Comments Add Comment

प्रधानमन्त्रीको ‘पुरानो कार्ड’ बिकेन !

‘कुर्सी जोगाउन प्रधानमन्त्रीले भारतलाई जोड्नुभयो’

१५ असार, काठमाडौं । भारतले आफूलाई पदबाट हटाउन लागेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विभिन्न टिप्पणी भइरहेका छन् ।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने भारतको खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए ।

विश्लेषकहरू भने प्रधानमन्त्रीले कुर्सीमा टिकिरहन यस्तो धारणा राखेको बताउँछन् । प्राध्यापक कृष्ण खनाल विरोधीको मुख थुन्न, आफ्नै मान्छेलाई एकै ठाउँमा राख्न र जनमत आफ्नो पक्षमा बनाउन प्रधानमन्त्रीले यस्तो धारणा राखेको बताउँछन् ।

खनाल भन्छन्, ‘यद्यपि जनमत आफ्नो पक्षमा बन्छ कि बन्दैन भन्ने कुरा जनताले पत्याउँछ कि पत्याउँदैन भन्नेमा भर पर्छ ।’

राजनीतिशास्त्रका अर्का प्राध्यापक कृष्ण पोखरेल जसले पनि प्रधानमन्त्री बनायो त्यो पार्टीले प्रधानमन्त्रीलाई हटाउन नखोजेको बताउँदै भन्छन्, ‘सरकार पार्टीको निर्देशनअनुसार चलोस्, पद्दतिको पालना होस् भन्न खोजिएको हो, ‘दुईतिर खुट्टा राख्दा न सरकार चल्या छ, न पार्टी भनेर प्रधानमन्त्रीको आलोचना भएको हो ।’

विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘आन्तरिक राजनीतिमा आफूलाई फाइदा पुर्‍याउनका लागि जथाभावी बोल्दा कूटनीतिक सम्बन्धमा असर पर्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्लेषकहरुको थप भनाइ–

‘नक्सा छाप्ने निर्णय पार्टीको हो, व्यक्तिको होइन’
प्राध्यापक कृष्ण पोखरेल

अघिल्लोपटक पदबाट राजीनामा दिनुपर्दा पनि केपी शर्मा ओलीले मलाई विदेश शक्तिले हटायो भन्नुभएको थियो । जब कि त्यतिबेला उहाँको आफ्नै कारणले सरकार ढलेको थियो । माओवादी पार्टीसँगको भद्र सहमति उहाँले नै उल्लंघन गर्नुभएपछि त्यो सरकार ढलेको थियो ।

अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा नै उहाँलाई म असुरक्षित हुन लागेँ भन्ने परेको थियो । किनभने, त्यो अध्यादेशको उद्देश्य नै पार्टीभित्रबाट असहयोग भएमा संसदीय दलको बहुमत आफ्नो पक्षमा राख्नका लागि थियो ।

पार्टीभित्रबाट आफूमाथि आइराखेको संकट मोचनका रुपमा अध्यादेशलाई प्रयोग गर्न खोज्नुभएकै हो । तर, पार्टीभित्रबाट पनि उहाँलाई हटाउन खोजेजस्तो लाग्दैन । पार्टीको निर्देशनअनुसार चलोस्, पद्दतिको पालना होस.् भन्न खोजिएको हो । दुईतिर खुट्टा राख्दा न सरकार चल्या छ, न पार्टी भनेर विरोध भएको हो ।

बलुवाटारमै चलिरहेको पार्टीको बैठकमा बस्न सक्नुभएको छैन । बैठक छल्छु, भाग्छु भनेर त कति दिन चल्छ र ? यो सन्दर्भमा पार्टीभित्रको माहोल बदलिन्छ भनेर त्यस्तो बोल्नुभएको हो ।

पार्टी नेतृत्वलाई व्यवस्थापन गर्न नजान्दा उहाँको आलोचना भइरहेको छ । आफ्नै कार्यशैली, अहम र गुटप्रियताले गर्दा यो बिन्दुमा आइपुग्नु भएको हो । प्रधानमन्त्रीले त्यो भाषणलाई अन्तिम कार्डका रुपमा प्रयोग गर्नु भएको हो ।

भारतले अतिक्रमण गरेको भूमिसहितको नेपालको नक्सा छाप्ने निर्णय पार्टीको हो । त्योबेलासम्म त उहाँ नक्सा भनेको प्रेसमा छापे हुन्छ भनेर बस्नु भएको हो ।

सरकारको नीति तथा कार्यक्रममा उहाँको चाहनाले नक्साको कुरा राखिएको होइन । अन्तिम समयमा आएर पार्टी सचिवालयले निर्देशन दिएपछि मात्रै नीति तथा कार्यक्रममा यो कुरा परेको हो । नक्सा छाप्ने एजेण्डा नै उहाँको होइन ।

भारतले माइक्रोम्योजमेन्ट गर्छ रे भन्ने सुनिन्छ । त्यो पनि सत्य होला । त्यसो भए नक्सा जसको एजेण्डा नै होइन, उसलाई किन हटाउला ? भारतले हटाउन सक्छ भन्ने मान्ने हो भने त उहाँलाई प्रधानमन्त्री पनि भारतले नै बनाएको विश्वास गर्नुपर्ने हुन्छ । मलाई त त्यस्तो लाग्दैन । उहाँलाई त जनताको मत र नेकपाले प्रधानमन्त्री बनाएको हो ।

भारतले हटाउन लाग्यो भन्दा त जनताको अपमान भएन र ? आफ्नो प्रधानमन्त्री आफैंले चयन गरेँ भन्ने विश्वास विपरीत भएन र ?

भारतीय मिडियाको सन्दर्भ ल्याउनुभएको छ । भारतको मिडियाले मोदीलाई देउता भन्छ । के मोदी देउता हो र ? होइन नि । मैले भन्न खोजेको, भारतीय मिडियाको कुरा पत्याउने हो भने त मान्छे बौलाइहाल्छ नि ।

नक्सा प्रकाशन, संविधान संशोधनपछि प्रशासनिक तहको वार्ताको अर्थ छैन । राजनीतिक तहबाटै वार्ता हुनुपर्ने बेलामा मलाई हटाउन खोज्यो भन्नु भनेको भारतलाई चिढ्याउनु मात्र हो । सिधै भन्दा, आफ्नो आन्तरिक राजनीतिक असफलता लुकाउन भारतलाई भड्काउने काम गर्नुभयो ।

तपाईँले भाषण पूरै सुन्न भएको छ भनेपछि पनि मै प्रधानमन्त्री भइरहनुपर्छ भन्ने भाव देखिन्छ । आफू मात्रै राष्ट्रवादी भन्ने सोच उहाँमा देखियो । एक वाक्यमा भन्ने हो भने उहाँले आफ्नो सुविधाका लागि दिएको अभिव्यक्ति हो ।

‘अफ्ठ्यारोमा प्रयोग गर्ने पुरानो कार्ड’
प्रा. कृष्ण खनाल

नेपालको आन्तरिक राजनीति बाहिर चलखेलबाट मुक्त छ भन्ने होइन । तर, प्रधानमन्त्रीको भनाइ कुनै नौलो कुरा होइन । विगतमा भारतले यस्तो ग¥यो उस्तो ग¥यो भनिन्थ्यो । एउटा फरक के छ भने नेताहरूले आफूलाई अफ्ठ्यारो पर्दा दरबारको चलखेल भन्न छाडेका छन् ।

आफूलाई आन्तरिक संकट पर्दा प्रयोग गर्ने पुरानै कार्ड प्रयोग गरेका हुन् । यो कुरा पहिला नै आउँथ्यो । तर, अहिले भारतसँग जोडिएको नक्साको पनि सन्दर्भ आएपछि यस्तो भनाइ आएको हो । अर्थात् यो कार्ड प्रयोग गर्न उपयुक्त लाग्यो प्रयोग गर्नुभयो ।

प्रधानमन्त्रीले तीनवटा उद्देश्यले यस्तो कुरा गर्नुभएको हुन सक्छ, विरोधीको मुख थुन्न, आफ्नै मान्छेलाई एकै ठाउँमा राख्न र जनमत आफ्नो पक्षमा बनाउन । जनमत भावनात्मक रुपमा आफ्नो पक्षमा आउँछ कि आउँदैन भन्ने कुरा जनताले कति विश्वास गर्छन् भन्नेमा भर पर्छ । जनताले नै हावादारी कुरा हो, यसको कुनै अर्थ छैन भन्न थाल्यो भने जनमत पनि बन्दैन ।

त्यस कारण, यो नितान्त पार्टीभित्रबाट चुनौति आएपछि व्यक्त धारणा हो जस्तो लाग्छ । यो ठूलो कुरा पनि होइन । तर, जसका बारेमा बोलिएको छ, उनीहरूले चाहिँ यसलाई आफू अनुकुल व्याख्या गर्न सक्छन् । भारतले प्रधानमन्त्रीको भनाइ कसरी व्याख्या गर्दा आफूलाई फाइदा हुन्छ, त्यसरी नै प्रयोग गर्छ । हामीले नेपालमा प्रधानमन्त्री हटाउन लागेका छौं वा छैनौं भन्ने कुरा आएन ।

महत्वपूर्ण कुरा के हो भने भारतले हटाउन लागेर वा नलागेर भन्दा पनि आन्तरिक राजनीतिमा आफूलाई गाह्रो परेपछि यस्तो भनाइ आएको हो ।

‘‍‍‍…मनको बाघले खायो’
श्याम श्रेष्ठ, विश्लेषक

‘वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खान्छ’ भनेजस्तो भयो । प्रधानमन्त्री स्थायी कमिटी बैठकमा सहभागी पनि भइरहनु भएको छैन । यस्तो अवस्थामा भारतले आफूलाई हटाउन लागेको कुरा गर्नुभएको छ ।

सबैभन्दा बढी सूचनाको पहुँच हुने ठाउँमा उहाँ आफैं हुनुहुन्छ । विभिन्न जानकारी पनि प्राप्त गरिरहनुभएको होला । तर, नक्साको विषयमा देश नै एक ढिक्का भएका बेलामा कसैले चाहेर पनि प्रधानमन्त्रीलाई हटाउन सक्दैन ।

नेकपाका नेताहरू पनि ओलीलाई हटाउन लागेजस्तो लाग्दैन । खाली कार्यशैली र पद्दतिको विषयमा बहस भएजस्तो लाग्छ । मेरो बुझाइमा स्थायी कमिटीको आलोचनाबाट बच्न उहाँले यस्तो धारणा राख्नुभएको हो ।

आन्तरिक राजनीतिमा आफूलाई फाइदा पुर्‍याउनका लागि जथाभावी बोल्दा कूटनीतिक सम्बन्धमा असर पर्छ । साँचो कुरा रहेछ र त्यो बोल्दाखेरि देशको हितमा हुन्छ भने पनि प्रधानमन्त्रीको तहबाट यस्तो बोल्नु सही होइन । नबोली नहुने कुरा छ भने तल्लो तहका नेताहरूलाई बोल्न लगाउँदा हुन्छ ।

जसरी उहाँले संसदबाट भारतको निशान छापको विषयमा बोल्नुभयो, त्यसलाई भारतीयहरूले मुद्दा बनाए । यस्तो कुरामा लाग्नु भन्दा नक्सासम्बन्धी प्रमाण संकलन र व्यापक गृहकार्यमा लाग्नुपर्छ । सबै हिसाबले हामीसँग खेर फाल्नका लागि समय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment