Comments Add Comment

झम्सिखेलमा प्रचण्ड-माधव समूहको बेग्लै बैठक

Photo Credit : फाइल फोटो

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेताहरु झम्सिखेलको एक रेस्टुरेन्टमा भेला भएका छन् । स्थायी कमिटीको बैठकस्थगित भएको केही घण्टापछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु बेग्लै छलफलका लागि जुटेका हुन् ।

छलफलमा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुसमेत सहभागी छन् । सो छलफलमा प्रचण्ड, माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यहरु उपस्थित छन् ।

पछिल्लो समय पार्टीभित्र अन्तरविरोध चर्किन थालेपछि केपी ओली र प्रचण्ड दुबै पक्षका गुटका बैठकहरु सुरु भएका हुन् । बुधबार बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको भेला गराएपछि बेलुका प्रचण्ड नेेपाल पक्षले पनि गुटको बैठक डाकेको हो ।

बिहीबार बिहान ११ बजे बालुवाटर बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न भेला आयोजना गरिएको माधव नेपाल निकट एक नेताले अनलाइनखबरलाई बताए ।
झम्सिखेलको भेलामा पूर्वमाओवादी तर्फका रामबहादुर थापा बादलसमेतको सहभागिता रहेको स्रोतले बतायो । गृहमन्त्री समेत रहेका थापा बिहान बालुवाटारमा आयोजित ओली समूहको बैठकमा पनि सहभागी भएका थिए ।

बुधबारै बिहान ११ बजेपछि बसेको स्थायी कमिटीको बैठक ५ जना नेता बोलेपछि विहीबार पुनः बस्ने गरी स्थगित भएको छ ।

जारी स्थायी कमिटीको बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्रीले बुधबार बिहान करिब १७ जना स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर आफूमाथि आक्रमण भएकाले सहयोग गरिदिन आग्रह गरेका थिए । भेलामा सहभागी नेताहरुले पार्टी नफुटाउन र कमिटीको निर्णय मान्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment