+
+
Shares

उत्तराखण्ड विपद्‌ले सिकाएको पाठ

उत्तराखण्डमा १९० वर्ष अगाडि पनि विनाशकारी बाढी आएको थियो । त्यही बाढीले थुपारेको गेग्रानमा बसेको बस्ती मंगलबारको बाढीले तहसनहस बनायो । विज्ञहरुले यो घटनालाई जलवायु परिवर्तनको असर ठानेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको भीषण पहिरो र बाढीमा पाँच जनाको मृत्यु र कम्तीमा ६० जना बेपत्ता भएका छन्।
  • खीरगंगा नदीको अचानक उग्र बहावले धराली बजारमा ठूलो क्षति पुर्‍याएको छ र उद्धार कार्यमा सेना र अर्धसैनिक बल संलग्न छन्।
  • जलवायु परिवर्तनका कारण हिमताल फुट्नाले बाढी र पहिरो बढेको छ र नेपाल तथा भारतमा यस्ता घटनाहरू सामान्य भइसकेका छन्।

२१ साउन, काठमाडौं । नेपाल र चीनसँग सिमाना जोडिएको भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार आएको भीषण पहिरो र आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेका भिडियोहरूमा स्थानीय बासिन्दाहरू चिच्याउँदै एक अर्कालाई चेतावनी दिँदै ज्यान जोगाएर भाग्न आग्रह गरिरहेको सुन्न सकिन्छ । ती भिडियोहरूमा होचा घर तथा बहुतले भवनहरू गेग्रानयुक्त बाढीको तेज बहावले भत्किएको र पुरिएको देखिन्छ ।

उत्तराखण्ड सरकारले राहत तथा उद्धार कार्य तीव्र रूपमा चलाइएको दाबी गरेको छ । उद्धार कार्यमा राज्यको विपद् व्यवस्थापन बलसँगै सेना र अर्धसैनिक बलको समेत सहयोग लिइएको छ ।

बुधबार दिउँसो भारतीय मिडियाहरुमा आएका विवरण अनुसार सो घटनामा परी पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तिमा ६० जना बेपत्ता छन् ।

यस घटनामा सबैभन्दा धेरै चर्चा पाएको भनेको खीरगंगा नदी हो, जुन भागीरथी नदीमा मिसिन्छ । उत्तरकाशी जिल्लाको धराली बजार हुँदै बग्ने यो नदी गंगोत्री धामतर्फ जाने महत्वपूर्ण बिन्दु मानिन्छ ।

धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो प्राकृतिक सुन्दरताको लागि प्रसिद्ध छ । यो चारधाम यात्रामार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ ।

खीरगंगा नदीको उग्र रूप

खीरगंगा नदी सामान्यत: वर्षभर शान्त रूपमा बग्ने गरे पनि वर्षातको मौसममा भने उग्र रूप लिने गर्छ । मंगलबार यसले देखाएको विकराल रूप भूगर्भशास्त्रीहरू र इतिहासकारहरूका अनुसार निकै दुर्लभ थियो ।

भूगर्भशास्त्री प्राध्यापक एसपी सतीका अनुसार सन् १८३५ मा खीरगंगामा आएको बाढी अहिलेसम्मकै भयावह थियो । त्यो समय नदीले सम्पूर्ण धराली बजार पुरेको थियो । ठूलो मात्रामा गेग्रान जम्मा भएको थियो । अहिलेको बसोबास पनि त्यही गेग्रानमाथि बनेको सतीको भनाइ छ ।

पछिल्ला वर्षहरूमा पनि खीरगंगामा पानीको तेज बहावका घटनाहरू भएका थिए । त्यतिबेला केही घर बगे पनि मानवीय क्षति भने नभएको बताइन्छ ।

संवेदनशील क्षेत्र

हिमालय र वातावरणको इतिहास अध्ययन गर्ने विज्ञ डा. शेखर पाठकका अनुसार यो क्षेत्र भूस्खलन र हिमपहिरोका लागि अत्यन्त संवेदनशील मानिन्छ ।

पाठकले बीबीसीसँग भनेअनुसार यो पश्चिमी श्रृंखलामा पर्ने हिमालय क्षेत्र हो । सन् १७०० तिर गढवालमा परमार वंशको शासनकालमा झाला भन्ने ठाउँमा ठूलो पहिरो जाँदा १४ किलोमिटर लामो ताल बनेको थियो । आज पनि त्यसको प्रमाण देख्न सकिन्छ किनभने त्यहाँ भागीरथी नदी बग्न रोकिएजस्तो देखिन्छ ।’

डा. पाठकका अनुसार सन् १९७८ मा धरालीबाट झन्डै ३५ किलोमिटर तल डबराणी भन्ने ठाउँमा बाँध फुट्दा ठूलो बाढी आएको थियो । त्यो बाढी भागीरथी नदीमा मिसिएर बग्दा कैयौं गाउँ नष्ट भएका थिए । त्यसपछिका वर्षहरूमा धराली र वरपरका क्षेत्रमा धेरैपटक आरीघोप्टे वर्षा हुने र पहिरो जाने घटनाहरू भए पनि धेरै मानवीय क्षति भने भएका थिएनन् ।

उनका अनुसार यो नदी पहिले ग्लेसियर हुँदै बाक्लो वन क्षेत्र हुँदै बग्छ । यसको पानी शुद्ध छ । चून मिसिएको पनि छैन । त्यसैले यसलाई खीर नदी भनिएको हो ।

बाढी पहिरोको कारण के हो ?

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा आएको विनाशकारी बाढीको कारण सुरुमा आरीघोप्टे वर्षा भनिएको थियो । तर यो भनाइमा ट्वीस्ट आएको छ र अहिले हिमताल फुटेको अनुमान गर्न थालिएको छ ।

पहिलो चरणमा उत्तरकाशीमा हरेक वर्ष मनसुनका बेलामा भीषण वर्षा हुने गरेकाले सुरुमा आरीघोप्टे वर्षा भएकाले बाढीपहिरो आएको अनुमान गरिएको थियो । तर पछिल्लो मौसमसम्बन्धी तथ्यांक र उपग्रहबाट प्राप्त तस्वीरहरूले फरक संकेत गरेका छन् ।

भारतीय मौसम विभागका अनुसार, प्रभावित क्षेत्रमा परेको वर्षा हल्कादेखि मध्यम खालको मात्र थियो, जुन सामान्यतया आरीघोप्टे वर्षाका कारण आउने बाढीका लागि आवश्यक मापदण्डभन्दा निकै कम हो । जिल्लाको मुख्यालयमा मापन गरिएको अधिकतम वर्षा मात्र २७ मिलिमिटर थियो, जुन आरीघोप्टे वर्षाको मापदण्डसँग मेल खाँदैन ।

भारतीय मौसम विज्ञान विभागका अनुसार साउन १९ र २० गते (अगस्ट ४ र ५) का दिन सो क्षेत्रमा ८ देखि १० मिलिमिटर मात्रै वर्षा भएको थियो ।

मौसमविद्‌हरुका अनुसार आरीघोप्टे वर्षा हुनका लागि एक घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा हुनुपर्छ । तर भारतका अवकास प्राप्त वैज्ञानिक तथा हिमनदीविज्ञ डा. डी.पी. डोभालका अनुसार उत्तराखण्डको बाढीपहिरो प्रभावित क्षेत्र वरपर जम्मा ८–१० मिलिमिटर मात्र वर्षा भएको थियो ।  उनले आजतकसँग भनेका छन्, ‘बाढी दिउँसोको समयमा आएको थियो, त्यसैले आरीघोप्टे वर्षा  सम्भावित कारण देखिँदैन ।’

तर अर्कातर्फ, उत्तरकाशीका जिल्ला विपद् व्यवस्थापन अधिकृत शार्दुल गुसाईंले भने धराली, हर्षिल र सुखीटप क्षेत्रमा भारी वर्षा भएको घटना आधिकारिक रूपमा दर्ता भएको बताएका छन् । उनका अनुसार प्रारम्भिक सूचनाले आरीघोप्टे वर्षा भएको संकेत गर्दछ । तर नयाँ तथ्यांक प्राप्त भएपछि अझ स्पष्ट जानकारी आउनेछ ।

उनले भनेका छन्, ‘त्यो दिनको मौसम सामान्य थियो, केबल हल्का वर्षा मात्र भएको थियो । तर पहाडमा मौसम तुरुन्त परिवर्तन हुने भएकाले के भएको थियो भन्ने यकिन हुन बाँकी छ ।’

बाढीका कारण उत्तराखण्डको धराली बजार क्षेत्रमा भएको क्षति । (तस्वीर : पीटीआई)

उत्तराखण्डमा छन् १३ अति जोखिमयुक्त श्रेणीका हिमताल

हिमताल फुटेर बाढी आउनु भन्नाले हिमनदी वा मोरेन (गेग्रानबाट बनेको प्राकृतिक बाँध) ले थुनिएको पानी अचानक फुटेर बग्नु हो । यसो हुँदा केही घण्टामा नै करोडौं घनमिटर पानी तलतिर बग्छ ।

यस्ता बाढीहरू एकदम तीव्र र शक्तिशाली हुन्छन्, जसले गाउँहरू, सडक, पुल र जलविद्युत् आयोजना जस्ता संरचनाहरू ध्वस्त पार्न सक्छन् ।

उत्तराखण्डका लागि यस्ता घटना गम्भीर चिन्ताको विषय बनेका छन्, किनभने यहाँ १ हजार २६० भन्दा बढी हिमतालहरू छन्, जसमध्ये केहीलाई भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले ‘उच्च जोखिम’को सूचीमा राखेको छ । तीमध्ये ‘ए’ श्रेणीमा राखिएका १३ हिमताल सबैभन्दा जोखिमयुक्त उत्तराखण्ड क्षेत्रमै छन् ।

जलवायु परिवर्तनको कारण

विशेषज्ञहरूका आरीघोप्टे वर्षा होस् वा हिमताल विष्फोट होस्, यी दुवै जलवायु परिवर्तनको असरका कारण बढेका छन् । नेपाल र भारतमा यस्ता घटना सामान्य जस्तो भइसकेका छन् ।

भारतको चमोलीमा सन् २०११ मा आएको बाढीले भयावह रुप लिएको थियो । बरफको ढिस्को खसेर आएको बाढी धौलीगंगामा मिसिएर आएको बाढीमा परी ७० जनाको मृत्यु पुष्टि भएको थियो भने करिब २०० जना बेपत्ता भएका थिए ।

नेपालमा हालै रसुवाको भोटेकोशी, हुम्लाको तिलगाउँ, सोलुखुम्बुको थामेमा भएको बाढी पनि हिमताल र हिमनदीबाट सिर्जित थिए । यी बाढीबाट पनि जनधनको ठूलो क्षति भएको थियो ।

यसैगरी गत वर्ष असार २३ र २४ गते नेपालको कञ्चनपुरमा पनि आरीघोप्टे वर्षा भएको थियो । असार २३ गते बिहान ८:४५ बजेदेखि २४ गते बिहान ८:४५ बजेसम्मको २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको थियो । यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ (सन् १९४७) देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा हालसम्म मापन गरिएको मध्ये सर्वाधिक वर्षा हो ।

यसअघि २०७४ साल साउन २९ गते (सन् २०१७ अगष्ट १३) मा हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

यसैगरी भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (सन् १९९३ जुलाई २०) मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो । त्यसको ३१ वर्षपछि कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो ।

तर पूर्वसूचना र पूर्वसतर्कताले मानवीय क्षति कम भएको अधिकारीहरु बताउँछन् । त्यतिबेला पाँच जनाको मृत्यु भएको थियो । १ हजार ४६० परिवारका ५ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

कल्भर्ट, पुल, सडक, नहर लगायतका संरचनाहरु तहसनहस भएका थिए भने बिसौं बिघा खेतियोग्य जमिन बगरमा परिणत भएको थियो ।

विज्ञहरुका अनुसार पहिले उच्च स्थानमा हिमपात हुन्थ्यो, ग्लेसियर बन्थे, तर वर्षा कम हुन्थ्यो । तर अहिले भने हिमपात घटेको छ र हिउँ पर्ने ठाउँमा पनि वर्षा बढेको छ ।

नेपाल मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमताल बन्ने क्रम बढेको छ । साना र कम जोखिमयुक्त ठानिएका हिमताल समेत फुट्दा बढी क्षति पुर्‍याइरहेको छ ।

नेपालको संसदीय उपसमितिले औंल्याएको जोखिम

राष्ट्रिय सभा अन्तर्गको विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले गरेको जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ अनुसार सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.५ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा हिमालका दुई तिहाइ हिम भण्डारहरु पग्लिने अनुमान गरिएको छ ।

पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस कायम राख्ने सहमति गरे पनि सो लक्ष्य पूरा नहुने चिन्ता छ । किनभने हाल पृथ्वीको तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भइसकेको छ ।

विश्व तापमान वृद्धिले सन् १९८० देखि सन् २०१० सम्मको अवधिमा करिब २५ प्रतिशतको दरले हिमनदीको क्षेत्रफल घटेको छ । ईश्वी २१०० सम्ममा हिमालय क्षेत्रका दुई तिहाइ हिमनदीहरु हराउने अनुमान छ ।

अध्ययन उपसमिति संयोजक डा. अञ्जान शाक्य भन्छिन्, ‘विगतका तीन–चार दशकको तथ्यांक हेर्दा हिमालयमा प्रतिदशक ०.०५ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको छ । यसको असरले खासगरी हिमाल र हिमनदी पग्लिने दर तीव्र भएको छ । १.५ डिग्री तापक्रम नपुग्दै नेपालका हिमताल विष्फोट हुने गरेको छ ।’

हिमालय क्षेत्रमा असर कम गर्न उपसमितिले छिमेकी देशहरुसँग हातेमालो गर्न र क्षतिपूर्ति दाबीका लागि कूटनीतिक पहल बढाउन सरकारलाई सुझाव समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?