Comments Add Comment

सर्लाहीको लखनदेही खोलामा आएको बाढी गाउँ पस्यो, २७ घर डुबानमा

२८ असार, जनकपुरधाम । लगातारको वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ परिवारको घर डुबानमा परेको छ । बाढीका कारण पाँच व्यक्तिको घर भत्केर क्षतिग्रस्त हुँदा उनीहरु छिमेकीको शरणमा बस्न बाध्य भएका छन् ।

प्रहरीका अनुसार मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको हो । घर डुबानमा परेपछि ती परिवारका १ सय ४७ जना घरबाट विस्थापित भएका छन् उनीहरु छिमेकीको घरमा बसिरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

लगातारको वर्षाले ईश्वरपुर नगरपालिका ९ बस्ने सिताराम महतोको खपडाले छाएको एक तले घरमा पानी पस्दा घर भत्केको छ । घर भत्केपछि उनको ७ जनाको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।

इश्वरपुर नगरपालिकाकै वडा नम्बर १५ बस्ने विजय दासको खपडाले छाएको बाँसको टाँटी भएको कच्ची घर अविरल परेको वर्षाको कारण भत्किँदा पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

यस्तै, चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर बस्ने अब्दुल बाकेको खपडाले छाएको कच्ची घर र खरले छाएको फुसको घर अबिरल वर्षाका कारण भत्केको प्रबक्ता कुँवरले बताए ।

मलगंवा नगरपालिका ६ बस्ने नन्दकिशोर रायको खपडाले छाएको कच्ची घर पनि अविरल वर्षाका कारण भत्केको छ । बाके र रायको परिवार भने आफ्नै अर्काे घरमा बसिरहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता कुँवरका अनुसार बिष्णु गाउँपालिका १ बस्ने रामधियानी राउतको बासको टाँटी भएको खपडाले छाएको कच्ची घर पनि अबिरल बर्षाको कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

सप्तरीमा घरमा पस्न थाल्यो पानी

लगातारको वर्षाले सप्तरी सदरमुकाम राजविराजको बिभिन्न सडक जलमग्न बनेको छ । अदालत रोड, तेतरी गाछीसहितका सडकमा पानी पसेको छ । वडा नम्बर २ र ५ का धेरै व्यक्तिको घरमा पानी पसेको छ ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १४ गोबरगाढाको पुरै बस्तीमा पानी पसेको छ । पानीले डुबान भएपछि वस्ती नै घेरिएका छन् । यहाँ झण्डै ८० परिवारका २ सय जनाभन्दा बढी व्यक्ति घेरिएका छन् ।

यही नगरपालिकाको वडा नम्बर १३ रम्पुरा मल्हनियाँ, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ सहितका ठाउँमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

बिहीबारदेखि वर्षा हुन सुरु भएपनि शुक्रबार थामिएको थियो । तर शनिबार बिहानदेखि पुनः वर्षा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment