Comments Add Comment

६ महिनापछि रसुवागढी नाका एकतर्फी सञ्चालनमा

२२ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताए । नेपालबाट हुने निकासी र मानवीय ओहोरदोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ ।

सोमबार चीनतर्फ लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरू नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चारवटा चिनियाँ ट्रकले १२० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाइएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चीनतर्फ पठाइएका सबैको कोरोना परीक्षण गरिएको र उनीहरूको पीसीआर नतिजा नेगेटिभ छ । चीन गएकाहरू चिनियाँको सम्पर्कमा नरहने र होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको छ ।

मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरू तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

तस्वीर सौजन्य : पुण्यविक्रम खड्का, रसुवागढी भन्सार प्रमुख 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment