Comments Add Comment

सुदूरपश्चिममा प्रतिपक्षीको विरोधका बीच बजेट पारित हुँदै

२४ असार, कैलाली । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७÷०७७ को बजेट पारित गर्ने रणनीति लिएको छ ।

बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले कार्यसूची तयार गरेको छ ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । तर प्रतिपक्षी दलको विरोधका कारण २० दिनसम्म बजेटमाथि छलफल हुन सकेन ।

बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको र भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

असार २१ गते प्रदेश प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रदेशसभा बैठक सुरु भएको थियो ।

२१ गते र २३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको विरोधकै बीच बजेटमाथिको छलफल अघि बढाएको प्रदेशसभाले बुधबार विरोधकै बीच पारित गर्ने तयारी थालेको छ । प्रदेशसभामा सत्तारुढ नेकपाको बहुमत छ ।

मंगलबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद हर्क बहादुर कुँवरले नारबाजी कै बीचमा बजेटमाथिको छलफलमा धारणा राखेका थिए । एक जना सांसदले धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।

बुधबार तीन बैठक

बुधवार बिहान ८ बजे बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए ।

प्रदेश अर्थमन्त्री बोहराले छलफलको प्रस्ताव पेस गरेपछि १ घण्टा सम्मको लागि बैठक स्थगित भएको थियो ।

९ बजे आह्वान गरेको अर्काे बैठकमा सत्तारुढ दलका सांसद दुर्गा विकले धारणा राखिन् ।

उनको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गर्नुपर्ने बताइन् ।

उनको धारण पछि फेरि बैठक स्थगित भयो । बुधवार तेस्रो पटक बस्न लागेको बैठकले बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

‘२ बजे आह्वान गरिएको बैठकका सत्तारुढ दलका सांसद महेशदत्त जोशी बोल्ने कार्यसूची छ’ प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले भने, ‘उहाँले बोलेपछि अर्थमन्त्रीले आएका प्रश्नमा जवाफ दिनुहुन्छ र आजै बजेट पारित गर्न प्रस्ताव पेस गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment