Comments Add Comment

नेपालको आन्तरिक मामिलामा नयाँ खेलाडीलाई निम्तो

ओली सरकार संकटमा परेपछि देशमा चिनियाँ राजदूतको सकृयता बढेको स्पष्ट देख्न सकिन्छ । केही दिनयता चिनियाँ राजदूत नेकपाका नेताहरुको घरमै गएर उनीहरुलाई भेट्न थालेकी छिन् । उनको यो सकृयताको उद्देश्य स्पष्ट छ- केपी ओलीको सरकारको आयु लम्ब्याउनु ।

केही महिना अगाडि पनि प्रधानमन्त्री केपी ओलीलाई यसरी नै सत्ताच्युत गर्न उनको दलभित्रै र दल बाहिर चलखेल भइरहेका बेला चीनकै सक्रियतामा रातारात उनको सत्ताको आयु लम्बिएको थियो । योपटकको सकृयता पनि त्यसैका लागि हो भनेर बुझ्न कठिन छैन ।

कुनै दिन भारतपरस्त नेता भनेर चिनिने गरेको भए पनि केपी ओली अहिले चीन नजिकका नेता मानिन्छन् । त्यसैले स्वभाविकरुपमा चीनले आफ्नो नजिकको र विश्वाशिलो मान्छे नेपालको सत्तामा रहिरहोस् भन्ने चाहन्छ र उनको बचाउका लागि आफूले गर्न सक्ने सबै दाउपेच लगाउन सुरु गरेको छ ।

अरु केही गर्न नसके पनि नेकपाका धेरै शीर्ष नेताहरुलाई चीनले केही हदसम्म प्रभावित पार्न सक्छ र उनीहरुलाई थामथुम पारेर केपी ओलीको सत्ता लम्ब्याउन प्रयास गरिरेहको छ ।

तर, नेपाली आन्तरिक राजनीतिमा चीनको यति स्पष्ट सकृयता नेपालका लागि नयाँ नै भन्नुपर्छ ।

विगतमा नेपालका हरेक स-साना आन्तरिक कुरामा पनि सोझै हस्तक्षेप गर्ने भारतको बानी थियो । उसको आग्रहलाई नमानेर नेपालले नयाँ संविधान जारी गरेपछि केही हदसम्म भारतीय हस्तक्षेप मथ्थर भएको महसुस नेपाली जनताले गर्न थालेका थिए ।

तर, भारतले खालि गरिदिएको त्यो स्थानमा अहिलेको चिनियाँ सक्रियता हेर्दा कतै चीनले आफ्नो खुट्टा राख्न थालेको त हैन भन्ने शंका उब्जन थालेको छ ।

हुन त चीनको विदेश नीतिअनुसार उसले अरु देशको आन्तरिक मामलामा कुनै हस्तक्षेप गर्दैन । अप्रत्यक्षरुपमा उत्तर कोरियाको राजनीतिमा केही प्रभाव पारे पनि अन्य कुनै पनि देशको राजनीतिमा चीन सधैं मौन रहने गरेको छ । नेपालकै राजनीतिको कुरा गर्दा पनि जहिले पनि चीनले निकै सन्तुलित टिप्पणी गर्ने गरेको हामी सबैलाई थाहा छ । तर, यहाँ हामीले बुझ्नुपर्ने कुरो के हो भने चीन पहिलेजस्तो सुतेको ड्रागन हैन । त्यो ड्रागन अब ब्युँझिसकेको छ ।

आर्थिक र सामरिक दृष्टिले चीन अहिले निकै बलियो राष्ट्र भैसकेको छ र क्षेत्रीय एवं विश्व राजनीतिमा उसले आफ्नो स्थान खोज्न शुरु गरिसकेको छ । त्यहीअनुरुप विश्व मानचित्रमा आफ्नो प्रभाव बढाउन उसले आफ्नो विदेश नीतिमा परिवर्तन नगर्ला भन्न सकिन्न ।

अर्कोतर्फ आफूसँग सीमा जोडिएको छिमेकी र तिब्बतजस्तो संवेदनशील विषयका कारणले गर्दा नेपालको राजनीतिलाई चीनले सधैं नै निकै चासोका रुपमा हेरिरहेको हुन्छ र प्रष्टरुपमा नभने पनि सत्तामा आफ्ना विश्वाशिला मान्छे रहुन् भन्ने चाहन्छ । त्यसैले चीनले अवश्य पनि आफ्नो नजिकको दल र नेतालाई नेपालको राज्यसत्तामा देख्न चाहन्छ ।

राजतन्त्र हुँदासम्म राजसंस्थालाई आफ्नो विश्वाशपात्र ठानेको चीन लोकतन्त्रको स्थापनापछि अर्को त्यस्तै विश्वाशपात्रको खोजीमा थियो र ओली अहिले त्यो पात्र भएका छन् ।

सत्तामा आफ्नो विश्वाशपात्र भएको हुनाले खुल्लारुपमा चीनले नेपालको आन्तरिक राजनीतिमा सक्रियता बढाएको हो या ओली स्वयंले चीनलाई आफ्नो सत्ताको रक्षार्थ उसको सहयोगका लागि निम्त्याएका हुन्, यकिन गरेर भन्न सक्ने स्थिति छैन । तर, जसरी पनि सत्तामा टिक्न खोजेका ओलीले सायद जानीजानी चीनलाई यसमा आमन्त्रण गरेर सत्ता टिकाउन लागेका हुन् कि भन्ने आधारहरु धेरै छन् ।

यदि त्यसो हो भने ओलीको त्यो प्रयोगले उनको सत्ता त लम्बिएला, तर यसले एउटा नयाँ समस्या पनि खडा गर्ने निश्चित छ । भारतलेजस्तै चीनले पनि नेपालको आन्तरिक राजनीतिमा हात हाल्न सुरु गर्न थाल्नेछ । भारतले हाम्रो आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गर्‍यो भनेर दिनदिनै उसको सत्तोसराप गर्ने हामीले भारतलाई त्यसबाट टाढा बनाउनुको उल्टो त्यो फोहरी खेलमा अर्को नयाँ खेलाडी थप्नेछौं ।

आफ्नो सत्ता बचाउन भविष्यमा पर्ने असरहरुलाई विश्लेषण नगरी आफैंले निम्त्याएर देशको राजनीतिमा चीनको सकृयता बढ्दै जाँदा कुनै दिन फेरि हामी यसको जञ्जाल भित्र फसेर बाहिर निस्कन नसक्ने स्थितिमा त पुग्ने छैनौं भनेर हामीले समय नगुज्रिँदै सोच्नुपर्छ ।

वास्तवमा हामीले आफ्नो आन्तरिक राजनीति र अन्य कुनै पनि आन्तरिक मामलामा भारत, चीन मात्र हैन अन्य कुनै पनि देशलाई गुहार्नु हाम्रो असमर्थता र लाचारीपनको प्रतीक हो ।

त्यसो त नेपाल र चीनको बीचमा खासै सांस्कृतिक र भावनात्मक सम्बन्ध छैन । बुद्ध धर्म, अरनिको र भृकुटीका जति कुरा गरे पनि चिनियाँहरुसँग न त हाम्रो भाषा मिल्छ न संस्कृति र धर्म नै । त्यसैले भारतलाई जति घृणा गरे पनि, जति गाली गरे पनि भाषा, धर्म, संस्कृति र भुराजनीतिक परिस्थितिको कारणले गर्दा हामीले भारतको रीसले चीनसँग अनावश्यक समीपता बढाउनु नेपालको हितमा छैन ।

यदि चीनलाई हाम्रो आन्तरिक राजनीतिबाट टाढै राखेर भारत र अन्य छिमेकी मुलुकहरुको सम्बन्धलाई सन्तुलनमा राख्नका लागि मात्र प्रयोग गरियो भने त्यसले नेपालको विकास र सार्वभौमस्तामा सकारात्मक असर पार्नेछ ।

तर, नेपालको आन्तरिक राजनीतिमा जसरी पहिले भारतले हस्तक्षेप गर्थ्यो, त्यही पारामा चीनलाई निम्याउँदा चीनले पनि भविष्यमा निम्तोविना नै हस्तक्षेप गर्न थाल्यो भने त्योभन्दा ठूलो अभिषाप हाम्रा लागि अरु कुनै हुने छैन ।

उसको आफ्नै विदेश नीति, तिब्बतसँग जोडिएको स्वार्थ र अन्य भूराजनीतिक कारणहरुले गर्दा चीनले अहिले नेपाललाई इज्जतसाथ व्यवहार गरिरहेको छ र हामी त्यही इज्जत मै बस्नु ठीक होला ।

चीनसँग हामीले आर्थिक सहकार्य बढाउनुपर्छ भन्नेमा शंका छैन तर राजनैतिक सामीप्य बढाएर उसलाई आफ्नो आन्तरिक विषयमा हस्तक्षेप गर्न निम्त्याउँदा कालान्तरमा त्यो समिपता कटुटतामा परिणत हुन सक्छ । त्यसैले जबर्जस्ती सामीप्य देखाउन खोज्दा अहिले भएको सुमधुर सम्बन्ध पनि बिग्रन सक्ने कुरामा हामी सचेत भएर कदम चाल्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment