Comments Add Comment
विचार :

कोभिड-१९ र हाम्रो तयारी

नेपालमा कोभिड-१९ को डडेलो मुलुकभर प्रसार भइसकेको छ । अहिलेको तथ्यांकअनुसार तराई क्षेत्रमा ‘क्लस्टर केस’ देखिन थालेको छ भने विश्व स्वास्थ्य संगठनले नेपाल लाई ‘स्पोर्‍याडिक केस’ मात्र भएको सूचीमा राखेको छ ।

हामी कुन सूचीमा छौं भन्ने विषयमा विज्ञहरूका आ-आफ्नै राय होला तर हामी कोभिड-१९ महामारीको संघारमा छौं भन्न भने सकिन्छ । हामीसँग अहिले समय निकै कम छ र चुनौतीहरू असीमित छन् । यदि हामीले वैज्ञानिक हिसाबले विभिन्न विज्ञहरूको परामर्शमा कार्यविधि बनाएर यसको रोकथामका लागि युद्धस्तरमा लाग्ने हो भने यसको नियन्त्रण सम्भव छ ।

रोकथाम कसरी गर्ने ?

यस कोभिड-१९ रोगको रोकथाम कसरी गर्नेभन्दाअघि यो रोग कसरी फैलिन्छ भन्ने जान्नु जरुरी छ । हामीलाई थाहा छ यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासबाट थुकको अदृष्य थोपाहरूमा मिसिएर अर्को व्यक्तिको नाक, आँखा वा मुखहुँदै शरीरमा प्रवेश गर्छ ।

सामान्यतया यो थुकको छिटाहरू ६ फिटभन्दा टाढा जाँदैन । त्यसैले यदि तपाईं संक्रमित व्यक्तिभन्दा ६ फिट टाढा हुनुहन्छ, संक्रमित व्यक्ति र तपाईं दुवै जनाले सर्जिकल मास्कको प्रयोग गर्नुभएको छ, आपसमा १५ मिनेटभन्दा छोटो समय भेट्नुभएको छ भने तपाईंलाई संक्रमण हुने सम्भावना ज्यादै न्यून हुन्छ ।

त्यसैले सामाजिक दुरी कायम गर्नु, जनघनत्व घटाउनु, मास्क लगाउनु र हात सफा राख्नु कोभिड-१९ रोकथामका लागि प्रभावकारी हुन्छ । तर यति मात्र गरेर पुग्दैन । सरकारले गरेको लकडाउनले यो महामारीलाई छिटो फैलिनबाट केही हदसम्म कम गराए पनि यसले महामारी पूरै रोक्न सक्दैन भन्ने कुरा अहिलको अवस्थाले प्रष्ट पारेको छ ।

हामीलाई थाहा भएअनुसार संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने क्रममा ४० प्रतिशत लक्षण भएको अवस्थामा सर्छ, ४५ प्रतिशत लक्षण देखिनुभन्दा २-३ दिन अगाडिबाट सर्छ भने ५ प्रतिशत लक्षण आउँदै नआई सर्छ । वातावरणीय स्रोतबाट (जुन हातबाट सर्छ) १० प्रतिशत मात्र सर्छ । यसरी हेर्दा हामीले ‘टेस्टिङ र आइसोलेसन’ बाट मात्र यो रोग नियन्त्रण गर्न सक्दैनौं ।

यसभन्दा बढी जरुरी हुन्छ, संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरू पत्ता लगाउनु र सकेसम्म लक्षण देखा नपर्दै छुट्टै ठाँउमा राख्नु ताकि अरू व्यक्तिलाई नसरोस्, यसलाई भनिन्छ ‘कन्ट्याक्ट् ट्रेसिङ र क्वारेण्टाइन’ । त्यसैले सरकारले यो अवस्थामा ‘टेस्टिङ’मा मात्र जोड दिएर पुग्दैन, ‘कन्ट्याक्ट् ट्रेसिङ’मा झन् बढी बल गर्नुपर्छ ।
अब कुरा गरौं, यी विधिहरू कसरी वैज्ञानिक तवरमा व्यवस्थित गर्न सकिन्छ भन्नेबारे ।

१. ‘टेस्टिङ र आइसोलेसन’

कुनै पनि संक्रमित व्यक्तिसँग अघि माथि उल्लेख गरिएजस्तो विनामास्क नजिकको सम्पर्कबाट भाइरस शरीरमा प्रवेश गरेपछि रोगको लक्षण देखा पर्न लगभग ५-७ दिनको समय लाग्छ । लक्षण आउनुभन्दा २-३ दिन अगाडिबाट लक्षण आएको एक हप्तासम्म पीसीआर वा एण्टिजिन पोजेटिभ हुन्छ । एक हप्तापछि बिस्तारै पीसीआर वा एण्टिजिन हराउँदै जान्छ र आइजीएम एण्टिबडी देखिन थाल्छ ।

त्यसको पनि एक हप्तापछि ‘आइजीजी एण्टिबडी देखिन थाल्छ र लक्षण सुरु भएको दुई हप्तापछि लगभग पीसीआर नेगेटिभ आउँछ भने आइजीएम एण्टिबडी’ (IgM Antibody) र आइजीजी एण्टीबडी मात्र पोजेटिभ रहन्छ । आइजीएम र आइजीजीलाई ‘सेरोलोज’ भनिन्छ । यसलाई दुई प्रकारले टेस्ट गर्न सकिन्छ । ‘इलाइजा/सीएलआइए'(IgG ELISA/CLIA) र एन्टिबडी-आरडीटी यी दुईमा तुलना गर्दा इलाइजा/सीएलआइए बढी भरपर्दो, सस्तो र सर्वसुलभ देखिन्छ ।

त्यसैले, टेस्ट गर्दा रोगको कुन अवस्थामा गरिएको छ भन्ने आधारमा एउट टेस्टमा पोजेटिभ आउँदा अर्कोमा नेगेटिभ पनि आउन सक्छ । त्यसका साथै आरडीटीको सवालमा कुन कम्पनीको किट प्रयोग गरिएको हो र यो एफडीएबाट मन्यता प्राप्त छ कि छैन भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ । अन्यथा यसको विश्वसनीयतामा प्रश्न चिह्न खडा हुन्छ । हाम्रो नेपालमा एन्टिबडी-आरडीटीले निम्त्याएको समस्यामा यिनै दुई कारणले हो । हामीले विश्वास गरेर ल्याएको एन्टिबडी-आरडीटी किटले ९०प्रतिशत सेन्सिटिभिटी को हवाला दिए तापनि वास्तवमा सही रहेन छ र हामीले पनि भ्यालिडिटि जाँच गर्न सकेनौं ।

कुन अवस्थामा कुन टेस्ट गर्ने ?

लक्षण भएको एक हप्ताभित्र – पीसीआर

लक्षण भएको १-२ हप्ताभित्र – आइजीएम इलाइजा/सीएलआइए र पीसीआर

लक्षण भएको २ हप्तापछि – ‘आइजीजी इलाइजा/सीएलआइए’ (IgG ELISA/CLIA)

कम्युनिटी सर्विलेन्स (Community Surveillance) – ‘आइजीजी ‘इलाइजा/सीएलआईए’ (IgG ELISA/CLIA)

‘एन्टी-सेरम थेरापी’ (Anti-serum therapy) ‘आइजीजी ‘इलाइजा/सीएलआईए ।

कति संख्यामा पीसीआर गर्ने ?

सामान्यतया हिसाब गर्दा दैनिक रूपमा पहिचान भएका संक्रमितहरूको संक्रमण (Daily detected case) को ३३ गुणा पीसीआर गर्नुपर्ने हुन्छ भने यस्तो दर तीन प्रतिशतभन्दा कम राख्नुपर्छ । वर्तमान अवस्थामा हाम्रो ‘डेली केस डिटेक्सन रेट’ ७ प्रतिशत छ । जसको अर्थ हुन्छ हामीले अझै पर्याप्त मात्रामा पीसीआर टेस्ट बढाउनुपर्ने हुन्छ ।

ताकि दैनिक रूपमा पहिचान भएका संक्रमितहरू ३ प्रतिशतभन्दा कममा झार्न सकियोस् । मानौं अहिले हाम्रो डेली डिटेक्टेड केस लगभग ६०० छ र ‘डेली केस डिटेक्सन रेट ७ प्रतिशत छ । अब तपाईं मोटामोटी हिसाब गर्न सक्नुहुन्छ कि हामीले दैनिक कति मात्रामा पीसीआर टेस्ट गर्न आवश्यक छ । जबकि हाम्रो देशमा अहिले मुस्किलले दिनहुँ जम्मा पाँच हजार- सात हजार टेस्ट मात्र हुन सकेको छ ।

अर्को कुरा सबै मानिसलाई पीसीआर टेस्ट गर्न पनि सकिँदैन र गर्न आवश्यक पनि हुँदैन । सामान्यतया निम्नलिखित प्राथमिकताको आधारमा टेस्ट गर्नुपर्ने हुन्छः-

· रोगको लक्षण भएका बिरामीहरू, त्यसमा पनि उच्च मृत्यु जोखिम भएका बिरामीहरू
· लक्षण नभएका तर बिरामीको उपचारमा संग्लग्न स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक आदि । जसमा समयमा नै संक्रमण पत्ता लगाउन सकिएन भने अरू बिरामीहरूमा समेत सर्न सक्छ।
· संक्रमणको उच्च सम्भावना भएका व्यक्तिहरूजस्तै क्वारेन्टिनमा बसेका व्यक्तिहरू वा संक्रमित सम्पर्कमा आएका व्यक्तिहरू ।
· पीसीआर टेस्ट कति मात्रामा गर्ने र कसलाई गर्ने भन्ने कुरा महामारी कुन तहमा छ र ‘पीसीआर किट्स’ कति मात्रामा उपलब्ध छ भन्ने कुरामा भर पर्छ र यो समयसँगै परिमार्जित हुन्छ ।

‘इलाइजा/सीएलआईए’ टेस्ट

हामीले माथि छलफल गरेजस्तै ”इलाइजा/सीएलआईए’ टेस्टहरू को आफ्नै उपयोगिता छन् र यो ‘एन्टीबडी-आरडीटी’ भन्दा गुणस्तरीय छ । तथापि यसलाई पीसीआरको विकल्पको रुपमा भने लिन सकिँदैन । माथि उल्लेखित प्रयोगबाहेक, कुनै पनि मानिसलाई संक्रमणबाट मुक्त भएको मानिसको रगतबाट ‘एन्टिबडी’ झिकेर उपचार गरिने पद्दतिमा पनि ”इलाइजा/सीएलआईए’ टेस्ट सुरुमा गर्नुपर्ने हुन्छ ।

भाग्यवश नेपालभरि ”इलाइजा/सीएलआईए’ टेस्टका मसिनहरू उपलब्ध छन् र यसको ‘किट्स’ पनि विश्व बजारमा सर्वसुलभ छ । यसर्थ नेपाल सरकारले अविलम्ब ”इलाइजा/सीएलआइए’ टेस्ट लाई मान्यता दिएर दशौं हजारमा परिचालन गर्नुपर्छ । ‘इलाइजा/सीएलआईए’ (ELISA/CLIA) टेस्ट हुँदाहुँदै ‘एन्टिबडी-आरडीटी’ ल्याउनु पर्दैन । तर ‘एण्टिजिन-आरडीटी’ को विषयमा छुट्टै बहस जरुरी छ ।

२ . ‘कन्ट्याक्ट् ट्रेसिङ र क्वारेन्टिन’

हामीले ‘कन्ट्याक्ट ट्रेसिङ’ कति महत्वपूर्ण हुन्छ भनेर माथि छलफल गरिसक्यौं । वर्तमान अवस्थामा ‘कन्ट्याक्ट ट्रेसिङ’ ‘इडीसीटी’ (EDCD) ले स्थानीयमार्फत गरेको बुझिन्छ । तर यो व्यवस्थित तरिकाले हुन सकेको छैन । त्यसमाथि हामीले गर्ने अन्तर्वार्तामा आधारित ‘कन्ट्याक्ट ट्रेसिङ’को आफ्नै कमजोरी छन् । जवाफ दिने व्यक्तिले पनि २-३ दिनभन्दा पहिलेको कुरा सम्झिन गार्हो छ भने परिचित व्यक्तिबाहेक अरू व्यक्तिको नाम लिन असम्भव हुन्छ ।

त्यसमाथि कति मानिसहरूले कुरा लुकाउने गरेको पनि सर्वविदितै छ । यस अवस्थामा हाम्रो पुरातन विधिमा मात्र भरपर्नु घातक हुन सक्छ । हामीले पनि चीन, ताइवान, भारत, आदि देशले गरे जस्तै ‘आईटी’ को सहायता लिनैपर्ने हुन्छ । संक्रमित व्यक्ति वा उच्च जोखिमको व्यक्ति कुन ठाउँमा छ भनेर पत्ता लगाउने विधिलाई ‘जियोट्यागिङ’ भनिन्छ ।

यसमा परिमार्जित गरी हामीले सजिलै उच्च जोखिमको क्षेत्र, उच्च जोखिमको समुदाय पहिचान गर्न सकिन्छ ।

आउनुहोस् यस विषयमा छलफल गरौं :-

‘मोबाइल एप्प्स’

मोबाइलमा ‘जियोट्यागिङ’ एप्प्सको प्रयोग गरेर त्यसमा पनि ‘ब्लुटुथ’को प्रयोग गरेर माथि उल्लेखित ‘जियोट्यागिङ’, त्यसमाथि पनि ‘जियोफेन्सिङ’, ‘ब्लुटुथ सर्विलेन्स’ र ”जियोट्यागिङ स्टिकर सिस्टम’ (Geo tagging sticker system) आदि गर्न सकिन्छ ।

यस्तै, विज्ञहरूले मिलेर बनाएको ‘कोभिड एनपी’ नामक एप सीसीएमसीले उद्घाटन पनि गरेको छ । अरू देशमा अनिवार्य रूपमा प्रयोग गर्न लगाइएको यस्तो एपलाई सरकारले उचित प्रचार प्रसार गरेको देखिँदैन ।

यदि यो एप सबैले प्रयोग गर्ने हो भने संक्रमित व्यक्तिको नजिकमा आउनासाथ प्रयोगकर्तालाई पहिले नै सजग बनाउन सकिन्छ । यसले संक्रमित व्यक्तिलाई निश्चित परिधिमा बस्न सहयोग गर्दछ र आफ्नो क्षेत्रको संक्रमणको ‘हिट म्याप’ (Heat Map) पनि पहिचान गर्न सकिन्छ ।

‘फिङ्गरप्रिन्ट जियोट्यागिङ’ (Fingerprint Geo tagging)

गृह मन्त्रालयमा भएको ‘फिङगरप्रिन्ट’ टेक्नोलोजीलाई प्रयोग गरेर ‘क्वारेन्टिन’मा बस्ने मान्छेको व्यवस्थापन मात्र होइन एक ठाँउबाट अर्को ठाँउमा हुने आवतजावतलाई पनि नियन्त्रण गर्न सकिन्छ ।

‘जियोट्यागिङ रिस्टब्यान्ड’ (Geo tagging Wristband)

म्याराथुन दौडमा प्रयोग हुने सामान्य खालका ‘जियोट्यागिङ रिस्टब्यान्ड’हरू प्रयोग गरेर पनि माथि उल्लेखित प्रविधिमा काम गर्न सकिन्छ ।

‘टेलिकम जियोट्यागिङ’ (Telecom Geo tagging)

टेलिकम कम्पनीहरूसँग मिलेर पनि संक्रमित र उच्च जोखिममा रहेका वा विदेशबाट विनाक्वारेन्टिन भित्रिएका मान्छेहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न सकिन्छ । साथै, एक ठाउँबाट अर्को ठाउँमा हुने अनियन्त्रित आवतजावतलाई पनि व्यवस्थित गर्न सकिन्छ ।

सूचनाको केन्द्रीकरण

नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले आ-आफ्नै एप तथा डाटाहब बनाएका छन् । तर ती सबै डाटाहरूलाई एकै ठाउँमा जम्मा गरी राम्रो विश्लेषण गर्नु आहिलेको आवश्यकता हो । यदि यस्तो गरिएन भने यस्ता असंख्य एपमा पैसा खर्च गर्नुको कुनै औचित्य देखिँदैन ।

यसरी ‘टेस्टिङ’ वा ‘कन्ट्याक्ट् ट्रेसिङ’ बाट आएका विवरणहरूलाई एकत्रित गरेर साथै स्थानीय सरकारबाट प्राप्त विदेशबाट आएका मानिसहरूको गणितीय तथ्यांकको आधारमा नेपालभरि नै एउटा ‘हिट म्याप’ बनाउन सकिन्छ । त्यसको आधारमा उच्च संक्रमित वा उच्च जोखिमको क्षेत्रलाई ‘रेड जोन’ मानेर बाहिरको जोनमा ‘कम्युनिटी टेस्टिङ’ को आधारमा ‘अरेन्ज जोन’ र ‘ग्रिन जोन’ बनाउन सकिन्छ ।

‘रेड जोन’ मा उच्च जोखिममा रहेकालाई मात्र टेस्ट गरे हुन सक्छ, सबै संक्रमितलाई गर्नुपर्ने अवस्था पर्दैन । तर रेड जोन’ मा कडाइका साथ ‘लकडाउन’ गर्नुपर्ने हुन्छ । ‘अरेन्ज जोन’ वा ‘ग्रिन जोन’ मा ‘पुल्ड पीसीआर’ गर्न सकिन्छ (अथवा पीसीआर गर्न सम्भव नभएको अवस्थामा ”इलाइजा/सीएलआईए’ गर्न सकिन्छ ।

यससँगै लकडाउन क्रमिक रुपमा खुकुलो बनाउन सकिन्छ । यस अर्थमा यो प्रष्ट हुन्छ कि सम्पूर्ण नेपालको लागि एउटै पोलिसीले काम गर्दैन । यसका लागि स्थानीय सरकारले विज्ञहरूसँग परामर्श गरी केन्द्र सरकारको निवेदनमा ‘लकडाउन’ र ‘टेस्टिङ’को उचित व्यवस्था गर्नुपर्छ ।

विपद् व्यवस्थापन

जुन रुपले संक्रमण फैलिरहेको छ त्यही रुपले हामी अनुमान गर्न सक्छौं कि निकट भविष्यमा नै यसले ठूलो जनधनको क्षति गर्नेछ । विभिन्न ‘प्रेडिक्सन मोड्यालिटी’ (Prediction Modality) अनुसार नेपालमा ५०,००० देखि १ लाखसम्म मानिस संक्रमित हुने देखिन्छ । अन्तरार्ष्ट्रिय अध्ययनअनुसार २० प्रतिशत मानिसलाई श्वासप्रश्वासमा समस्या आएर अक्सिजन चाहिन सक्छ भने ५ प्रतिशत मानिसलाई आइसीयू र भेन्टिलेटर चाहिने देखिन्छ । यसैले हामीले अहिले नै त्यहीअनुसार तयारी गर्नुपर्ने छ ।

अक्सिजन

नेपालमा सबै ठाँउमा पर्याप्त मात्रामा ‘अक्सिजन प्लान्ट’ (Oxygen Plant) छैन । यस्तो अवस्थामा हामीले अहिले नै पर्याप्त मात्रामा अक्सिजन उत्पादन गरी सिलिण्डरमा राखेर देशको उच्च जोखिम क्षेत्रहरूमा जोहो गरेर राख्नु अत्यावश्यक देखिन्छ ।

पीपीई

पीपीईमध्ये सबभन्दा महत्वपूर्ण भनेको ‘एन नाइन्टी फाइभ’ मास्क नै हो । गाउन र चस्माहरू हामीले सजिलैसँग ‘भाइरस-फ्री’ गर्न सकिन्छ भने ‘एन नाइन्टी फाइभ’ मास्कमा त्यस्तो सम्भवना छैन । यसर्थ विदेशबाट नयाँ ‘एन नाइण्टी फाइभ’ मास्कहरू आयात गर्नुभन्दा पनि बरू ‘एन नाइण्टी फाइभ’ मास्कमा प्रयोग हुने ‘एन नाइण्टी फाइभ फिल्टर’ (N-95mask FILTER) ल्याउन सकेमा स्वरोजगारी को सिर्जना भई हामीले आफैँ ‘एन नाइण्टी फाइभ’ (N-95) मास्क बनाउन सक्छौं ।

एक केएम फिल्टरले १०००० ‘एन नाइण्टी फाइभ’ (N-95) मास्क बनाउन सकिन्छ । अझ त्यसमाथि हामीले ‘एन नाइण्टी फाइभ’ मास्कलाई स्टेरिलाइज गर्ने ‘प्लस्मा ग्यास स्टेरिलाइजर’ (Plasma Gas sterilizer) मेसिन आदि ल्याउन सकेमा ‘एन नाइण्टी फाइभ’ (N-95) मास्कमा हामी सदाको लागि आत्मनिर्भर हुन सक्छौं ।

औषधि

अहिले कोभिडमा काम गर्ने देखिएको ‘डेक्सामेथासोन’ (Dexamethasone) नामक औषधि नेपालकै कम्पनीहरूले बनाइरहेका छन् । तर कच्चा पदार्थको अभावले गर्दा ३-४ महिनाभन्दा बढी हाम्रा स्वदेशी औषधि कम्पनीले धान्नसक्ने अवस्था छैन । त्यसमाथि कोभिडबाहेकका औषधिहरूको पनि उत्पादन र व्यवस्थापनमा समस्या आउने प्रष्ट छ । त्यसका लागि सरकारले समयमै स्वदेशी औषधि कम्पनीहरूसँग सहकार्य गरी कच्चा पदार्थको व्यवस्थापनमा सहुलियतका कार्यक्रमहरू ल्याई बजार व्यवस्थापन आदिमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

साथै, कोभिडविरुद्ध काम गर्न सक्ने मानिएकोमध्ये एक ‘रेम्डेसेविर’ (Remdesivir) भन्ने औषधि भारत र बंगलादेशमा उत्पादन हुन थालेको छ । अहिलेको अवस्थामा यो औषधि पाउनु भनेको निकै चुनौतीपूर्ण कुरा हो । यसका लागि औषधि व्यवस्था विभागसँग सहकार्य गरी सरकारले तुरुन्त नेपालमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।

‘रेम्डेसेविर’जस्तै ‘फ्याविपिराविर’ (Favipiravir) औषधि जापानमा उत्पादन हुन्छ । जापान सरकारले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको अवस्थामा हाम्रोले जापानसँग आर्थिक सहायता माग्नु भन्दा पनि ‘फ्याविपिराविर’ जस्ता औषधि र उपकरणहरू माग्नु उचित देखिन्छ ।

यस्तै, ‘डब्लुएचओ’अन्तर्गत ‘सोलिड्यारिटी ट्रायल’ (Solidarity Trial) नेपालमा हुँदैछ । यो सह्रानीय कुरा हो किनभने यस ट्रायलमार्फत ‘रेम्डेसेविर’लगायतका औषधिहरू नेपालमा प्रयोग गर्न मिल्नेछ । यस्तै, बेलायतमा राम्रो देखिएको भ्याक्सिन पनि नेपालमा भित्र्याउन पाए निकै राम्रो हुन सक्थ्यो । अहिले नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्‍मार्फत आयुर्वेदिक औषधिहरूको पनि ट्रायल हुँदैछन । यी सबै उदाहरणीय कार्यहरू हुन् ।

‘नेगेटिभ प्रेसर रुम’ (Negative Pressure Room)

आईसीयूमा कोभिडको बिरामी राख्दा ‘नेगेटिभ प्रेसर’ (Negative Pressure) भएको कोठा चाहिन्छ । तर यसका लागि हामीले ‘एक्जस्ट फ्यान’ (Exhaust Fan) हरू राखेर ‘डब्ल्‍यूएचओ’ (WHO)को मापदण्डअनुसार तयारी गरेमा ‘नेगेटिभ प्रेसर रुम’जस्तै कोठा तयारी गर्न सकिन्छ । यो धेरै खर्चिलो पनि हुँदैन । तर सरकारले यसको लागि इञ्जिनियरहरूको टिम तयार पारी युद्धस्तरमा नेपालभरिका आइसीयू सेन्टरहरूमा खटाउनुपर्ने देखिन्छ वा सोसम्बन्धी तालिम सबै अस्पताल सञ्चालक वा स्वास्थ्यकर्मीलाई प्रदान गर्न सकिन्छ ।

भेन्टिलेटरको व्यवस्था

नेपालमा पर्याप्त मात्रामा भेन्टिलेटर नभएको कुरालाई ध्यानमा राखी केही चिकित्सकहरूको अगुवाइमा ‘भेन्टिलेटर ब्याङ्क’ (Ventilator Bank) को स्थापना गरी विदेशबाट भेन्टिलेटर किन्ने अवधारणा गरिएको छ जुन निकै सह्रानीय छ । यसका साथै नेपालमै केही युवा इञ्जिनियर र चिकित्सकहरू मिलि भेन्टिलेटर बनाउन थालिएको छ ।

जसलाई ‘अटोमेटिक रिसक्सिटेटर’ को नाम दिइएको छ । भेन्टिलेटर प्रयोग गर्नुपर्ने बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वा भनौं भेन्टिलेटर उपलव्ध नभएको समयमा नेपालमै बनाएका यी ‘अटोमेटिक रिसक्सिटेटर’हरू प्रयोग गर्न सकिनेछ । यसले स्वरोजगारको सिर्जनामात्र गर्ने छैन, भविष्यमा नेपालमै भेन्टिलेटर बनाउन सक्ने टिम नै जन्माउने छ ।

स्वास्थ्यकर्मीको तालिम

कोभिड-१९ नया रोग भएकाले यससम्बन्धी गाइडलाइनहरू नियमित रूपमा परिमार्जित भइरहेका छन् । यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई समयमै तालिम र सशक्तिकरण गर्न ‘अनलाइन पोर्टल‘को प्रयोग हुनुपर्छ । साथै, विज्ञहरूको टोली बनाएर स्वास्थ्यकर्मीहरूलाई टेलिमेडिसिनमार्फत परामर्श दिने व्यवस्था गर्नुपर्छ ।

अन्य आयामहरू

महामारीमा स्वास्थ्यसँगै अरू पनि समस्याहरू निम्तिने गर्छन् । अहिलेको अवस्थामा कोभिडलेभन्दा कैयौं गुणा मानिस आत्महत्याले मरिरहेका छन् । मानसिक अस्वस्थता हामीले कल्पना गरेकोभन्दा भयानक हुन्छ भन्ने अहिले प्रष्ट नै छ ।

यसको समाधानका लागि मानसिक रोग विज्ञहरूको एउटा टोली बनाइयोस् र टेलिमेडिसिनमार्फत मद्दत चाहिएका व्यक्तिहरूलाई सल्लाह सुझाव दिन सकियोस् । साथै, व्यायाम, योगा र ध्यान विधिबाट पनि सकारात्मक उपचार गर्न सकिन्छ । यस विषयमा केही गृहकार्यको थालनी गरिएको जानकारीमा आएको छ जुन सह्रानीय छ ।

अर्को समस्या भनेको आर्थिक संकट नै हो । विज्ञहरूका अनुसार हाम्रो रेमिट्यान्स १४ प्रतिशतले घटेको छ भने कुल गार्हस्थ्य उत्पादन ओरालो लागेको छ । यस्तै हामीसँग रहेको विदेशी मुद्रा सञ्चय पनि ६-८ महिनाभन्दा धेरै धान्ने देखिँदैन । फेरि विदेशमा रहेका नेपालीहरू स्वदेश भित्रिएसँगै नेपालमा रोजगारको व्यवस्थापन गर्नु अर्को चुनौती हो ।

यस अवस्थामा देशको औद्योगिक क्षेत्रलाई स्वास्थ्य, कृषि, ‘आईटी’, भौतिक पूर्वाधार विकासका साथै हाइड्रोपावरमा प्रोत्साहन गर्न सके धेरै हदसम्म आर्थिक संकटलाई न्यूनीकरण गर्न सकिएला भन्ने सम्बन्धित विज्ञहरूको धारणा छ ।

यसर्थ, यो बुझ्न जरुरी छ कि कोभिड-१९ ले निम्त्याएको समस्या स्वास्थ्यसँग मात्रा नरहेर बहुआयामिक संकटको रुपमा विकास हुँदैछ । यस अवस्थाको समाधान गर्न विज्ञहरूको दरिलो टिम बनाएर एउटा राष्ट्रिय दस्तावेज बनाउनैपर्छ ।

स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य विज्ञ, चिकित्सक, नर्स, ल्याब एक्सपर्टकाबीचमा तालमेल हुनुपर्छ भने स्वास्थ्य सँगसँगै आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रका विज्ञहरू पनि हातेमालो गरेर अघि बढ्नुपर्छ । युद्ध जटिल छ, समय निकै कम छ तर असम्भव छैन ।

(डा. अधिकारी संक्रामक रोग तथा आई. सी. यू. विशेषज्ञ हुन् । उनी ग्राण्डी अस्पतालमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment