Comments Add Comment

जरुरी छ जीवनोपयोगी सीप

युगल गायनका लोकप्रिय जोडी हुन्, उदय-मनिला सोताङ । गीत–संगीतमा मात्र होइन, पारिवारिक जीवनमा पनि उनीहरुको तालमेल लोभलाग्दो छ । उनीहरुको अनुकरणिय पक्ष के छ भने, दैनिक जीवनमा आइपर्ने कतिपय स–सना कामकुरा उनीहरु आफै गर्छन् । जस्तो, केस काट्ने, लुगाफाटो सिलाउने । अर्थात मनिला–उदयको परिवारमा केस काट्नुपर्ने भए पार्लर धाइरनुपर्ने बाध्यता छैन । लुगाफाटो सिलाउने÷मिलाउने कामका लागि पनि अन्यत्र धाउनुपर्ने अवस्था छैन । सामान्य दुःख–बिराममा औषधि पसल वा अस्पताल जानुपर्ने स्थिति पनि छैन । यी सबै काम उनीहरु आफैले गर्छन् ।

उदय सोताङ भन्छन्, ‘म बान्की मिलाएर केस काट्न सक्छु ।’ घरमा लुगाफाटो सिलाउन÷मिलाउन परे पनि उनी अघि सर्छन् । नयाँ लुगालाई परिमार्जन गर्ने सीप छ उनीसँग । यता मनिला सोताङलाई औषधि–उपचारको खास ज्ञान छ । सामान्य दुःख–बिराममा के खाने, के गर्ने उनैले सुझाव दिने गर्छिन् । साथसाथै उनको साथमा केही यस्ता औषधि हुन्छन्, जो कुनैपनि बेला आवश्यक पर्न सक्छ । परिवारका सबै सदस्य भान्साको काममा समेत निपूर्ण छन् ।

अक्सर घरको सानोतिनो काम गर्नका लागि हामी अरुमा निर्भर हुन्छौं । कपाल काट्नु परेमा हजम नै खोज्नुपर्छ, घरको धारा बिग्रिएमा प्लम्बर नै बोलाउनुपर्छ, घरमा बिजुलीको काम परे इलेक्ट्रिशियनलाई गुहार्नुपर्छ ।

त्यती मात्र कहाँ हो र ? बगैंचा स्यहार्ने, मल–माटो र सिंचाई गरिदिने, घरको भाँडावर्तन माझिदिने, खाना पकाइदिने, बालबच्चा स्यहारसुसार गर्नका लागि पनि हामीलाई अरु नै मान्छे चाहिन्छ । आफ्नो काम–व्यवहारले व्यस्त भएको बेला त अरुको सहयोग  लिन आवश्यक हुन्छ नै, तर फुर्सदको बेला पनि हामी अरुमा निर्भर हुन्छौं । किनभने यी काम हामीलाई मामुली र अनुत्पादक लाग्छन् । झन्झटिलो र पट्यारलाग्दो लाग्छ । यही मानसिकताका कारण हामी ति घरायसी कामहरु गर्न चाहँदैनौं, जो व्यवहारिक जीवनका लागि अति आवश्यक हुन्छ ।

बद्लिदैछ सोंच

लामो समयको लकडाउनले हामीलाई थुप्रै पाठ सिकाएको छ । खासगरी दैनिक जीवनका व्यवहारिक कुराहरु कति महत्वपूर्ण छ भन्ने बोध गराएको छ ।

लकडाउनका क्रममा बजार ठप्प भयो । रेष्टुरेन्ट बन्द, पार्लर बन्द, पसल बन्द, शैलुन बन्द, ट्रेलर बन्द । मेडिकल बन्द । हिँडडुल गर्ने असहज भएपछि न प्लम्बर आउने, न इलेक्ट्रिशियन ।

यस्तो परिस्थितीमा धेरैले त्यही काम गरे, जुन उनीहरुले मामुली र अनुत्पादक ठानेका थिए । कतिले घरमै केस काट्न  सिके, भान्साको सामाग्री प्रयोग गरेर फेसियल गर्न सिके, आफ्नै भान्सामा मीठो–मसिनो परिकार बनाउन सिके, सागसब्जी र फूलहरु रोप्न–स्यहार्न सिके, घरमा बिग्रिएका सामाग्रीहरु मर्मत गर्न सिके ।

दैनिक जीवनमा आइपर्ने यी व्यवहारिक कामहरु हामी आफै गर्न सक्छौं । साथै यि कामहरु आफैमा महत्वपूर्ण पनि छन् । यसले हाम्रो घरको आर्थिक व्यायभार घटाउने मात्र होइन, हामीलाई जागरुक र सक्रिय पनि बनाइराख्छ । आफ्नो दैनिकीलाई सहज, जीवनलाई कुशलतापूर्वक सञ्चालन गर्नका लागि पनि यस्ता व्यवहारिक सीप  हुन जरुरी छ । यस किसिमको अभ्यासले हामीलाई परनिर्भर बन्न दिदैन । कामप्रति लगाव र सम्मान भाव बढ्छ ।

यसले पारिवारिक संस्कार पनि राम्रो हुन्छ । हाम्रा बालबच्चाले यस्तै जीवनोपयोगी गुण र सीप विकास गर्छन् । भोलिका दिनमा उनीहरु सानोतिनो समस्यामा अल्झनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment