+
+
Shares

त्रिशूली जलविद्युत् कम्पनीमा फसेको नबिल बैंकको १ अर्ब फिर्ता

चीनको चाइना एभरब्राइट बैंक लिमिटेडले जारी गरेको काउन्टर ग्यारेन्टी बापत रकम भुक्तानी दिन अदालतले आदेश दिएपछि नबिल बैंकले पाएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले त्रिशूली जलविद्युत कम्पनीका काउन्टर ग्यारेन्टी बापत १ अर्ब ८ करोड रुपैयाँ फिर्ता पाएको छ।
  • चाइना एभरब्राइट बैंक लिमिटेडले चीनको अदालतको आदेशपछि उक्त रकम नबिल बैंकलाई भुक्तानी दिएको हो।
  • त्रिशूली जलविद्युत कम्पनीले ठेक्का सम्झौता रद्द गरेपछि नबिल बैंकले कानुनी प्रक्रिया अघि बढाएको थियो।

७ पुस, काठमाडौं । नबिल बैंकले त्रिशूली जलविद्युत् कम्पनीका ‘काउन्टर ग्यारेन्टी’ बापत १ अर्ब ८ करोड रुपैयाँ फिर्ता पाएको छ ।

चीनको चाइना एभरब्राइट बैंक लिमिटेडले जारी गरेको काउन्टर ग्यारेन्टी बापत रकम भुक्तानी दिन अदालतले आदेश दिएपछि नबिल बैंकले पाएको हो ।

त्रिशूली थ्री–बी परियोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको ३० प्रतिशत र नेपाल टेलिकमको ३० प्रतिशत सेयर सहित स्थापना भएको त्रिशूली जलविद्युत् कम्पनीले आयोजना निर्माण तीन वर्षमा सक्ने गरी सुइफासँग ३० फागुन २०७४ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २९ फागुन २०७७ मा नै आयोजना निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण कम्पनीले विभिन्न बहानामा काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले ३० मंसिर २०८० मा ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो । उक्त आयोजनाका लागि त्रिशूली जलविद्युत् कम्पनीसँग नेपालको नबिल बैंकले बैंक ग्यारेन्टी सम्झौता गरेको थियो ।

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपका तर्फबाट काउन्टर ग्यारेन्टी चिनियाँ बैंक चाइना एभरब्राइट बैंकले दिएको थियो । नबिलले हालको विनिमय दर अनुसार १ अर्ब ८ करोड रुपैयाँ अर्थात् ७४ लाख ४९ हजार ३ सय ८६ अमेरिकी डलर बराबर रकम त्रिशूली जलविद्युत कम्पनीलाई भुक्तानी दियो ।

त्यसपछि नबिल बैंकले उक्त रकम भुक्तानी माग गर्दै चाइनाको काउन्टर ग्यारेन्टी बसेको चाइना एभरब्राइट बैंक लिमिटेडलाई पत्राचार गर्‍यो ।

चाइना एभरब्राइटले उक्त विषयमा अदालतमा भएकाले भुक्तानी दिन नसकिने जवाफ फर्काएपछि कानुनी बाटो सुरु गरेको थियो । चीनको अदालतले नै नबिल बैंकको पक्षमा फैसला गरेपछि चाइना एभरब्राइट बैंकले आइतबार उक्त रकम नबिल बैंकलाइ भुक्तानी दिएको नबिल बैंकले जनाएको छ ।

चाइना एभरब्राइट बैंक छेन्दु शाखाद्वारा ग्यारेन्टी जारी भएको थियो । उपरोक्त बैंक जमानतको भुक्तानी माग गरिएका पत्रहरू १ डिसेम्बर २०२३ मा नबिल बैंकले प्राप्त गरेको थियो ।

नबिलले सोही दिन चाइना एभरब्राइट बैंकलाई स्विफ्ट सन्देश पठायो । त्यसपछि नियमित रूपमा ताकेता गरिरहेको नबिलले जनाएको छ । तर, १० डिसेम्बर २०२३ मा चाइना एभरब्राइट बैंकले चीनको ‘छेन्दु फाइनान्सियल कोर्ट’ बाट जारी भएको निषेधाज्ञाका कारण काउन्टर ग्यारेन्टी अन्तर्गत रकम भुक्तानी दिन नसक्ने जनाएको थियो ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडलाई बैंक जमानत बापत रकम भुक्तानी गरिसकेपछि नबिल बैंक छेन्दु फाइनान्सियल कोर्टमा विचाराधीन कानुनी प्रक्रियामा गएको थियो । अदालतले ठेकेदार सुइफा–आन्हे ग्रुप कम्पनी लिमिटेडद्वारा दायर गरिएको दाबी खारेज गरिदियो र नबिल बैंकको पक्षमा फैसला गरेको हो ।

त्यसपछि सुइफा–आन्हे ग्रुप कम्पनी लिमिटेडले चोङकिङ हाइयर पिपल्स कोर्टमा पुनरावेदन दायर गर्‍यो । उक्त पुनरावेदनमाथि २३ सेप्टेम्बर २०२५ मा सुनुवाइ भयो र सुनुवाइको अन्त्यमा अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?