+
+
Shares

बुढ्यौलीको आफ्नै सौन्दर्य

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते ११:५२

बैंसालु उमेरमा हामी आफ्नो रूपरंगको जति ख्याल राख्छौं उमेर ढल्किँदै जाँदा भने त्यसप्रति हाम्रो रुचि घट्दै जान्छ । किशोर वा युवा उमेरमा हामी हरक्षण सर्तक रहन्छौं आफ्नो रूप रंगप्रति । अनुहार, आँखा, कपाल, ओठ, दाँत, हातखुट्टा, नङ, समग्र शरीरको बान्की मिलाउन खोज्छौं । लुगाफाटो पनि चिरिच्याट्ट लगाउन मन लाग्छ । जसरी हुन्छ, हेर्दा आकर्षक देखिनुपर्छ।

आफूलाई आकर्षक देखाउनकै खातिर अनेकथरी सौन्दर्य प्रशाधन प्रयोग गर्नेदेखि लुगाको रंग-संयोजन मिलाउनेसम्म ध्यान दिन्छौं । खानपान, व्यायाम आदिबाट पनि हामी आफ्नो सौन्दर्य कायम राख्ने यत्न गर्छौं ।

तर जतिजति उमेर ढल्किँदै जान्छ, हाम्रो रुचि र शैली फेरिँदै जान्छ । हुन त बालापनमा हामीलाई जसरी आफू आकर्षक देखिन्छु भन्ने लाग्छ, किशोर, युवा उमेरमा त्यो सोच परिवर्तन हुँदै जान्छ । वयस्क भएपछि घर गृहस्थीमा प्रवेश गरिन्छ, पेसा–व्यवसाय अपनाइन्छ । त्यसबेला पनि हामी फरक ढंगले आफ्नो व्यक्तित्व निर्माण गर्नतर्फ लाग्छौं ।

तर जब गृहस्थीमै भुल्न थाल्छौं र उमेरले बुढ्यौलीतर्फ ढल्कन थाल्छ, हामीलाई राम्रो देखिने रुचि कम हुँदै जान्छ । अरूको अगाडि आकर्षक देखिने रहर कम हुँदै जान्छ । न त्यसबेला हामी आफ्नो ओठ गुलाबी हुनुपर्छ भन्ने ठान्छौं। न आँखा चहकिलो हुनुपर्छ भन्ने । न अनुहार कोमल र चम्किलो बनाउने यत्न गर्छौं, न कपाल मुलायम बनाउने । हामीलाई लुगाफाटोमा पनि उस्तो रहर लाग्दैन । आफूलाई सहज हुने पहिरन भए पुग्छ । तर के बुढ्यौलीमा प्रवेश गरेसँगै हामीले सबैथोक गुमाउनुपर्छ ? बैंसालु उमेरमा जस्तै बुढ्यौलीमा पनि आफूलाई आकर्षक देखिन आवश्यक छैन ?

बुढ्यौलीको आफ्नै सौन्दर्य

बुढ्यौलको पनि विशेष सौन्दर्य हुन्छ ।

भलै हाम्रो छाला चाहुरिँदै गएको होलान्, कपाल फुल्न थालेका होलान् । आँखाको चमक हराउँदै गएको होलान्, छालाको नरमपन रुखो हुँदै गएको होलान् । त्यसो भन्दैमा आफ्नो सौन्दर्यमा पटक्कै ख्याल नगर्ने त ? मेकअप गर्ने, राम्रो लाउने, छरितो देखिने रहरलाई तिलाञ्जलि दिने त ?

पक्कै यो राम्रो होइन । वयस्क, प्रौढ एव बुढ्यौली उमेरमा पनि हामी फेसन कन्सस हुनु जरुरी छ । आफूलाई सुहाउँदो पहिरन लगाउनुपर्छ । यस्तो पहिरन जसले हेर्दा छरितो र आकर्षक देखियोस् । अझ महत्वपूर्ण कुरा त के भने, हामीले आफू बुढो भएको ठान्नु नै ठिक हुन्न । उमेर जतिसुकै गुज्रिएर गए पनि मनमा युवापन बाँकी राख्नुपर्छ । आफूलाई जवान महसुस गर्नुपर्छ । केही समयअघि भएको एक अध्ययनको निचोड के थियो भने, असली उमेरभन्दा महसुस गर्ने उमेरको प्रभाव हाम्रो शरीरमा पर्छ । अर्थात् हामी आफूलाई पाको ठान्छौं भने जरुर हामीमा बुढ्यौलीको संकेत देखापर्न थाल्छ । तर उमेर ढल्किँदै गए पनि आफूलाई जवान ठान्ने गर्छौं भने हामी ऊर्जावान्, जोसिला देखिन्छौं।

यसका लागि हामीसँग आफैँप्रति राख्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ। सौन्दर्य विज्ञहरू भन्ने गर्छन्, ‘हामीले कहिल्यै यस्तो नसोचौं कि उमेर बढ्नु वा प्रौढ हुनु एक समस्या हो । यो त जीवनको अर्को चरणको सुरुवात हो । दोस्रो पटक तनमनलाई सजाउने उमेर हो ।’

खासगरी ४०–५० वर्षको उमेरसम्म हामीले आफ्ना जीवनको धेरैजसो लक्ष्य पूरा गरिसकेका हुन्छौं । बच्चा हुर्किसकेका हुन्छन् । कामधन्दा एक हिसाबले व्यवस्थित भएको हुन्छ । पारिवारिक जीवनमा लय मिलिसकेको हुन्छ ।

तर अब हामीले केही नगरे हुन्छ, जस्तो भए पनि हुन्छ भनेर लय छाड्नु भने ठिक हुँदैन, खासगरी आफ्नै व्यक्तित्वको सवालमा । यो उमेरमा पुगेपछि हामीले आफैँलाई सम्हाल्न सिक्नुपर्छ । सक्रियता जारी राख्नुपर्छ । नयाँनयाँ कुरामा खुसी खोज्नुपर्छ । सधैं सफा, सुकिलो र खुसी तुल्याउनुपर्छ । मनलाई जति खुसी राख्न सकिन्छ, हाम्रो सौन्दर्य पनि उति नै खुल्छ । मन प्रफुल्ल भए नै अनुहारमा चमक देखिने हो । यसका लागि योग, ध्यान, प्राणायम जस्ता विधि निकै उपयोगी हुन्छ ।

उमेर ढल्कदै जाँदा हामीले स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । खानपानदेखि अन्य आनीबानीमा पनि सन्तुलन राख्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?