Comments Add Comment

कर्णालीमा कोरोना परीक्षण समुदायस्तरमा विस्तार गरिने

१९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिनसक्ने जोखिम रहेकाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित  गर्न लागेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

‘अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्छ । भारतबाट आउनेको चाप पनि बिस्तारै घट्दै छ । यस कारण पनि हाम्रो ध्यान अब समुदायस्तरमा हुनुपर्छ’ उनले भने ।

क्वारेन्टिनमा रहेकाहरु, संक्रमितसँगको सम्पर्कमा आएकाहरु, आरडीटी विधिबाट परीक्षण गरेर घर पठाइएकाहरु, जेष्ठ नागरिक, दीर्घ रोगीको कोरोना परीक्षण गर्ने प्रदेश सरकारको रणनीति छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमणको जोखिममा रहेका व्यक्ति र क्वारेन्टिनबाट आरडीटी गरेर घर पठाइएकाहरुलाई पहिलो प्राथमिकता दिएर परीक्षण गरिनेछ ।

उनले भने, ‘हामी अब समुदायस्तरमै पीसीआर परीक्षण गरेर संक्रमणमुक्त गाउँ-टोल घोषणा गर्ने तयारीमा छौं । क्वारेन्टिन र आइसोलेसनका मान्छेहरु कम भएलगत्तै समुदायमा जान्छौं ।’

१०५ जना स्थानीय संक्रमित

कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या १४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने अरु भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि छन् ।

‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जनामा कोरोना संक्रमण देखिएको छ,’ महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने ।

तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् । कर्णालीमा संक्रमण पुष्टि भएका १४ सय ८३ जनामध्ये ११ सय ७८ जना डिस्चार्ज भइसकेका छन् भने २९९ जना आइसोलेसनमा छन् । कोरोना संक्रमणका कारण कर्णालीमा ६ जनाको मृत्यु भएको छ ।

मेसिन बिगि्रदा परीक्षणमा कमी

कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको पीसीआर मेसिन बिगि्रएको ६ दिन भइसकेको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पीसीआर मेसिनको हार्डवेयरमा समस्या आउँदा परीक्षण हुन सकेको छैन ।

‘कम्पनीसँग मेसिन बनाउने विषयमा कुरा भइराखेको छ’ उनले भने । त्रिभुवन विश्वविद्यालयमा थन्किएर रहेको पीसीआर मेसिन चैतको अन्तिम साता ल्याएर प्रदेश अस्पतालमा जडान गरिएको थियो ।

मेसिनले काम नगर्दा सुर्खेतका पाँच सय जनाको स्वाब ल्याबमै थन्किएको छ ।

कर्णाली प्रदेशमा हाल जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख जिल्ला अस्पतालमा कोरोना संक्रमण परीक्षण भइरहेको छ । रुकुम चौरजहारीमा पनि हालै मेसिन जडान भएको छ ।

आरडीटीमा भर पर्दा मृत्यु

सुर्खेतको पञ्चपुरीमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएका युवकको घर पुग्ने वित्तिकै मृत्यु भएको छ ।

मृत्युपछि पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, डोल्पाका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । उनी भारतबाट आएका नभई उपचारका लागि सुर्खेत आएका व्यक्ति हुन् ।

सुर्खेतबाट जुम्ला हुँदै डोल्पा पुगेका उनलाई कोरोना संक्रमणको आशंकामा आरडीटी विधिबाट परीक्षण गरियो । रिर्पोट नेगेटिभ आएपछि घर गएका उनको त्यही राति नै मृत्यु भयो । मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइयो ।

संक्रमण घरघरमा पुग्नुमा परीक्षणमा गरिएको लापरबाही मुख्य कारण भएको जनस्वास्थ्यका जानकार बताउँछन् ।

प्रदेश सरकारले आसोलेसनमा बसेकाहरुको पनि पीसीआर रिर्पोट नेगेटिभ आएमात्र डिस्चार्ज गर्ने निर्णय गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा संक्रमितहरु घर-घरमा पुगेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment