Comments Add Comment

एम्बुलेन्स पनि चल्न नसकेपछि विश्रामपुरमा सडकमै रोपाइँ

१९ असार, वीरगञ्ज । बाराको विश्रापुर गाउँपालिका– ५ इटियाहीका मखन साह कानुलाई धानको बिउ काट्ने क्रममा केहीले टोक्यो ।

सर्पले टोकेको आशंकामा स्थानीयले बिरामी लैजान एम्बुलेन्स बोलाए । एम्बुलेन्स बोलाएको ठाउँ भन्दा आधा किलोमिटर परैबाट फर्कियो ।

स्थानीयले साइकलमा राखेर नेशनल मेडिकल कलेजमा पुर्‍याए । तर उनको उपचारका क्रममा मृत्यु भयो ।

वर्षा लागेदेखि नै सडक हिलाम्य भएको छ । मोटरसाइकल, साइकलमा मात्रै होइन, सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो छ । गर्भवतीलाई समेत अस्पताल लैजान कठिनाइ छ ।

सडक निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले शुक्रबार सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन् । हिलो सडकमा ट्याक्टरले जोतेर उनीहरुले सडकमा धान रोपेका हुन् । सडक नबनाए सडकमै धान फलाएर गाउँपालिकालाई दिने स्थानीयले बताएका छन् ।

स्थानीय, प्रदेश र संघ सरकार गठन भए पनि आफूहरु हिँड्ने सडक कसैले नबनाएपछि सडकमा धान रोपेर विरोध प्रदर्शन गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले वडा अध्यक्ष, गाउँपालिका अध्यक्षको विरोधमा नाराबाजी गर्दै प्रर्दशन गर्नुको साथै वडा कार्यालयमा तालासमेत लगाएका थिए । वडा नं ५ को कार्यालयमा लगाएको ताला भने खोलिएको छ ।

स्थानीय ओमप्रकाश साहले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजदेखि फुलबरिया टोल जाने सडक खण्डमा पैदल हिँड्नसमेत मुश्किल रहेको बताए । स्थानीय सरकार आएको तीन वर्ष बित्न लाग्दा समेत सडकको दुःख नहटेको उनको भनाइ छ ।

स्थानीय शिक्षक किनु गुप्ताले सडक मर्मत नहुँदा सर्वसाधारणले निकै सास्ती भोगिरहेको जानकारी दिए । ‘घाम लाग्दा धुलो उडेर हैरान हुन्छ, पानी पर्दा हिलोले आवत जावत गर्न समस्या छ’ उनले भने ‘न गाउँपालिकाले मर्मतमा ध्यान दिएको छ, न कसैले एक ट्याक्ट्र ग्रेभल हालेका छन् ।’

गाउँपालिकाका अध्यक्ष अमिरिलाल पालले भने प्रदेश सरकारको बजेटमा उक्त सडकखण्ड निर्माणको ठेक्का लागेको तर काम नभएको बताएका छन् । निर्माण कम्पनीले ठेक्का सकार गरेको तीन वर्ष बित्न लाग्दा समेत निर्माण नगरेको उनको भनाइ छ ।

‘पूर्वाधार कार्यालय र ठेकेदार कम्पनीका प्रतिनिधिलाई पटक पटक सडक बनाइदिन भन्दा सुनेनन् । सडक नबन्दा ४ गाउँका जनताले दुःख पाइरहेका छन् र हामीलाई गाली गरिरहेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment