Comments Add Comment

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

२५ असार, काठमाडौं । बिभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ ।

कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको थियो ।

अहिले उनले आफ्नो फेसबुक पेजमा एक भिडियो पोष्ट गरेका छन्, जसमा उनले कोरोना निको पार्ने औषधि भन्दै सेतो रङ्गको गोली पानीले निलेको देखिन्छ । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भिडियोमा भनेका छन्, ‘म हाइड्रोक्सिक्लोरोक्वीन औषधिबाट आफ्नो उपचार गर्दैछु ।’

जबकी कोरोनाको औषधि पत्ता लागेको छैन र कुनै पनि औषधि कोरोना संक्रमित विरामीको उपचारमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।

हाइड्रोक्सिक्लोरोक्वीन मलेरियाका बिरामीलाई दिइन्छ । सुरुमा यो औषधि कोरोना भाइरस संक्रमितलाई पनि उपयुक्त हुने ठानिएको थियो तर पछि त्यसको पुष्टि भएन ।

तर राष्ट्रपति बोल्सोनारोले भिडियोमा विज्ञानले पुष्टि नगरे पनि आफूले यो औषधि खान थालेपछि सुधार भएको महसुस गरेको बताएका छन् । भिडियोमा कुनै डाक्टर वा स्वास्थ्यकर्मी देखिँदैनन् । यो भिडियो अहिले सामाजिक सन्जालहरुमा भाइरल भइरहेको छ ।

गत मार्च महिनामा बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्वीन कोरोनाको औषधि भनेको भिडियो ट्वीटर र फेसबुकले डिलिट गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment