्यालयको कक्षा कोठामा उपस्थित हुँदा त पढाईमा रुचि नजगाउने यस्तो प्रणालिले अनलाइनबाट के सिकाउला ?

विश्वविद्यालयमा पढ्न नेपालका सबै ठाउँहरुबाट विधार्थीहरु आउने गर्छन् । झण्डै १० प्रतिशत जनसंख्या विधुत सेवाबाट बन्चित छन् र ४५ प्रतिशत जनसंख्या ईन्टरनेटको अभावबाट गुज्रिरहेका छन् । त्यसमध्ये पनि थोरैले मात्रै गुणस्तरीय ईन्टरनेट सेवा प्राप्त गरेका छन् । त्यसैले अहिलेको यो अनलाइन कक्षा बहसमै मात्र सीमित नहोला भन्न सकिन्न।

अर्को कुरा, अनलाइन कक्षाका लागि घर सबैका लागि उपयुक्त ठाउँ नहुन सक्छ । शहरमा एउटा मात्र कोठा डेरा गरेर बसेका विधार्थीहरुलाई थाहा हुन्छ यसको पीडा । आमाबुबाअगाडि उनीहरुलाइ धक लाग्न सक्छ, जसले गर्दा पढाईतर्फ ध्यान जाँदैन। नियमित रुपमा भनेजस्तो कक्षा नहुन सक्छ । कहिले शिक्षक हराउन सक्छन्। कहिले विधार्थीको प्रविधि व्यवस्थापन र हल्लखल्लामै समय बित्छ। दुर्गमका लागि अनलाइन कक्षा आकाशको फलमात्र हुन्छ।

(पोख्रेल कृषि तथा वन विज्ञान विश्वविधालय, रामपुर चितवनमा स्नातक तहमा अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment