Comments Add Comment

आत्मघाती गोलले टोटनहम विजयी

२३ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहमले एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनका खेलाडीको आत्मघाती गोलको सहयोगमा टोटनहमले ३ अंक जोडेको हो ।

खेलको २४औं मिनेटमा एभरटनका माइकल केनले आत्मघाती गोल गर्दा टोटनहमले अग्रता बनायो । त्यही गोल नै टोटनहमको जितमा निर्णायक बनेको हो ।

जितपछि ३३ खेलबाट ४८ अंक जोड्दै टोटनहम आठौं स्थानमा उक्लेको छ । शेफिल्ड युनाइटेडको पनि समान ४८ अंक भए पनि गोलअन्तरमा पछि छ ।

टोटनहमको जितपछि प्रशिक्षक जोसे माउरिन्होले पनि प्रिमियर लिगमा २ सयौँ जित हात पारेका छन् । र यस्तो उपलब्धी प्राप्त गर्ने उनी पाँचौ प्रशिक्षक हुन् ।

खेलको मध्यान्तरमा टोटनहमका गोलकिपर तथा कप्तान ह्युरगो लोरिस र फरवार्ड हेउन मिन सनबीच भनाभन भएको थियो । प्रशिक्षक माउरिन्होले यसलाई फुटबलको सुन्दर पाटो तथा टिमको उत्थानका लागि गरिएको प्रयासका रुपमा टिप्पणी गरेका छन् ।

मध्यान्तरको समयमा चेन्जिङ रुममा फर्कँदै गर्दा कप्तान लोरिस दौडिएर आएर सनलाई पछाडिबाट धक्का दिएका थिए । उनीहरूबीच त्यहीँ केहीबेर भनाभन भएको थियो । उनीहरुलाई अरु खेलाडीले छुटयाएका थिए ।

खेलपछि पनि उनीहरुको तनाव मत्थर भएको थिएन । तर लोरिसले खेल सकिएपछि आफूहरुबीच कुनै समस्या नरहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment