Comments Add Comment

खुशीको खबर : न्यून मध्यम वर्गमा नेपालको स्तरोन्नति

नेपाललगायत सिंगो विश्व नै कोभिड १९ भाइरसका कारण सिर्जित कोरोना महामारीबाट आक्रान्त बनिरहेको छ । यस्तो प्रतिकूल समयमा केहीदिन अघि विश्व बैंकले नेपालका लागि उत्साहप्रद विवरण सार्वजनिक गरेको छ । जसअनुसार, नेपाल न्यून आय वर्गको मुलुकबाट न्यून मध्यम आय वर्गको मुलुकमा स्त्तरोन्नति भएको छ ।

सहज परिस्थितिमा यो विवरण सार्वजनिक भएको भए पक्कै पनि यो विषय आम सञ्चार माध्यम लगायत यसक्षेत्रका जानकार सबै वर्गमा सकारात्मक बहसको विषय बन्ने थियो । तर, वर्तमान असहज अवस्थाका कारण सार्वजनिक विवरणले त्यति धेरै चर्चा बटुल्न सकेन । यद्यपि, हाल स्त्तरोन्नतितर्फ लम्किएको मुलुकको फड्कोलाई टिकाउपूर्ण तवरले अघि बढाउनसक्ने हो भने यो विषय राष्ट्रिय लक्ष्य हासिल गर्ने सन्दर्भमा कोशेढुंगा र चौतर्फी निराशाका बीच आशाको किरणका रुपमा देखिएको छ ।

विश्व बैंकले विश्वका मुलुकहरुलाई तिनीहरुको आय स्तरका आधारमा विभिन्न समूहमा वर्गीकरण गर्ने गरेको छ । गत जुलाई १ मा निर्धारण भएको पछिल्लो थ्रेसहोल्ड अनुसार तुलनात्मक रुपमा आयको स्तर अत्यन्त न्यून रहेका अर्थात् वार्षिक औसत प्रतिव्यक्ति आय १ हजार ३६ डलरभन्दा कम भएका मुलुकहरु न्यून आयस्तरका मुलुकमा पर्छन् ।

यसैगरी, प्रतिव्यक्ति आय १ हजार ३६ डलरभन्दा माथि र ४ हजार ४५ डलरभन्दा कम आय भएका मुलुकहरु न्यून मध्यम आय वर्गका मुलुकमा पर्दछन् भने ४ हजार ४६ डलरभन्दा माथि १२ हजार ५ सय ३५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरुलाई उच्च मध्यम आयवर्गका मुलुकमा वर्गीकृत गर्ने गरिन्छ ।

नेपालले ऐतिहासिक रुपमा नै न्यून आयवर्गको मुलुकबाट न्यून मध्यम आयवर्गको मुलुकमा स्त्तरोन्नति हुनुको उत्साहसँगै यो स्त्तरोन्नतिको ‘ट्याग’लाई टिकाइराख्न र थप फड्को मार्न पछिल्लो परिदृष्यमा उतिकै चुनौतिपूर्ण रहेको छ

 

विश्व बैंकको वर्गीकरण अनुसार वार्षिक औसत प्रतिव्यक्ति आय १२ हजार ५ सय ३५ डलरभन्दा माथि भएका मुलुकहरु उच्च आयवर्गका मुलुकमा पर्दछन् । गत वर्ष अर्थात्, सन् २०१९ को विश्व बैंकको विवरण अनुसार नेपालको प्रतिव्यक्ति औसत वार्षिक आय ९ सय ६० अमेरिकी डलर रहेको र उक्त बैंकको वर्गीकरण अनुसार नेपाल न्यून आयवर्गको मुलुकमा रहेको थियो ।

यतिमात्र हैन, विश्वका बिभिन्न देशहरुमध्ये हाम्रो देश नेपाल विश्व बैंकले यस्तो वर्गीकरण गर्नथालेको शुरुवात देखि अर्थात् सन् १९९८ देखि हालसम्म न्यून आय भएको राष्ट्रको सूचीमा रहँदै आएको थियो । यस वर्ष नेपालको बार्षिक औसत प्रतिव्यक्ति आयमा १ सय ३० अमेरिकी डलर बढोत्तरी भई १ हजार ९० अमेरिकी डलर पुगेसँगै नेपाल न्यून मध्यम आयवर्गको मुलुकमा इतिहासमा नै प्रथमपटक स्त्तरोन्नति भएको हो ।

लामो अवधिसम्म यसखालको न्यून आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आयको अवस्थाले भविष्यमा स्त्तरोन्नतिको सन्दर्भमा नेपालको थप संभावनालाई आफैमा चुनौतिपूर्ण बनाइरहेका छन् । विकासमा रहेका असाधारण अवरोध र असहयोगी नीति, बाह्य हिसाबले भूपरिवेष्ठितता एवं आन्तरिक हिसाबले जटिल भौगोलिक बनावट, प्राकृतिक प्रकोपहरुको पटक–पटकको मार जस्ता चुनौतिहरु पनि नेपाली अर्थतन्त्रमा विद्यमान रहेका छन् ।

यस हिसाबले हेर्दा, कोरोना महामारीले निम्त्याएको चौतर्फी निराशा र अर्थतन्त्रमा देखिएको चुनौतिपूर्ण अवस्थाका बीच हाल सार्वजनिक भएको विवरण मार्फत देखिएको सुधारोन्मुख अवस्था नेपालका लागि सुखद रहेको छ ।

वर्तमान पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य उच्च आयस्तर भएको मुलुकमा स्त्तरोन्नति हुने आधार निर्माण गर्ने रहेको छ । पन्ध्रौं योजनामार्फत अघि सारिएको दीर्घकालीन सोच २१०० मा वि.सं. २०८७ अर्थात्, सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्दे नेपाललाई उच्च मध्यम आयस्तरको मुलुकमा स्त्तरोन्नति गर्ने सोच तय गरिएको छ । हुनत, मुलुकले राखेको यो सोच र घोषणा नेपालका लागि बिलकुलै नयाँ र अप्रत्यासित भने होइन ।

निकै वर्ष अगाडि नेपाललाई एशियाली मापदण्डमा पुर्याउने योजना पनि बनेको थियो । तर, हालसम्म यसखालका योजनाले मूर्तता पाउनसकेका छैनन् । यद्यपी, हाल विश्व बैंकको पछिल्लो विवरण अनुसार मुलुकले आवधिक योजना र दीर्घकालीन सोच मार्फत अघिसारेको राष्ट्रिय सपना प्राप्तीको दिशातर्फ अग्रसर हुनु निश्चय नै आशालाग्दो अवस्था हो ।

अर्कोतर्फ, नेपालले ऐतिहासिक रुपमा नै न्यून आयवर्गको मुलुकबाट न्यून मध्यम आयवर्गको मुलुकमा स्त्तरोन्नति हुनुको उत्साहसँगै यो स्त्तरोन्नतिको ‘ट्याग’लाई टिकाइराख्न र थप फड्को मार्न पछिल्लो परिदृष्यमा उतिकै चुनौतिपूर्ण रहेको छ । विश्व बैंकले हाल सार्वजनिक गरेको विवरण अनुसार विश्वका मुलुकहरुको वार्षिक औसत प्रतिव्यक्ति आयको गणना सन् २०१९ को जुलाईदेखि सन् २०२० को जुनसम्मको अर्थतन्त्रको अवस्था र तथ्यांकका आधारमा गरेको देखिन्छ ।

उक्त अवधिमा नेपाली अर्थतन्त्रको अवस्था तुलनात्मक रुपमा सन्तोषजनक रहेको अवस्था हो । पछिल्लो समयसम्म आइपुग्दा कोरोना महामारीले देशको अर्थतन्त्रलाई चौतर्फी रुपमा आक्रान्त बनाइरहेको छ र यो सिलसिला कहिलेसम्म चल्ने हो कुनै टुंगो छैन । यसले अर्थतन्त्रका सबै क्षेत्रहरुलाई नकारात्मक रुपमा प्रभावित बनाइरहेको छ । सरकारी खर्चको गिर्दो अवस्था र सरकारी आयमा भएको संकुचन, बन्दप्रायः रहेका उद्योगधन्दाहरु, शून्यमा झरेको पर्यटक आगमन, खस्किएको रेमिट्यान्स आय जस्ता सूचकहरुले राष्ट्रिय अर्थतन्त्रमा निराशाको बादल लगाइरहेका छन् ।

यो स्थितिमा चालु वर्षमा नै हाल देखिएको स्त्तरोन्नतिको सुधारोन्मुख अवस्थालाई टिकाउँदै थप सुधारको मार्गप्रशस्त गर्नु आफैंमा सहज छैन । मुलुकी अर्थतन्त्रमा आउने उतारचढावकै कारण विश्व बैंकद्वारा हरेक वर्ष सार्वजनिक गरिने यसखालको प्रतिवेदनमा विश्वका कतिपय मुलुकहरु थप खुड्किला उक्लने गर्दछन् भने कतिपय मुलुकहरुको यात्रा ओरालो लाग्ने गर्दछ ।

रुपनारायण खतिवडा

हालको प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्ष नेपालसँगै बेनिन र तान्जानिया न्यून आयवर्गबाट न्यून मध्यम आयवर्गमा स्त्तरोन्नति भएका छन् भने सुडान न्यून मध्यम आयवर्गबाट न्यून आयवर्गको मुलुकमा झरेको देखिन्छ । यसैगरी, श्रीलंका र अल्जेरिया उच्च मध्यम आयवर्गबाट न्यून मध्यम आयवर्गतिर ओरालो लागेका छन् । यसबाट पनि स्त्तरोन्नतिको अवस्थालाई टिकाउन जटिल बन्नसक्ने खतराको आकलन गर्न सकिन्छ ।

स्त्तरोन्नतिमा मुलुकले मारेको फड्कोलाई जारी राख्ने सन्दर्भमा समकालीन नेपाली अर्थतन्त्रमा बिभिन्न चुनौतिहरु विद्यमान रहेका छन् । पछिल्लो समयमा देखापरेको कोरोना महामारी सिर्जित चुनौतिहरु सँगै दुई दशकयता देखिएको निरन्तरको कमजोर आर्थिक वृद्धि, अनियन्त्रित बन्दै गएको बजार मूल्य, उचालिंदो मुद्रास्फिती, बढ्दो गरिबी, खस्कँदो व्यावसायिक वातावरण, बढ्दो व्यापारघाटा, बढ्दो रेमिट्यान्स निर्भरता र रेमिट्यान्स आयको घट्दो वृद्धिदर, न्यून पूँजीगत खर्च जस्ता उल्झनहरु नेपाली अर्थतन्त्रमा वर्षौंदेखि जरा गाडेर बसेका छन् ।

यस्ता उल्झनहरुकै कारण नेपाली अर्थतन्त्रको बिगत ५ दशकको इतिहास हेर्ने हो भने सो अवधीमा नेपालको औसत वार्षिक आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै भएको छ भने सोही अवधीमा प्रतिव्यक्ति आयको वार्षिक वृद्धिदर दक्षिण एशियाकै सबैभन्दा न्यून अर्थात् औसत ३ प्रतिशत हाराहारी मात्रै रहेको देखिन्छ ।

यसका अतिरिक्त आय असमानता बढ्दै गएको, कृषीमा आधारित अर्थतन्त्र भनिएतापनि अर्थतन्त्रको एकतिहाइ हिस्सा रेमिट्यान्स आयले धानिरहेको, बिगतमा मुलुक लामो समयसम्म राजनीतिक संक्रमणकाल रुमल्लिएका कारण अर्थतन्त्रको एजेण्डा ओझेलमा परेको जस्ता समस्याहरु पनि हाम्रासामु रहेका छन् ।

लामो अवधिसम्म यस खालको न्युन आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आयको अवस्थाले भविष्यमा स्तरोन्नतिको सन्दर्भमा नेपालको थप सम्भावनालाई आफैंमा चुनौतीपूर्ण बनाइरहेका छन् । विकासमा रहेका असाधारण अवरोध र असहयोगी नीति, बाह्य हिसाबले भूपरिवेष्ठितता एवं आन्तरिक हिसाबले जटिल भौगोलिक बनावट, प्राकृतिक प्रकोपहरुको पटक पटकको मारजस्ता चुनौतीहरु पनि नेपाली अर्थतन्त्रमा विद्यमान रहेका छन् ।

लगानीका लागि आन्तरिक र बाह्य दुवै स्रोत कमजोर रहनु, प्रत्यक्ष बैदेशिक लगानीको प्रवाह अत्यन्त न्यून रहनु, पूँजीगत खर्चको अवस्था कमजोर रहनु, औद्योगिकीकरणको गति सुस्त रहनु, अर्थतन्त्रमा निजी क्षेत्रको लगानी कूल गाह्रस्थ उत्पादनमा कमजोर अनुपातमा रहनु जस्ता अवस्था पनि नेपालको स्त्तरोन्नतिको फड्कोलाई प्रगतिउन्मुख रुपमा टिकाउने सन्दर्भमा चुनौतिका रुपमा उभिएका छन् ।

वर्तमान एक्काइसौं शताब्दीको दुई दशक पार गरिरहँदा पनि मुलुक न्यून आयवर्गको राष्ट्रमा रहिरहनु पक्कैपनि सुखद विषय होइन । यो स्थितीमा विश्व बैंकको पछिल्लो मूल्यांकनमा वर्षौंदेखिको स्थानमा सुधार भई न्यून आयवर्गको मुलुकबाट न्यून मध्यम आयवर्गको मुलुकमा स्त्तरोन्नति हुनु नै एक हदसम्म सकारात्मक अवस्था र नेपालीहरुका लागि खुशीको विषय हो ।

यस्तो अवस्थाले नेपाली अर्थतन्त्रलाई उकालो लगाउने सन्दर्भमा सकारात्मक भविष्यको आशालाग्दो सञ्चार गरिरहेको छ । यो स्थितिमा नेपाली अर्थतन्त्रमा लामो समयदेखि रहेका चुनौतिहरुलाई परास्त गर्दै विश्वव्यापी महामारीको मारबाट मुलुकलाई सकेसम्म कम क्षति पुर्याउनतर्फ सबै सरोकारवाहरु एकजुट हुनसकेमा भविष्यको बाटो थप सहज बन्नसक्ने देखिन्छ ।

विश्व बैंकको विश्वव्यापी प्रतिवेदनमा हाल देखिएको अवस्था कालो बादल भित्रको चम्किलो चाँदीको घेराजस्तै हो । यो घेरालाई थप चम्किलो बनाई सार्थक तुल्याउन सरकार, निजी क्षेत्र, राजनैतिक वृत्त, मुलुकी प्रशासन लगायत सबैको एकीकृत प्रतिवद्धता र समन्वयात्मक प्रयासको टड्कारो आवश्यकता देशलाई खड्किएको छ ।

(लेखक नेपाल सरकारको शाखा अधिकृतका रुपमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment