+
+
Shares

एक वर्षदेखि घिस्रिएको बीपी राजमार्ग : यात्रुलाई दशैंमा घर जाने चिन्ता

एक वर्षको अवधिमा इस्टिमेट, कार्यालय स्थापना, डिजाइन, सामग्री परीक्षण तथा बढी क्षति भएको स्थानमा ग्याबिन जाली भर्ने काम मात्र भएको छ । यात्रुलाई दशैंमा घर जान नपाइने हो कि भन्ने चिन्ता छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ १७ गते २२:२२

१७ भदौ, काभ्रेपलाञ्चोक । गत वर्ष १२ असोजमा रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग क्षत–विक्षत बनायो । काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेसीदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्ड बगाउँदा यात्रुले ठूलो सास्ती बेहोरे ।

अघिल्लो दशैंको मुखैमा बगेको राजमार्ग त्यसयता घिसीपिटी चलेको छ । तर दिगो रूपमा सवारी आवतजावत नहुँदा यात्रुहरूलाई यो दशैंमा पनि घर जान नपाइने चिन्ताले छोडेको छैन ।

एक वर्षअघि बाढी-पहिरोले बगाएको राजमार्गको स्थायी संरचना निर्माण अहिलेसम्म सुरु भएको छैन ।

एक वर्षको अवधिमा इस्टिमेट, कार्यालय स्थापना, डिजाइन, सामग्री परीक्षण तथा बढी क्षति भएको स्थानमा ग्याबिन जाली भर्ने काम मात्र भएको छ । स्थायी संरचना दशैंपछि मात्र सुरु गर्ने निर्माण कम्पनीहरूले जनाएका छन् ।

ठेक्का पाएका कन्सल्ट्यान्टहरूले अहिले सडकको डिजाइन, सडकमा प्रयोग हुने सामग्रीहरूको ल्याबटेस्ट तथा खोलाको सतहमा नै सडक रहेका स्थानमा ग्याबिन जाली भर्ने काम गरेका छन् ।

भकुण्डेबेसीदेखि चारसयवेसीसम्म ठेक्का पाएको लामा–नवकान्तिपुर जेभीले भकुण्डेमा कार्यालय खोलेर काम सुरु गरेको इन्जिनियर युरेन्द्र थापाले जानकारी दिए । कार्यालय स्थापना भएपछि आफ्नो एरियाभित्र परेका केही खाल्डाखुल्डी पुरेको उनले बताए ।

उनका अनुसार कम्पनीमार्फत स्थायी निर्माणको काम भने दशैंअघि सुरु हुँदैन । ‘दशैंअघि काम सुरु गर्न गाह्रो छ । डिजाइन तथा सामग्रीको ल्याबटेस्ट गरिरहेका छौं । तर आफ्नो एरियामा सडक अवरुद्ध हुन भने दिंदैनौं’, इन्जिनियर थापाले भने ।

यो खण्ड ११. ८ किलोमिटरको छ । यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

त्यस्तै, चारसयबेसीदेखि डालाबेसीसम्मको सडक खण्ड निर्माणको ठेक्का पाएको खानी-कमलजित-एवान निर्माण सेवाका इन्जिनियर दिनेश पौडेलका अनुसार निर्माण कम्पनीले रोशी-९ मा रहेको पिल्थलीबेसीमा कार्यालय सञ्चालन गरेर काम सुरु गरेको छ ।

उक्त निर्माण कम्पनीले पनि निर्माणमा प्रयोग हुने सामग्रीको ल्याबटेस्ट तथा आवश्यक मेसिन जम्मा गरिरहेको बताएको छ ।

‘बर्खा भएकोले काम सुरु नभएको हो । दशैंलगत्तै गर्छौं’, इन्जिनियर दिनेश पौडेलले भने । उनका अनुसार दशैंमा सडक बन्द नहुने गरी विभिन्न स्थानमा स्काभेटर तथा जेसिबी राखिएको छ ।

‘सडक अवरोध हुनेबित्तिकै खुलाइहाल्छौं । हामीले ठेक्का पाइसकेपछि विभिन्न समयमा बन्द भएको सडकसमेत आफ्नै इक्विप्मेन्टले खोलेका हौं’, पौडेलले भने ।

एक वर्षमा यो खण्ड धेरै पटक अवरुद्ध भयो । रोशी-९ को पिन्थलीबेसी तथा मंगलटारको फेदीखोला र साङखोला, रोशी-११ को कालढुंगालगायत क्षेत्रमा पटकपटक खहरेखोलाले सडक अवरुद्ध भएको थियो ।

यो खण्ड ८.५ किलोमिटरको छ । यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको छ ।

बढी मोड र अप्ठेरो रहेको डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माण दुई खण्डमा हुने भएको छ । डालाबेसीदेखि पिप्लेसम्मको खण्ड सडक डिभिजन भक्तपुर तथा पिप्लेदेखि बर्खे खोलासम्म जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सडक निर्माण गर्नेछ ।

डालाबेसीदेखि पिप्लेसम्मको सडक निर्माणको लागि टेक्निकल इभ्यालुसन सकेर आगामी दुई हप्ताभित्र निर्माण कम्पनी छनोट हुनेछ भने जाइकाले जिम्मा लिएको पिप्लेदेखि बर्खे खोलासम्मको खण्ड सर्भे र डिजाइनको काम भइरहेको भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए ।

बर्खेखोला-नेपालथोक खण्ड सडक डिभिजन कार्यालय खाल्टेअन्तर्गत काम हुनेछ । उक्त सडक निर्माणको लागि खरीढुंगा-घिसिङ-क्षितिज जेभीले ठेक्का पाएको छ । उक्त क्षेत्रमा पनि सामग्रीको ल्याबटेस्ट तथा आवश्यक मेसिन जम्मा गर्ने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेश गत वर्षको भन्दा राजमार्ग राम्रो भएको र सानोतिनो बाढीले अवरुद्ध नहुने बताउँछन् । भत्किएको स्थानको सडकको उचाइ अस्थायी फिलिङ गरी बढाइएको उनको दाबी छ ।

लगभग बर्खा थेगेको अस्थायी संरचनालाई बाढीबाट क्षति हुन नदिन निर्माण व्यवसायीसँगको सहकार्यमा डिभिजन कार्यालयले इक्युपमेन्ट ठाउँठाउँमा राखेको योगेशले बताए ।

‘गत वर्षको भन्दा सडकको उचाइ बढाइएको छ । जोखिम स्थानमा ग्याबिनमा जाली भरेर संरचना बनाइएको छ’, उनले भने ।

निर्माणको काम खोलामै गएर गर्नुपर्ने भएकोले मनसुन कम हुनेबित्तिकै स्थायी रूपमा सडक निर्माण सुरु हुने उनको भनाइ छ ।

डिभिजन प्रमुख योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर सडक र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म चार किलोमिटर सडकखण्ड पुनर्निर्माणको काम हुने बताए ।

क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणको लागि काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब गरी सरकारबाट ८ अर्ब ५० करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ ।

डिभिजन सडकले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण साविकको सडक पुरानो ट्रयाकबाट नै गरिने भएको छ । राजमार्ग पुनर्निर्माण हुँदा कम्तीमा दुईवटा गाडी सहज रूपमा गुड्ने गरी ७ मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसीसी पर्खाल लगाएर सडक निर्माण गरिने सीडीई योगेशले जानकारी दिए ।

कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउनेछ ।

जोखिम कायमै

बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भदौ मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले यस्तो निर्णय गरेका हुन् ।

मनसुन सक्रिय रहेको हुँदा कुनै पनि समयमा बाढी-पहिरो जान सक्ने भन्दै रातिको समयमा सवारी साधन चलाउन रोक्ने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

‘गत वर्षको वर्षातले बनाएको क्षत–विक्षत बीपी राजमार्गमा कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राति सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘त्यसपछि मौसमविद्‌को सल्लाहमा निर्णय गर्नेछौं ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?