Comments Add Comment

समस्याको जड नेकपाभित्रको बुर्जुवाकरण

इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीका अनुसार कुनै पनि प्रतिक्रान्ति क्रान्तिभित्रै सुसुप्त भ्रुणका रुपमा सधैं जीवित रहेको हुन्छ र मौका पाउना साथमुख्य सार र स्वरुप बनेर बाहिर देखा पर्छ। क्रान्तिकारी पार्टीहरु जो राजनीतिक परिबर्तनमा सामेल भएका हुन्छन् । तिनीहरुमा यो भ्रुण छिटो विकसित हुने सम्भावना हुन्छ ।

प्रतिक्रान्तिको पहिलो संकेत नै पार्टीमा देखा पर्ने बुर्जुवाकरण हो जसमा सिद्धान्त, जनचाहना र संगठन भन्दाव्यक्ति, शक्ति र सत्तामा पार्टीको नेतृत्व चुर्लुम्म डुब्न थाल्छ। अधिकांस समय र शक्ति पार्टी नेतृत्वको व्यवस्थापन र चाहना पूरा गर्नमा सकिन्छ ।

नेकपाको अहिलेको हालत यही हो । नेकपाको वास्तविक समस्या भनेको पलायन हुँदै गएको परिबर्तनशिलता र हुर्कंदै गएको बुर्जुवाकरण नै हो ।

मुख्य नेतृत्वमा रहेकाहरुको पदको ब्यबस्थापन राम्रोसंग गर्न सके सबैथोक चुस्त दुरुस्त हुन्छ भन्ने सोच उकुच पल्टेको घाउमा कांम्रो बाँधे जस्तो मात्रै हो। पार्टी बुर्जुवाकरण हुँदै गएको कुरालाई अस्वीकार गर्दै अथवा लुकाउँदै कुनै पद प्राप्त गर्न अथवा सुरक्षित गर्नमा मात्रै सम्पूर्ण शक्ति खर्च गर्ने गरेको नेकपाको अहिलेको बहस र छलफलले वास्तविक निकास दिँदैन । बरु यही तरिकालाई मात्रै प्राथमिकतामा राखिरहने हो भने नेकपा केही सीमितव्यक्तिहरुको राजनीतिक पेशा गर्ने ठाउँमा परिणत हुनेछ ।

बुर्जुवाकरण भन्नाले क्रान्तिकारी पार्टीलाई उच्चवर्गीय राजनीति, आर्थिक गतिविधि र जीवनशैलीमा अभ्यस्त गराउँदै पार्टी राजनीतिलाई नेतृत्वकर्ताहरुले आफ्नो व्यक्तिगत इच्छा, पद र शक्तिको श्रोतको रुपमा उपयोग गर्न मिल्ने परम्पराको विकास गर्ने कुरालाई जनाउँछ ।

राजनीतिक परिवर्तनका एजेन्डा कमजोर बनेपछि अथवा समाप्त भए पछि, आर्थिकरुपमा पुँजीवादी संस्कारमा नै आफूलाई अभ्यस्त बनाउन थालेपछि, लामो समयसम्म सत्तामा रहँदा उपल्लो वर्गसँग बढेको सामीप्यले गर्दा जनतासँग दुरी बढ्न थालेपछि, पुँजीपति वर्ग र पैसावालहरु पार्टीको निर्णायक तहमा पुग्न थालेपछि र नेतृत्वमा पुग्ने होडबाजीलाई नै पार्टीको मुख्य गतिविधिका रुपमा स्थापित हुन थालेपछि क्रान्तिकारी पार्टीहरु बुर्जुवाकरण हुँदैछन् भन्ने थाहा पाउन सकिन्छ ।

नेपालका पार्टीहरुमा विकसित हुँदै गरेको बुर्जुवाकरणले नेपाली समाजलाई दलाल पुँजीवादको संरचनामा ढाल्ने काम गरेको छ । दलाल पुँजीवादले पार्टीका अन्तरिक संरचनाहरु ध्वस्त नै बनाएको छ, संगठन मक्किएका छन् । जनतामा राजनीतिक वितृष्णा बढेको छ, भने बाहिरीरुपमा आर्थिक पराधीनता बढाएको छ । नेपालको सन्दर्भमा दलाल पुँजीवाद प्रतिक्रान्ति हो र यो पार्टीहरुमा बिकसित भएको बुर्जुवाकरणको परिणाम हो ।

कार्ल मार्क्सदेखि गान्धीसम्म र नेपालकै वीपी कोइरालादेखि मदन भण्डारीसम्म सबैले राजनीतिक परिवर्तन ल्याउन बरु सजिलो होला, तर परिवर्तित राजनीतिलाई जोगाइ राख्न, परिवर्तन अनुसारको आचरण विकास गर्न र पार्टीको क्रान्तिकारिता कायम राख्न क्रान्ति गर्न भन्दा कठिन हुने कुरा पटक-पटक भनेका छन् । दार्शनिक ग्राम्सी त परिवर्तन आफूसम्म आइपुगेपछि त्यो नै अन्तिम परिवर्तन हो भन्ने सोच पलाउने र आफूभन्दा अरु नेतृत्वमा आयो भने सबै बिगि्रन्छ भन्ने सोचको विकास हुनुले पार्टीहरु गुट उपगुटमा विभाजित हुँदै जनताबाट टाढा हुन्छन भनेका छन् ।

वीपी कोइरालाले पनि जब कांग्रेस सत्तामा पुग्छ, ठूला ठालुहरुको बोलवाला चल्छ, कार्यकर्ताहरु पलायन हुनेछन र पार्टी कमजोर भएर जानेछ भनेका थिए र अहिले हेर्दा त्यस्तै देखिन्छ ।

नेकपाभित्रको अहिलेको विवाद र यसको भविश्य पनि यिनै कुराहरुको पृष्ठभूमिमा हेरिनु जरुरी हुन्छ । एमाले र माओवादीवीचको एकतापछि नेकपा बन्ने क्रममा नै नेताहरुको ब्यवस्थापनलाई मात्रै प्रमुखता दिइएको थियो ।

त्यत्रो इतिहास बोकेका र राजनीतिक कार्यक्रमका हिसाबले अत्यन्त फरक पृष्ठभूमिबाट आएका मात्रै नभएर लामो समयसम्म दुश्मनी नै साँधेका पार्टीहरु बीचको एकताका लागि भएका सहमतिमा आउने चुनावमा टिकट कसरी वितरण गर्ने र नेताहरुलाई विभिन्नपदमा कसरी अटाउने भन्नेमा मात्रै सीमित थियो ।

चुनाबी प्रतिस्पर्धाका माध्यमबाट चुस्त बनेको एमालेको संगठन र भर्खरै खुला राजनीतिमा आउँदा विभिन्न टुटफुटबाट गुज्रेको माओवादी बीचमा संगठन र सिद्धान्तबारे कुनै बहस नै नभई हतार- हतार गरिएको एकता न राजनीतिक रुपमा दिशानिर्देश गर्नेखालको थियो न संगठनिक चुस्ततालाई नै बढावा दिने उद्देश्य देखिन्थ्यो । जसरी पनि चुनाब जित्ने गठबन्धनजस्तो देखिएको यो एकता व्यक्ति ब्यवस्थापन र सत्ता र पदमा केन्ऽित भएको कारण संगठनहरु कमजोर बने र देशमा व्याप्त दलाल पुँजीवादी संयन्त्रहरु पार्टीका विभिन्न तहमा हाबी भए ।

राजनीतिक विचार सुन्यताका कारण आर्थिक रुपमा नयाँ सोच ल्याउन सक्ने अवस्था भएन, जसले गर्दा हरेक तहमा दलाल पुँजीवादी चिन्तन हाबी भयो । अहिलेको पार्टीभित्रको विवाद र फुटको अवस्था यही चिन्तनको मलजलले निर्माण गरेको हो ।

चुनाबमा नेकपाको विजयले विदेशी शक्तिहरुलाई एक ढंगको प्रहार नै भएको हो । नाकाबन्दीपछि ओलीले लिएका अडान र दिल्लीको हस्तक्षेपकारी भूमिकालाई कमजोर बनाउन खेलेको भूमिकाका कारण ओली टाउको दुखाइको विषय बनेका थिए ।

नेकपाको स्थिरता र ओलीको निरन्तरता यो शक्तिका लागि सबै भन्दा ठूलो चुनौती थियो र छ । पार्टीभित्र ब्याप्त व्यक्तिगत अन्तरद्वन्द्वका बारेमा राम्रो ज्ञान भएका यी शक्तिहरुले ती अन्तरद्वन्द्वलाई बढाउन भूमिका खेल्ने नै भए ।

नेपालसँगको सिमाना विवाद, चीन र भारतबीचको बढ्दो द्वन्द्व, नागरिकता विधेयक, नेपाली कांग्रेसले लिन नसकेको गति, बैकल्पिक शक्तिहरुको दुरावस्था, कार्यकर्ता तहमा ओलीको बढ्दो प्रभाब सबैका कारण ओली र अन्य नेताहरुबीच व्यक्तिगत टकराब छताछुल्ल पार्नैपर्ने अवस्था आएको हो । फुटाउ र राज गर भन्ने सिद्धान्तलाई अङ्गीकार गरेका शक्तिहरुले यो टकराबका दुवै पक्षलाई उचालेका रहेछन् भने अनौठो नमान्दा हुने अवस्था छ ।

केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतबाट जसरी पनि हटाउने अभियान चल्नु, नेपाललाई फेरि बहुराष्ट्रिय देशमा बदल्नु पर्छ भन्ने मागसहित नयाँ मोर्चा खडा हुनु, लिम्पियाधुरासम्म नेपालको नक्शालाई संबिधानमा दर्ता गराएपछिको भूराजनीतिक टकराब नेपालमा देखा पर्नु, महाधिवेशनको अथवा सैद्धान्तिक कुरालाई ख्याल नगरी व्यक्तिगत टकराबलाई कार्यकर्तामाझ पुर्‍याउनु जस्ता कुराहरु ‘स्याल कराउनु र बाख्रो हराउन’ जस्तो संयोग मात्रै होइनन् ।

जब संगठनहरु निस्प्रभाबी हुन्छन र राजनीतिक र आर्थिक परिवर्तनका एजेन्डाहरु मरेर जान्छन्, अथवा सुसुप्त हुन्छन्, त्यसबेला विदेशी हस्तक्षेप बढेर जान्छ । औपनिवेशिक उद्देश्यका साथ दलाल पुँजीवादी पराधीनताको विकास गर्नका लागि बिदेशी शक्तिले हस्तक्षेप गरेर पार्टीका निर्णयहरु प्रभावित हुने अवस्था आउनु नै बुर्जुवाकरणको मुख्य प्रमाण हो ।
बुर्जुवाकरणले दलाल पुँजीवादी संरचनालाई पार्टीभित्र र बाहिर स्थायित्व दिन्छ र त्यो ढंगको पराधीनतालाई प्रयोग गरेर व्यक्तिगत लाभहानीका आधारमा राजनीतिक निर्णय गर्ने प्रणालीको बिकास गर्न प्रभावित पार्छ । नेकपाको अहिलेको अबस्थामा यो परिवेश एउटा कडीको रुपमा देखा परेको छ ।

ऐतिहासिक लिगेसी बोकेका यी व्यक्तिगत टकराबका कारण नेकपा फुटको अवस्थामा पुगेको छ । तत्काल फुटिहालेन भने पनि यही अवस्थामा एकजुट भएर अघि बढ्न सक्दैन । नयाँ सैद्धान्तिक आधार तयार गरेर पार्टीमा व्याप्त बुर्जुवाकरणलाई पहिचान गर्दै राजनीतिक बाटो तयार गर्न सक्यो भने मात्रै गतिशील र परिबर्तनकारी शक्तिको रुपमा एकता कायम हुने देखिन्छ । अन्यथा अहिलेका प्रयासहरु क्षणिक हुनेछन् र कालान्तरमा गुट-उपगुटको जञ्जालका रुपमा परिणत हुनेछ ।

अहिलेको बहसमा एकथरी मान्छेहरुले सरकारको र पार्टीको पदहरुको बाँडफाँटलाई पहिलो प्राथमिकतामा राखेका छन् । महाधिवेशन नगर्दासम्म यो तरिकाले केही काम गर्न सक्छ । एकताका बेला प्रदेश, जिल्ला तहमा कसरी पद बाँडफाँट गर्ने भन्ने हिसाबले गरिएको सहमतिले काम नै गरेको छ । अहिले खासै विवाद देखिँदैन । तर नेतृत्व तहमा पद बाँडफाँटले मात्रै समाधान हुन्छ भन्नु गलत हुन्छ ।

पार्टी र सरकारको मध्यमबाट आगामी महाधिवेशनमा कसरी हाबी हुने, अन्य राजनीतिक र भूराजनीतिक केन्द्रहरुसँग आफ्नो शक्ति सञ्ंचय कसरी गर्ने, कसैको लोकप्रियता र अलोकपि्रयतालाई राजनीतिक दाउपेचमा कसरी प्रयोग गर्ने जस्ता कुरा प्राथमिकतामा भएकाले पदको अंकगणितले मात्रै निकास दिँदैन ।

अर्कोखाले बहस पुस्तान्तरणमा केन्द्रित छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अहिलेको विवाद समाधान गर्न केहि नयाँपन आउन सक्छ र नया नेतृत्व विकास हुने अवसर पनि प्राप्त हुन्छ । तर, नयाँ पुस्तासमेत बुर्जुवाकरणको शिकार भैसकेको छ भने दलाल पुँजीवादमा अव्यस्त बनिसकेको छ ।

सैद्धान्तिक सोच र बहसमा आएको कमी, पैसा नभई चुनाबजितिंदैन भन्ने सोचको विकास अहिलेको नयाँ पुस्ताले बेहोरेको बास्तबिकताहो। नया पुस्ता ‘ठेक्केदारी’ मा प्रवेश गर्ने क्रममा छन् भने कतिपय ‘ठेक्केदार’ हरु नयाँ पुस्ता बनिसकेका छन् । कुनै ढंगको नयाँ सोचको विकास गरेन भने नयाँ पुस्ताको नेतृत्वले मात्रै बुर्जुवाकरणको अन्त्य गर्न सक्छ भन्ने कुनै आधार देखिँदैन ।

दीर्घकालीनरुपमा बुर्जुवाकरणको अन्त्य नगरेसम्म नेकपाको वास्तविक समस्या समाधान हुँदैन । तर, तत्कालीन रुपमा अहिलेसम्म भएका सहमतिलाई आधार बनाउँदै संगठन निर्माणमा अघि बढ्नु, सरकारका कामलाई प्रभावकारी बनाई लोकपि्रयता हासिल गर्नु र छिटोभन्दा छिटो महाधिवेशन गर्नु नै महत्वपूर्ण प्रस्थानबिन्दु हुनेछ ।

सैद्धान्तिक बहस नचलाई पद बाँडफाटमा सीमित अहिलेको टकराबले देशलाई अराजनीतिक र डरलाग्दो असर पर्ने खतरा हुन्छ । पार्टी फुटे पनि, एकजुट भए पनि जबसम्म बुर्जुवाकरणको पहिचान र अन्त्य गरिँदैन, तबसम्म कुनै पनि पार्टी न गतिशील हुन्छ, न परिवर्तन ल्याउन सफल नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment