Comments Add Comment

९ वर्षपछि घरेलु मैदानमा युनाइटेडको पाँच गोल

अंक तालिकामा चौथो स्थानमा उक्लियो

२१ असार, काठमाडौं । म्यानचेष्टर युनाइटेडले ९ वर्षपछि घरेलु मैदानमा भएको प्रिमियर लिग खेलमा पाँच गोल गरेको छ । लिगअन्तर्गत शनिवार युनाइटेडको मैदानमा भएको खेलमा मासोन ग्रीनउडले दुई गोल गर्दा युनाइटेडले बर्नमाउथलाई ५-२ ले पराजित गरेको हो ।

यसअघि सन् २०११ मा विगान विरुद्ध युनाइटेडले घरेलु मैदानमा पाँच गोल गरेको थियो । घरेलु मैदानमा एक गोलले पछि परेर पनि युनाइटेडले पुनरागमन गरेको हो ।

खेलको १६औं मिनेटमा जनियर स्टानिस्लासले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । तर २९औं मिनेटमा ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । ३५औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई ३-१ को अग्रता दिलाए ।

५०औं मिनेटमा बर्नमाउथका जोसुअ किले पेनाल्टीमा गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेका थिए । तर ५४औ मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ४-२ को अग्रता बनायो । त्यसको पाँच मिनेटपछि नै ब्रुनो फर्नान्डेजले फ्रिकिकमा शानदार गोल गर्दै युनाइटेडलाई ५-२ को अग्रता दिलाएका थिए ।

जितपछि चेल्सीलाई एक अंकले पछि पार्दै युनाइटेड अंक तालिकामा चौथो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ । युनाइटेडले ३३ खेलबाट ५५ अंक जोडेको छ । एक खेल कम खेलेको चेल्सी ५४ अंकसहित पाँचौ स्थानमा छ । चेल्सीले आजै वाटफोर्डसँग खेल्दैछ र चौथो स्थानमा फर्कने मौका छ ।

लिग अन्तर्गत शनिवारै भएको अन्य खेलमा जेमी भार्डीको दुई गोल मद्दतमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको छ । केलेची इहनाचोले लेस्टरका लागि अर्को एक गोल गरे । जितपछि ३३ खेलबट लेस्टरले ५८अंक जोडेको छ र तेस्रो स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment