Comments Add Comment

कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न चीन जाँदै डब्ल्यूएचओको टोली

१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ ।

डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओले मेको शुरुवातदेखि नै चीनलाई आफ्ना विशेषज्ञहरु बोलाएर कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भाइरसको बारेमा सबै कुरा आफूहरुलाई थाहा भएको भए निकै राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताएका छन् ।

अझै पत्ता लगाउन बाँकी रहेको कुरामा यो भाइरस कहाँबाट आयो भन्ने विषय पनि रहेको उनको भनाइ छ । अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्ल्यूएचओका प्रमुखको विश्वास छ ।

यद्यपि यो टोलीमा को को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन । वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा आएको बताउँदै आएका छन् । तर, अहिलेसम्म यो भाइरस मानिसमा कसरी आयो भनेर पुष्टि भने हुन सकेको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment