Comments Add Comment

क्रिकेट रंगशाला बनाउन महायज्ञमा घोषणा गरेको ६० करोड उठ्न बाँकी

पैसाको अभाव र विपत्ति नपरेमा १८ महिनामा काम सक्छौं : धुर्मुस

२५, असार, चितवन । भरतपुरमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन गरिएको महायज्ञमा घोषणा गरेको रकम संकलन हुन थालेको छ ।

हालै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले महायज्ञमा घोषणा गरेको एक करोड रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरे ।

यसअघि महायज्ञमा संकलन भएको नगद ७ करोड १४ लाख रुपैयाँ मूल समारोह समितिले फाउण्डेसनलाई हस्तान्तरण गरिसकेको छ ।

गएको माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञमा विभिन्न दाताले ६९ करोड ४० लाख ५६ हजार रुपैयाँ सहयोगको घोषणा गरेका थिए । घोषणा गरेकामध्ये ६० करोड ५० लाख ७९ हजार ४ सय रुपैयाँ उठ्न बाँकी रहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए । सरकारी निकायले घोषणा गरेको ५१ करोड ६० लाख र व्यक्तिले बोलेको ८ करोड ९० लाख उठ्न बाँकी छ ।

लकडाउनका कारणले रोकिएको रंगशाला निर्माणको काम गत वैशाख २० गतेदेखि सुरु भएको छ । हाल प्याराफिटको पिलर उठाउने काम भइरहेको छ ।

साउनदेखि दुई सय कामदार थपेर कामलाई गति दिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । उनले आर्थिक स्रोत जुटेमा र कुनै विपत्ति नआएमा १८ महिनाभित्र काम गरिसक्ने पनि बताए । हाल रंगशाला निर्माणमा एक सय कामदार खटिएका छन् ।

सहयोग गर्ने क्रम सुरू

रंगशाला निर्माणका लागि पछिल्लो समय केही सहयोग पनि फाउन्डेसनले पाएको छ । इजरायलमा रहेका नेपाली संघसंस्थाले ९ लाख ९१ हजार ८ सय ४१ र दक्षिण कोरियाको फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समितिले ७ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

अमेरिका बसोबास गर्ने गोपीबहादुर विष्ट र उनकी श्रीमती धनमाया विष्टले ८४ वर्ष पुगेको अवसरमा ५१ हजार रूपैयाँ सहयोग गरेका छन् ।

कतारको दोहास्थित फोर सिजन कम्पनीमा कार्यरत नेपालीले ८७ हजार ५ सय १० रूपैयाँ, काठमाडौँ कपनका ९५ वर्षीय देवबहादुर देउजाले ५० हजार सहयोग गरेको फाउण्डेसनले जनाएको छ ।

काठमाडौँ सीतापाइलाका प्रल्हाद पाण्डे र गोमा पाण्डेले ५० हजार, साउदी अरबस्थित अल मराई कम्पनीमा कार्यरत नेपालीले १ लाख ९ हजार ३ सय ४३, नवलपरासी गैँडाकोट नगरपालिका–१६ की तुलसीदेवी सापकोटाले ५३ हजार ७ सय ६३ रूपैयाँ, मलेसियाको ओसराम अप्टु सेमी कन्डक्टर्स कम्पनीमा कार्यरत नेपालीले १ लाख १५ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment