Comments Add Comment

सरकारको निष्कर्ष : नेपाल भित्रिएका सलह निष्क्रिय

२२ असार, काठमाडौं । नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले निष्कर्ष निकालेको छ ।

असार १३, १४ र १५ गते नेपाल-भारत सीमा नाकाका चार ठाउँबाट नेपाल प्रवेश गरेका सलहले अब कुनै पनि क्षति नगर्ने अवस्थामा पुगेको कार्यदलको दाबी छ।

प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंका अनुसार ती तीन दिनमा अनुमानित ७० लाख सलह नेपाल प्रवेश गरेका थिए ।

तिनीहरू अहिले छिन्नभिन्न भएको र केही एकै ठाउँमा मरेको पाइएको उनले बताए । ‘पछिल्लो तीन दिनमा देशका कुनै पनि भागमा सलहले क्षति पुर्‍याएको जानकारी आएको छैन, अब तिनीहरू निष्क्रिय अवस्थामा पुगेको भन्ने अनुमान छ,’ संयोजक हुमागाईंले भने ।

दाङ उपत्यकासम्म पुगेका सलह पूर्वी र पश्चिमी वायुको न्यून चापका कारण केही दिन त्यहीँ रहेका थिए । त्यसपछि उत्तरी भू-भागमा उडेका सलह निष्क्रिय र केही मृत भेटिएको हुमागाईंले बताए । बागलुङका उत्तरी भू-भागमा ठूलो मात्रामा सलह मृत भेटिएको जानकारी कार्यदललाई आएको छ।

यस्तै, देशैभरका विभिन्न जिल्लामा स–सानो संख्यामा सलह रहेको जानकारी आएको तर तिनीहरू क्षति गर्ने अवस्थामा नभएको उनको भनाइ छ । दाङबाट गुल्मी, प्युठान, बागलुङतर्फ उडेका सलह थोरै मात्रामा जंगलमा रहेको र एउटा झुण्ड बागलुङमा मृत अवस्थामा पाइएको पनि उनले जानकारी दिए ।

पूर्वी र मध्य तराईबाट भित्रिएको सलह पूर्वीय वायुको चापले पश्चिमतर्फ धकेलिए पनि सुदूरपश्चिम प्रदेशसम्म भने नपुगेको प्राविधिक कार्यदलले जनाएको छ । दाङभन्दा पछाडिका जिल्ला भएर कर्णाली तथा सुदूरपश्चिममा क्षति गराउने गरी सलहको ठूलो झुण्ड नगएको कार्यदलको दाबी छ ।

भारतबाट नेपाल प्रवेश गरेजस्तै सलहका झुण्डहरू नेपालबाट भारततर्फ भने नबाहिरिएको कार्यदलले जनाएको छ ।

अब तीन दिन ‘सलह आउँदैन’

नेपालमा अबको तीन दिन सलह आउने सम्भावना न्यून भएको कार्यदलले जनाएको छ ।

प्लान्ट भिलेज तथा संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य कार्यक्रमले गरेको प्रक्षेपणका आधारमा कार्यदलले यस्तो निष्कर्ष निकालेको हो । नेपालबाट नजिक भारतीय भूमिमा रहेको सलह अझै दक्षिणतर्फ अघि बढिरहेको सूचना प्राविधिक कार्यदललाई प्राप्त भएको संयोजक हुमागाईंले बताए ।

भैरहवाबाट करिब ७ सय किलोमिटर दुरीमा रहेको भारतको झाँसी, ओराई क्षेत्रमा सलह रहेको र तिनीहरू अझै दक्षिणहुँदै मध्यप्रदेशतर्फ उडेको जनाइएको छ । तीन दिनका लागि सलह नेपाल भित्रिने आधार नदेखिए पनि भारतको राजस्थानमा कलिलो वयस्‍क सलहको संख्या चार सय गुणाले बढेको र तिनीहरू उड्न सक्ने अवस्थामा रहेकाले जोखिम भने नटरेको हुमागाईंको भनाइ छ ।

सलहका कारण देशभर एक हजार ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति गरेको तर मकैमा भएको क्षति गम्भीर नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment