
वेलिङ्ट्न । न्युजिल्यान्ड्का लागि नेपालका गैरआवासीय राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल पाट्सी रेडीसमक्ष बुझाएका छन् ।
वेलिङ्टनस्थित सरकारी निवासमा आयोजित विशेष समारोहमा राजदूत दाहालले ओहदाको प्रमाणपत्र बुझाएको न्युजिल्यान्डका गभर्नर जनरलको कार्यालयका इङेज्मेन्ट तथा कम्युनिकेसनसम्बन्धी सल्लाहकार कली मार्टिनले अनलाइनखबरलाई बताइन् ।
न्युजिल्यान्डका गभर्नरको कार्यालयले उपलब्ध गराएका तस्वीरहरूमा गभर्नर रेडीको अगाडि तयार गरिएको भर्चुअल मञ्चभित्र राजदूत दाहाल उभिएका छन् र लिखित मन्तव्य सुनाइरहेका छन् ।
अस्ट्रेलियाको क्यान्बेरास्थित नेपाली राजदूतको कार्यालयले जारी गरेको वक्तव्यमा राजदूत दाहालले कोरोना भाइरसका कारण सिर्जित कठिन परिस्थितिका बाबजुत पनि वैज्ञानिक तरिकाले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम तय गरेकोमा आभार व्यक्त गरेको जनाइएको छ ।
नेपाल र न्युजिल्यान्डबीच गहिरो मित्रता रहेको बताउँदै राजदूत दाहालले नेपालका रास्ट्रपति र प्रधानमन्त्रीको न्युजिल्यान्डका जनता र नेतृत्वलाई पठाएको सन्देश सुनाएको पनि उक्त वक्तव्यमा जनाइएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण नजिक पुर्याउने पहिलो देश बनेकोमा न्युजिल्यान्डलाई बधाई दिँदै राजदूत दाहालले त्यहाँ भएका नेपालीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा गरेकोमा धन्यवाद पनि दिए ।
यो महामारीको अन्त्यपछि दुई देशबीचको व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने वातावरण निर्माण हुने विश्वास पनि राजदूत दाहालले गरे ।
ओहोदाको प्रमाणपत्र बुझ्दै न्युजिल्यान्डकी गभर्नर जनरल रेडीले नेपाली जनता, रास्ट्रपति र प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्नुका साथै राजदूत दाहालको सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
नेपाल र न्युजिल्यान्डबीच सन १९६१ मे २६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यसअघि सन् १९५३ को मे २९ मा न्युजिल्यान्डका एड्मन्ड हिलारी र नेपालका तेन्जिग नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरेका थिए ।
महेशराज दाहाल अस्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत हुन तर उनले न्युजिल्यान्ड, फिजी, पपुवा न्युगिनीजस्ता ओसियाना क्षेत्रका टापु रास्ट्रहरूको नेपालसँगको कूटनीतिक सम्बन्धबारे पनि समन्वय गर्छन्।
प्रतिक्रिया 4