Comments Add Comment

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् ।

आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा हानी पुर्‍याउने कार्य नियन्त्रण गर्न समेत निर्देशन दिएका छन् ।

पशुपतिनाथका विभिन्न स्थानमा रहेका जग्गाको अतिक्रमणबारे निर्देशन दिँदै मन्त्री भट्टराईले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने हटाउनु हो ।’

खासगरी गोठाटारस्थित कोषको जग्गा अतिक्रमण भएको गुनासोप्रति मन्त्री भट्टराईले चासो राखेका थिए ।

उनले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन समेत दिएका छन् । भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगत हरेक योजना सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवा राखेर सार्वजानिक सुनुवाई मार्फत अगाडि बढाउन निर्देशन समेत दिए ।

विचौलियाको स्वार्थमा काम हुने गरेको गुनासो सुनिने गरेको समेत उनले बैठकमा बताएका थिए । मन्त्री भट्टराईले पुस २६ मा करिव ८ घण्टा पशुपति क्षेत्रमा स्थलगत भ्रमण गरेका थिए ।

सो भ्रमणका क्रममा तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए । त्यसको कार्यान्वयन अवस्थाबारे मन्त्री भट्टराईले कोषको कार्यलयमै समीक्षा बैठक राखेका हुन् ।

पशुपतिलाई राष्ट्रिय गौरवको आयोजना भित्र राखेर राष्ट्रलेे प्राथमिकताको सुचीमा राखेको स्मरण गर्दै उनले पशुपतिमा हुने लगानीले पशुपतिलाई पर्यटकीय गन्तव्यका रुपमा थप परिष्कृत बनाउने उल्लेख गरे ।

उनले यो वर्ष साउनको दोस्रो हप्ताभित्रै बजेट ल्याउन पनि निर्देशन दिए । कोषले लकडाउनको समयमा डेक पार्किङ, वेद विद्याश्रम, डिअर पार्क (मृग उद्यान), भण्डारखाल पार्क, बहुउद्येश्यीय सभाहललगायत निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको उक्त अवसरमा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment