
१७ असार, काठमाडौं । सल्भा अलोदा अहिले पाँच वर्षकी भइन् । ठिक पाँच वर्षअघि नै यमनमा गृहयुद्ध सुरु भएको थियो । उनी कुपोषणबाट हुने मस्तिष्कको रोग सेरेब्रल एट्रफीबाट पीडित छिन् ।
दुई महिनाको हुँदादेखि नै उक्त रोगबाट संक्रमित बनेकी उनको यमनको त्रासदीपूर्ण अवस्थाका कारण जीवन संकटमा परेको थियो । युुद्ध, भोकमरी र कोरोना भाइरसका कारण नै यमनको अवस्था भयावह बनेको हो ।
सल्भाका आमाबुबाले त्यहाँ जारी युद्धका कारण आफ्नो घर छाडेर यमनको एडेन सहरमा बस्न थाले । यमनमा युद्धका कारण विस्थापित भएकाहरूको संख्या २० हजार नाघिसकेको छ । सल्भाका पिता इब्राहिम मोहम्मद अली अल ओदाबी आफ्नो कमजोर आर्थिक अवस्थाबारे भगवान मात्रै जानकार रहेको बताउँदै छोरीको थप उपचार गराउन सक्ने अवस्था नरहेको सुनाउँछन् ।
उनी आफैं पनि कुनै बेला त २÷३ दिनसम्म पनि खानेकुरा खान नपाएको स्मरण गर्छन् भने छोरी रुँदा पानीमा चिनी घोलेर खान दिने गर्छन् ।
अस्पतालमा साउदीको सेनाले बम खसालेपछि साल्भालाई आमाबाबुले अस्पतालबाट लिएर भागेका थिए । त्यतिबेला उनी सानै थिइन् । सो बमबारीमा १९ जनाको मृत्यु भएको तथ्याङ्क पछि आयो ।
राजनीतिक युद्ध सकिए पनि उनीहरू अहिले भोकसँगको युद्धमा छन् । उनीहरूसँग सो युद्धमा केवल चिनीपानीले साथ दिइरहेको छ । साल्भाको जीवनकै लागि उनका आमाबाबुले संघर्ष गरिरहेका छन् ।
वर्षौंदेखिको युद्धपछि अब यमनमा नै कोरोनाको समेत मार थपियो । यी दुई अवस्थाबाट सिर्जनाहुन सक्ने भोकमरीविरुद्ध लड्न यमन विदेशी सहयोगको प्रतीक्षामा छ । अन्यथा साना बालबालिका भोकमरीको शिकार हुने चेतावनी राष्ट्र संघले चेतावनी दिएको छ ।
यमनमा यस्तो समस्या झेल्ने सल्भा एक्ली पात्र होइनन् । युनिसेफका अनुसार यमनमा कुपोषणबाट पाँच वर्षमुनिका ४५ प्रतिशत बालबालिकाको दिमाग र शरीरमा असर परेको छ ।
यमनको एडेन सहरमा अरूको तुलनामा धेरै सहयोग आए पनि अन्य क्षेत्रको तुलनामा खतरा भने कम छैन । १५ दिनमा नै यहाँको महँगी २० प्रतिशतले बढिसकेको छ ।
यमनका मानिसमा रोग नियन्त्रण प्रणाली कस्तो छ भन्ने स्पष्ट छैन । युद्धका कारण अहिले यमनको करिब आधा स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको छ । यहाँ करिब १० हजार बिरामीका लागि अस्पतालमा केवल दुई बेड छन् ।
यमनका डाक्टर उमर कासिमल तुर्कीका अनुसार गरिब मुलुक भएकै कारण यमनले पर्याप्त भेन्टिलेटर किन्न सकेको छैन । जसका कारण अस्पताल आउने धेरै बिरामीहरूलाई त्यसै घर फर्काउनुपर्ने अवस्था छ । बिरामीका आफन्तहरू अस्पतालमा उपचारका लागि गुहार मागिरहने र बेड अभावका कारण अस्पतालले बिरामी भर्ना गर्न नसक्ने कहालीलाग्दो अवस्था त्यहाँ छ ।
यमनमा कुल कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु भएको छ । जुन बाँकी देशको औसतभन्दा पाँच गुणा बढी हो । एक अनुमान अनुसार यमनमा कोरोना भाइरसका १० लाख संक्रमित छन् । यो संख्या यमनकोभन्दा आधा जनसंख्या रहेको बेलायतको तुलनामा तीन गुणा बढी हो ।
संयुक्त राष्ट्र संघको मानवीय मामिलाका प्रमुख मार्क लोकोक अहिलेको अवस्थामा यमनका मानिसहरूलाई विश्वका अन्य देशवासीले बिर्सिसके कि भन्ने लाग्न थालेका बताउँछन् । उनले अहिलेको अवस्था निकै अराजक र बेचैनी खालको रहेको सुनाए ।
तत्काल कुनै सहयोग उपलब्ध नगराएको खण्डमा यमनको त्रासदीपूर्ण कथा सारा विश्वले सुन्नुपर्ने अवस्था रहेको उनले बताए ।
युद्धले अवस्था झनै खराब बनाइरहेको छ । यसैबीच दक्षिणी क्षेत्रलाई उत्तरबाट छुट्याउन अहिले नयाँ समूहले संघर्ष सुरु गरेको छ । पाँच वर्ष पहिले साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध युद्ध सुरु गरेको थियो । दक्षिणको नयाँ विद्रोहीलाई साउदीको समर्थन छ । साउदी अरेबियाले युद्धविरामको प्रयास गरिरहेको छ । तर अझै पनि यो सम्भव हुन सकेको छैन ।
संयुक्त राष्ट्रसंघले यमनले पाउँदै आएको कोष घटाएको छ । यमनलाई सहयोग दिइरहेका मुलुकहरूले गत वर्षको तुलनामा यस वर्षको सहयोग आधा घटाएका छन् । युनिसेफका अनुसार यमनमा एक बालबालिकाले एक दिनमा बाँकी विश्वका अधिकांश मानिसले पूरा जीवनमा भोग्ने समस्या भोग्छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4