+
+
Shares

देउवा–नेम्वाङ भेटवार्ता : सत्ता सहकार्य होइन, संवैधानिक नियुक्तिबारे छलफल

बुढानीलकण्ठमा के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १:१२

२१ असार, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरुले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे ।

असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रुपमा संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार देउवा निवास बूढानीलकण्ठ पुगे ।

यो भेटपछि ‘सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग’, ‘कांग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव’ जस्ता शीर्षकमा समाचारहरु छाउन थालेका छन् ।

साँच्चै ओलीले देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् त ? कांग्रेस नेताहरुका अनुसार नेकपामा चलिरहेको ‘प्रोप्रोगाण्डा’को अर्को एउटा अध्याय मात्र हो ।

नेताहरुका अनुसार नेकपाको शक्ति संघर्षमा रहेका ओली र प्रचण्ड–माधव नेपाल दुबै समूहले कांग्रेसलाई आफू नजिक भएको सन्देश दिन खोज्नु स्वभाविक हो । किनकि भोलि साच्चिँकै नेकपामा फुट आएको अवस्थामा कांग्रेससँग मिलेर सरकार बनाउने चाँजोपाँचो मिलाएको सन्देश दिनसक्दा अर्को पक्षलाई दबाव पर्छ ।

त्यही उद्देश्यले ओलीले देउवालाई भेटेका थिए । उनले चाहेजस्तै प्रचण्ड–माधव नेपाल समूहमा देउवाले ओलीलाई साथ दिन खोजेकै हुन् त भन्ने त्रास कायम भएको देखिन्छ ।

स्रोतका अनुसार प्रचण्ड माधव समूहका एक नेताले कांग्रेसका एक नेतालाई बोलाएर ओली–देउवा भेटबारे सोधेका थिए । जतिबेला प्रचण्ड ओलीसँग भेटवार्ता गरिरहेका थिए, अर्का एक नेताले कांग्रेस नेतासँग कुराकानी गरिरहेका थिए । र, उनको मुख्य चासो ओलीले देउवासँग सहयोग मागे नमागेको थियो ।

आइतबार ओलीका दूतका रुपमा नेम्वाङले देउवालाई भेटेपछि अर्को अफवाह सुरु भएको छ, प्रधानमन्त्रीले देउवालाई गृह र अर्थ मन्त्रालयको प्रस्ताव गरे ।’

भेटमा के भएको थियो कुराकानी ?

प्रधानमन्त्री ओलीको ‘दूत’का रुपमा नेम्वाङ १० बजेतिर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

यो भेटको चाँजोपाँजो नेम्वाङले संसदमा सत्ता र प्रतिपक्षी दलबीच कुनै समस्या हुँदा छलफल गर्ने गरेका कांग्रेस नेता मिनेन्द्र रिजालमार्फत मिलाएका थिए । त्यसैले उनी पनि बुढानीलकण्ठ पुगेका थिए ।

स्रोतकाअनुसार सम्वादको सुरुमा नै देउवाले हतार–हतार संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका थिए । प्रतिनिधिसभा बैठक बोलाएर एजेण्डासमेत तय गरिसकेको अवस्थामा अधिवेशन अन्त्य गर्नु गलत भएको उनले बताए । तर, नेकपा संसदीय दलका उपनेता नेम्वाङ केही बोलेनन्, हाँसेर टारिदिए ।

त्यसपछि नेम्वाङले संवैधानिक अंगहरुको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईलाई भेट्नुस् भनेकाले आएको बताए । केही पहिले अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेको होइन भन्दै देउवा त्यसमा पनि कड्किएको स्रोतको दाबी छ । यद्यपि अब संवैधानिक परिषद्को बैठक बसेर जान सकिने उनले बताए ।

भेटका क्रममा देउवाको नेकपाको आन्तरिक विवादतर्फ लक्षित गर्दै भनेका थिए, कांग्रेस कसैको पक्ष विपक्षमा छैन । तपाईँहरुको कुरा चाँडै मिलाउनुस् है चाँडै ।’

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि विवादलाई बाहिर छताछुल्ल पार्नुको साटो दोस्रो तहका नेताहरुसमेत बसेर मिलाउन प्रयास गरिरहेको जानकारी दिएको देउवानिकट स्रोतले बताएको छ । तर बाहिर सत्ता सहकार्यको प्रस्तावको प्रचार भएको छ । यसबारे प्रश्न गर्दा भेटमा सहभागी नेता मिनेन्द्र रिजाल भन्छन्, ‘पार्टीको आन्तरिक विवादमा एउटा पक्षले अर्को पक्षलाई दबाव दिन कांग्रेस आफूसँग नजिक भएको देखाउन यस्तो प्रचार गरेको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?