Comments Add Comment

उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, को-को छन् नेतृत्वको दौडमा ?

२१ असार, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो ।

नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।

प्रधान यसअघि पनि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यक्ति हुन् । एक उपाध्यक्ष पद रिक्त भएपछि प्रधानलाई सबैको सहमतिमा महासंघको जिल्लानगर उपाध्यक्ष बनाइएको थियो । भावी अध्यक्ष गोल्छाले उनलाई समर्थन गर्ने बताइएको छ।

वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ढकाल हाल  एशाेसिएट उपाध्यक्षको रूपमा छन् । उनी उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए । ढकाललाई अर्का उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठलेसमेत साथ दिँदैछन् । दुई उपाध्यक्षहरू एक ठाउँमा उभिएपछि अर्का उपाध्यक्ष प्रधान एक्लिएका छन् । तर दुई उपाध्यक्ष एकातिर लागे पनि आफूले जित्ने उनको दाबी छ ।

ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैङ्क तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छ । उनले पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य  दूतसमेत हुन् उनी ।

अर्का आकांक्षी प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका विराटनगरका व्यवसायी हुन् । उनी बिजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरूको संगठनको अध्यक्षसमेत छन् । जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो ।

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको चुनाव : २ उपाध्यक्ष एकै कित्तामा

यस्ता छन् अन्य आकांक्षी

महासंघमा तीन उपाध्यक्ष हुने व्यवस्था छ, जसमा एक उपाध्यक्ष एसोसिएटबाट निर्वाचित हुनेछन् । एसोसिएटमा अहिले ९ सयभन्दा बढी मत छ ।

गत अधिवेशनमा चन्द्र ढकाल एसोसिएटबाट सर्वसम्मत उपाध्यक्ष चयन भएका थिए । यसपालि भने सर्वसम्मत चयन हुने सम्भावना कम देखिएको छ ।

एसोसिएट उपाध्यक्षका लागि सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा सौरभ नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

एसोसिएट अर्का उम्मेदवार भनेका रामचन्द्र सांघाईं हुन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेकेा थियो । उनले धागो उत्पादन गर्दै आएका छन् ।

उनको बैङ्क तथा वित्तीय क्षेत्रमा पनि राम्रै लगानी रहेको छ । उनी एनआइसी एसिया बैङ्कका सञ्चालक समेत छन् ।

अर्को उपाध्यक्ष पद भने जिल्ला नगरको हो । ११० जिल्ला तथा नगरहरूबाट एक जना उपाध्यक्ष छानिनु पर्नेछ । यस पदका लागि २ वटा प्रदेश अध्यक्षहरू भिड्ने भएका छन् । प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

श्रेष्ठ यसअघि नै वस्तुगतबाट उपाध्यक्ष भइसकेका छन् । कपी तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडि, गोरखापत्रलाई कागज, प्रिन्टिङ मेसिनरी सप्लाईलगायतमा लगानी रहेका श्रेष्ठ माल्ट्राका अवैतनिक महावाणिज्य दूतसमेत हुन् ।

दिनेशसँग प्रदेश नम्बर ५ का अध्यक्ष तिवारीले प्रतिष्पर्धा गर्दैछन् । तिवारीलाई चन्द्र ढकाल समूहको समर्थन रहेको छ।

महासंघमा १०३ वटा वस्तुगत संघहरू छन् भने द्विदेशीय संगठनहरू १८ वटा छन् । यो पनि वस्तुगतमै जोडिन्छ । हाल वस्तुगत उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठले यही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् ।

ठूलो राजनीतिक घरानाका भएर पनि उद्योगमै रमाएका श्रेष्ठ वस्तुगत तर्फबाट महासंघ प्रवेश गरेका हुन् । उनी नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र चर्चित वामपन्थी नेतृ स्वर्गीय साहना प्रधानका छोरा हुन् ।

श्रेष्ठ अहिले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । ३ कार्यकाल महासंघको सदस्य भएर उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनी ३ कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष रहेका थिए ।

वस्तुगत उपाध्यक्षका लागि व्यवसायी अञ्जन श्रेष्ठ आकांक्षी देखिएका छन् । लक्ष्मी ग्रुपका अध्यक्ष रहेका श्रेष्ठ नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । श्रेष्ठ पनि बलिया प्रतिस्पर्धी मानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment