Comments Add Comment

कोरोना भाइरसको उपचारमा के–के हुँदैछ प्रगति ?

२१ असार, काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उपचारको लागि विश्वका चिकित्सा विज्ञानका विशेषज्ञहरूले लामो समयदेखि प्रयास गरिरहेका छन् ।

कोरोनाको संकट सुरु भएको पनि सात महिना पार भइसकेको छ । यो समयसम्म चिकित्सा विज्ञानले यसको उपचारमा के–के प्रगति हासिल गर्‍यो त ? यस प्रयासले केही उपलब्धिहरू हासिल गरेको छ ।

अहिलेसम्म उपचार पत्ता लगाउन के–के भयो ?

अहिले कोरोना भाइरसका सम्भावित १५० फरक औषधिको विषयमा विश्वभर अनुसन्धान भइरहेको छ । जसमध्ये अधिकांश औषधि अहिले परीक्षणको क्रममा छ ।

– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सबैभन्दा राम्रो उपचारको आकलनसहित ‘सोलिडारिटी परीक्षण’ सुरु गरेको छ ।

– बेलायतले कारोनाविरुद्धको परीक्षणमा डेक्सामिथासोन औषधिको प्रयोग गरेको छ । जसमा ११ हजारभन्दा धेरै संक्रमितमाथि परीक्षण गरिएको छ । यो परीक्षण विश्वको सबैभन्दा ठूलो परीक्षण रहेको बेलायतले दाबी गरेको छ । यसले निकै गम्भीर अवस्थामा रहेका बिरामीको मृत्युदर घटाउन सक्ने पनि उसको दाबी छ ।

– यसबाहेक पनि विश्वभर धेरै अध्ययन केन्द्रले निको भएका मानिसको रगत उपचारको लागि प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

कस्तो किसिमको औषधिले राम्रो काम गर्ला ?

वैज्ञानिकहरूले कस्तो किसिमको औषधिले कोरोना भाइरसविरुद्ध राम्रो काम गर्छ भन्ने बारे पनि अध्ययन गरेका छन् । यसका लागि तीन अवधारणाको विषयमा अध्ययन भइरहेको छ ।

– मानिसको शरीरभित्र फैलिने कोरोना भाइरसको क्षमतालाई प्रत्यक्ष रूपमा कमजोर बनाउन सक्ने औषधि,

– मानिसको रोग प्रतिरोध क्षमतालाई शान्त बनाउने औषधि, मानिसको प्रतिरोध क्षमताले अनावश्यक प्रतिक्रिया जनाउँदा मानिसहरू गम्भीर बिरामी पर्ने गर्छन् ।

– मानिसको रगतबाट वा प्रयोगशालामा निर्माण गरिएको एन्टिबडीले भाइरसलाई परास्त गर्न सक्छ ।

सबैभन्दा प्रभावकारी औषधि के–के हुन् ?

डेक्सामिथासोन कोरोना भाइरसबाट संक्रमित भएका मानिसको जीवनरक्षाको लागि प्रभावकारी देखिएको पहिलो औषधि हो । सुरुवाती अध्ययनको क्रममा मूल्यको हिसाबमा सस्तो पर्ने स्टेरोइडले भेन्टिलेटरमा पुगेका मानिसको मृत्युदर एक तिहाइ र अक्सिजन दिनुपर्ने बिरामीको मृत्युदर २० प्रतिशतले घटाउने गरेको पाइएको थियो ।

डेक्सामिथासोनले मानिसको प्रतिरोधी क्षमतालाई केही शान्त बनाउँदै अनावश्यक प्रतिक्रियाबाट रोक्छ, जसका कारण मानिस गम्भीर हुन पाउँदैन ।

रेमडेसिभिर औषधिको मेडिकल परीक्षणले पनि कोरोना भाइरसको उपचारमा केही आशा जगाएको छ । यो औषधि इबोलाको उपचारका लागि बनाइएको थियो ।

अमेरिकाले गरेको एक अध्ययनमा रेमडेसिभिरको प्रयोगले मानिसमा कोरोनाको लक्षण देखिने समय १४ बाट ११ दिनमा झर्ने गर्छ । अहिलेसम्मको अध्ययनले भने यसले मृत्युदर घटाउन सक्छ कि सक्दैन भन्ने पुष्टि गर्न सकेको छैन ।

सुरुमा एन्टिभाइरल औषधि र अन्तिम समयमा प्रतिरोधी क्षमताको लागि निर्माण गरिएका औषधि प्रभावकारी हुन सक्ने देखिएको छ । अमेरिकाले विश्वभर आपूर्ति हुने अधिकांश रेमडेसिभिर औषधि खरिद गरिसकेको छ ।

एचआईभीको औषधि काम लाग्न सक्छ ?

अहिले एचआईभीको लागि निर्माण गरिएको लोपिनाभिर र रिटोनाभिर दुई औषधिले कोरोना भाइरसको उपचार हुन सक्ने भन्दै चर्चा चलिरहेको छ । तर अहिलेसम्म यसको प्रमाण भने भेटिएको छैन । यी औषधि प्रयोगशालामा कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी देखिएको छ । तर मानिसमा गरिएको प्रयोगमा भने यी औषधिले काम गरेको पाइँदैन ।

यी औषधिले कोरोनाका गम्भीर बिरामीमा सुधार गराउने, मृत्युदर घटाउने वा शरीरमा कोरोना भाइरसको विस्तार रोक्न नसकेको पाइएको थियो । यद्यपि यो औषधि निकै गम्भीर अवस्थामा मात्र प्रयोग गरिएका कारण पनि यसले काम नगरेको हुन सक्छ ।

औलोको औषधिले कोरोना भाइरसलाई रोक्न सक्छ ?

औलोको औषधि पनि डब्ल्यूएचओको सोलिडारिटी र रिकभरी (निको हुने) परीक्षणको एक भाग हो । क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनले मानिसको प्रतिरोधी क्षमतालाई कम गर्न सक्ने अनुमान गरिएको छ । हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग अर्को रोगमा मानिसको प्रतिरोधी क्षमतालाई शान्त बनाउनका लागि हुने भएकाले पनि यसबारेमा मानिसको आशा जागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधिले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका थिए । यद्यपि यो औषधिले कोरोना भाइरस नियन्त्रण गर्न सक्छ भन्ने पर्याप्त प्रमाण र प्रभाव भने देखिएको छैन ।

प्रयोगशालामा यो केही प्रभावकारी हुन सक्ने देखिए पनि बेलायत, फ्रान्सलगायतका क्षेत्रमा गरिएको परीक्षणमा भने यो औषधि खासै प्रभावकारी नभएको पाइएको थियो । यो औषधिको केही खराब असर देखिएसँगै डब्ल्यूएचओले यो औषधिको परीक्षणमा रोक पनि लगाएको थियो । तर पछि यो प्रतिबन्ध फुकुवा गरिएको थियो । अहिले पनि अनुसन्धानकर्ताहरूले यो औषधिबारे अनुसन्धान गरिरहेका छन् ।

निको भएका मानिसको रगतबाट उपचार सम्भव छ ?

कोरोना भाइरसबाट निको भएका मानिसको रगतमा भाइरसविरुद्ध लड्ने एन्टिबडी विकास भएको हुन्छ । उनीहरूको रगतबाट प्लाज्मा निकाल्ने र बिरामीलाई थेरापीबाट दिइन्छ । अमेरिकाले यो विधिबाट पाँच सय मानिसको उपचार गरिसकेको छ । अन्य केही मुलुक पनि यसमा सामेल भइरहेका छन् ।

उपचार पत्ता लाग्न कति समय लाग्छ ?

अहिले नै यति समयमा कोरोना भाइरसको उपचार पत्ता लाग्छ भन्ने निकै कठिन छ । यद्यपि अबको केही महिनामा अहिले परीक्षण भइरहेका खोप तथा औषधिको नतिजा आउनेछ । अहिले नै कुन खोप प्रभावकारी हुन्छ भन्न भने सकिँदैन ।

त्यसैले अहिले डाक्टरहरूले पहिला नै बनेको र प्रयोगका क्रममा सुरक्षा जोखिम नरहेको औषधि परीक्षण गरिरहेका छन् ।

यसैबीच खोप निर्माताहरू पनि परीक्षणमा लागेका छन् । केही पूर्णरुपमा नयाँ कोरोना भाइरसका औषधि पनि प्रयोगशालामा निर्माण भइरहेका छन् । तर त्यस्ता औषधिको परीक्षण भने अझै सुरु भएको छैन ।

उपचारको आवश्यकता किन छ ?

यसको सजिलो उत्तर हो – किनकि उपचारले मानिसको जीवन बचाउँछ । तर यसले अहिले विश्वका अधिकांश मानिसले भोगिरहेको लकडाउन वा अन्य सामाजिक प्रतिबन्धबाट मुक्ति पनि पाउनेछन् ।

प्रभावकारी उपचार पत्ता लागेको खण्डमा कोरोना भाइरसको प्रभाव केही कम गराउन सक्छ । जसका कारण यसबाट गम्भीर बिरामी हुनेको संख्यामा उल्लेख्य कमी आउनेछ र यो रोग अहिलेको जस्तो जोखिमपूर्ण रहने छैन । त्यसपछि मानिसको दैनिक जीवनयापनमा रोकतोक लगाउनुपर्ने कुनै कारण रहने छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment