Comments Add Comment

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, प्रहरी चौकी पनि डुबानमा

२६ असार, पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ ।

बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा  महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र पोखरा- २६ पैतेडाँडामा एकजना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनकै परिवारका ३ जना र २ जना पाहुनाको मृत्यु भएको छ । ५० वर्षीय टंकबहादुर,  उनकी पत्नी ४५ वर्षकी सोममाया थापा, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान थापा र छिमेकी ११ वर्षीया इशिका थापाको मृत्यु भएको छ । टंकबहादुरका साली सरस्‍वती श्रेष्ठका एक छोराको पनि मृत्यु भएको छ ।

घरमा जन्मदिन मनाउने कार्यक्रम भएकाले टंकबहादुरको घरमा आफन्त र छिमेकी पनि जम्मा भएका थिए । एक्कासी पहिरोले घर बगाउँदा टंकबहादुरकी छोरी पिंकी, आशा, पिंकीकी छोरी पिरिशा, टंकबहादुरकी साली सरस्वती  र उनको एक छोरा, टंकबहादुरका छिमेकी अनिश तामाङ, रशी थापा र रश्मी थापा घाइते भएका छन् ।

हेम्जा मेलबोटमा गएको पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । ‘त्यहाँ राति करिब साढे १ बजेको समयमा पहिरो गएको सूचना पाएपछि हाम्रो टोली त्यहाँ पुग्यो । त्यहाँबाट ७ जनालाई सकुशल उद्धार गर्न सफल भयौं,’ प्रवक्ता हमालले भने ।

पोखरा महानगर २६ पैतेको डाँडामा गएको पहिरोमा परी ४५ वर्षीय विवेक परियारको मृत्यु भएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ‘घटनाको समयमा घरमा ४ जना हुनुहुँदो रहेछ । पहिरो आएको थाहा पाएपछि अरु भाग्नुभयो । तर, उहाँले ज्यान गुमाउनुभयो,’ पोखरा २६ वडाध्यक्ष नारायण बरालले भने ।

प्रहरी चौकी पनि डुबानमा

पोखरा २७ डाँडाको नाकमा रहेको इलाका प्रहरी कार्यालय डुबानमा परेको छ । २ तले भवनमा रहेको उक्त प्रहरी चौकीमा निरन्तर बर्षातका कारण डुबानमा परेपछि स्थानान्तरण गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

‘निरन्तर बर्षातले प्रहरी चौकीको तल्लो तला नै डुबानमा परेको छ । क्षति धेरै हुने र काम गर्न कठिनाइ हुने देखिएकाले अहिले सबै सामान माथिल्लो तलामा सारेका छौं,’ उनले भने । चौकी नै डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी जवानहरु बाहिर निस्केर बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment