News Summary
Generated by OK AI. Editorially reviewed.- वाग्द्वारको शुद्ध जल पाइपलाइनमार्फत पशुपति क्षेत्रमा ल्याएर भगवान् पशुपतिनाथको अभिषेक गर्ने योजना अघि सारिएको छ ।
- यो सनातन यात्राको मूल उद्देश्य सम्पूर्ण मानव चेतनालाई आफ्नो मूल स्रोतसँग पुन: जोड्नु हो ।
- नेपाललाई आध्यात्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गरी \\\'नेपाल भ्रमण वर्ष २०८५\\\' लाई सफल बनाउन यस अभियानले योगदान पुर्याउनेछ ।
वाग्द्वारदेखि पशुपतिनाथ मन्दिरको तटहुँदै प्रवाहित हुने बागमती केवल नदी मात्र होइन, यो नेपालको आत्मा, सनातन सभ्यता, सांस्कृतिक चेतना र आध्यात्मिक अस्तित्वको जीवनधारा हो । ऋषि, योगी, तपस्वी र साधकहरूको तपशक्तिले अभिषिक्त चेतनाको प्रवाह हो । यही बागमतीलाई केन्द्रमा राखेर आरम्भ ‘बागमती दिव्य चेतनाको महायात्रा’ वास्तवमा जल, जीवन, संस्कृति, प्रकृति र मानव चेतनाको पुनर्जागरण आवश्यक छ ।
आजको विश्व तीव्र भौतिक विकासको यात्रामा अगाडि बढिरहेको छ । विज्ञान र प्रविधिले मानव जीवनलाई सहज बनाएको छ, तर मानिसको मन अशान्त, असन्तुलित र दिशाहीन बन्दै गएको छ । मानसिक तनाव, हिंसा, पर्यावरणीय संकट, सांस्कृतिक विचलन, आत्मिक शून्यता र सामाजिक विघटनले आधुनिक मानव जीवनलाई संकटतर्फ धकेलिरहेको छ । यस्तो अवस्थामा नेपाल जस्तो ऋषिभूमिले फेरि विश्वलाई आध्यात्मिक मार्ग देखाउनुपर्ने आवश्यकता बढेको छ ।
नेपाल कुनै सामान्य भूभाग होइन; यो तपोभूमि, योगभूमि, देवभूमि र ज्ञानभूमि पनि हो । यहाँका हिमाल, नदी, वन, मठ–मन्दिर, संस्कार र सभ्यताले हजारौं वर्षदेखि विश्वलाई आध्यात्मिक ऊर्जा प्रदान गर्दै आएका छन् । त्यसैले वाग्द्वारदेखि पशुपतिनाथ हुँदै यो जलयात्रा केवल धार्मिक मात्र नभएर विश्व मानवताका लागि सनातन चेतनाको सन्देश बन्न सक्छ ।
सनातन यात्राको मूल उद्देश्य केवल वाग्द्वारको जल ल्याएर भगवान पशुपतिनाथको अभिषेक गर्नु मात्र होइन, सम्पूर्ण मानव चेतनालाई आफ्नो मूल स्रोतसँग पुन: जोड्नु हो । वाग्द्वारबाट निस्किएको जल केवल पानी होइन, त्यो हिमालयको पवित्रता, ऋषि परम्पराको तपशक्ति, प्रकृतिको जीवनशक्ति र नेपालको आध्यात्मिक सभ्यताको प्रतीक हो । जब त्यही जल पशुपतिनाथमा अर्पित हुन्छ, तब त्यो केवल अभिषेक हुँदैन, त्यो राष्ट्रको आत्मशुद्धि, सांस्कृतिक पुनर्जागरण र चेतना जागरणको प्रतीक बन्छ ।
यो बाह्यभन्दा बढी आन्तरिक यात्राको प्रतीक हो । यो मानिसलाई आफ्नै मूलसँग जोड्ने, आत्मचिन्तनतर्फ उन्मुख गराउने र प्रकृतिप्रति श्रद्धाभाव जागृत गराउने महान् अभियान बन्न सक्दछ ।
वैदिक संस्कृतिमा जललाई देवत्वको स्वरूप मानिएको छ । जल जीवन, शुद्धता र चेतना हो । जब मानिस जलप्रति श्रद्धा गर्न सिक्छ, तब उसले प्रकृतिप्रति पनि सम्मान गर्न सिक्छ । यही चेतनाले अभियानलाई जल संरक्षण, नदी शुद्धीकरण र पर्यावरणीय जागरणसँग प्रत्यक्ष जोड्दछ ।
आज बागमती सहित अन्य नदीहरू प्रदूषण, अतिक्रमण र उपेक्षाको पीडामा छट्पटाइरहेका छन् । कुनै समय सभ्यता बोकेका यी पवित्र नदीहरू आज फोहोर, ढल र अव्यवस्थाको शिकार बनेका छन् । त्यसैले ‘बागमती शुद्धीकरण’ लाई केवल सरकारी कार्यक्रम होइन, आन्दोलनकै स्वरूप दिन आवश्यक छ ।

वाग्द्वारबाट शुद्ध जल पाइपलाइनमार्फत पशुपति क्षेत्रमा ल्याउने योजना यही चेतनाको व्यावहारिक रूप हो । यो योजना केवल धार्मिक महत्वको होइन, पर्यावरणीय र सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक अभियान पनि हो ।
यो महायात्रा जल, जंगल, जमीन, जडीबुटी, जवानी र जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको अभियान हो । जल जीवनको आधार, जंगल प्रकृतिको प्राण, जमीन सभ्यताको आधार, जडीबुटी स्वास्थ्यको शक्ति, जवानी राष्ट्रको ऊर्जा र जीवन सम्पूर्ण अस्तित्वको सार हो । जब यी सबै संकटमा पर्छन्, समाज र सभ्यता पनि संकटमा पर्छन् । त्यसैले यो यात्रा प्रकृति र मानव बीचको सन्तुलन पुनर्स्थापित गर्ने अभियान हो ।
बागमतीलाई स्वच्छ राख्नु भनेको केवल नदी जोगाउनु होइन, सभ्यता जोगाउनु पनि हो । जंगल संरक्षण गर्नु भनेको केवल रूख बचाउनु होइन, भविष्य सुरक्षित गर्नु पनि हो । जडीबुटीको संरक्षण गर्नु भनेको केवल वनस्पति बचाउनु होइन, आयुर्वेदिक ज्ञान र परम्पराको पुनर्जागरण गर्नु पनि हो ।
यस यात्राको अर्को महत्वपूर्ण पक्ष युवा पुस्तासँग जोडिएको छ । आजका धेरै युवा आधुनिकताको नाममा आफ्नो मौलिक संस्कृति, संस्कार र आत्मचेतनाबाट टाढिंदै गएका छन् । भौतिक प्रगतिको दौडमा उनीहरू मानसिक अन्योल, निराशा र दिशाहीनताको अवस्थाबाट गुज्रिरहेका छन् । ‘बागमती दिव्य चेतनाको महायात्रा’ युवालाई योग, ध्यान, साधना, संस्कृति, राष्ट्रसेवा र प्रकृतिसँग जोड्ने माध्यम बन्न सक्छ ।
यात्राका क्रममा युवाहरू केवल दर्शक होइन, चेतनाका वाहक बन्नेछन् । स्वयंसेवा, अनुशासन, सहअस्तित्व र आत्मपरिवर्तनको अभ्यासले उनीहरूलाई जिम्मेवार नागरिक, संस्कृतिप्रेमी र राष्ट्रप्रेमी बनाउनेछ ।
“आध्यात्मिक पदयात्रा”, “बागमती सभ्यता संवाद”, “राष्ट्र र संस्कृति संरक्षण सम्मेलन”, “विश्व शान्ति महायज्ञ”, “मानव चेतना सम्मेलन” तथा “पशुपति संवाद” जस्ता कार्यक्रमहरूले यो अभियानलाई केवल धार्मिक नभई राष्ट्रिय जागरण अभियानको रूप दिनेछन् । वैदिक ध्वनि, शंखनाद, दीपयज्ञ र सामूहिक साधनाले सम्पूर्ण वातावरणलाई सात्विक ऊर्जा प्रदान गर्नेछ । मानिसको मनभित्र रहेको नकारात्मकता, हिंसा, द्वेष र अशान्तिलाई सकारात्मक ऊर्जा, करुणा र आत्मबोधतर्फ रूपान्तरण गर्ने शक्ति यस अभियानसँग हुनेछ ।
आध्यात्मिक जागरणले नेपालको पर्यटन क्षेत्रमा पनि नयाँ सम्भावना खोल्नेछ । पशुपति क्षेत्रलाई विश्वस्तरीय आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
विदेशी पर्यटकहरूलाई नेपाल केवल हिमाल र प्राकृतिक सौन्दर्यको देश मात्र होइन, चेतना र आध्यात्मिकताको केन्द्रका रूपमा परिचित गराउन आवश्यक छ । बहुभाषिक आध्यात्मिक पर्यटन गाइड, डिजिटल संग्रहालय, योग–ध्यान केन्द्र, संस्कृत तथा वेद अध्ययन केन्द्र, सांस्कृतिक प्रस्तुति र बागमती आरतीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सके नेपाल विश्व आध्यात्मिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्छ । ‘नेपाल भ्रमण वर्ष २०८५’ लाई सफल बनाउन पनि यस्तो अभियानले विशेष योगदान दिन सक्छ । जस्तै—
- पशुपतिनाथ मन्दिर क्षेत्रको दीर्घकालीन आध्यात्मिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय गुरुयोजना निर्माण गरिनुपर्छ । यसले भावी पुस्ताका लागि व्यवस्थित, अनुशासित र दिगो पशुपति क्षेत्र निर्माण गर्ने आधार तयार गर्नेछ ।
- विदेशी पर्यटकका लागि बहुभाषिक आध्यात्मिक पर्यटन गाइड प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै, नेपालको आध्यात्मिक इतिहास विश्वसामु प्रस्तुत गर्नुपर्दछ ।
- पशुपति क्षेत्रमा सरसफाइलाई सर्वोच्च प्राथमिकतामा राखी नियमित सफाइ अभियान सञ्चालन गरेर यस क्षेत्रलाई प्लास्टिक तथा प्रदूषणमुक्त क्षेत्र घोषणा गरी पर्यावरण मैत्री बनाउनुपर्छ ।
- शवदाह गृह, आर्यघाट तथा किरियापुत्री घरलाई व्यवस्थित र विस्तार गर्दै किरियापुत्री बस्ने स्थानलाई व्यवस्थित बनाउनुपर्दछ । स्नानार्थी तथा दर्शनार्थीहरूका लागि शुद्ध जलद्वारा स्नान गर्न सुरक्षित तथा व्यवस्थित घाट निर्माण गरिनुपर्दछ ।
- बागमती नदी शुद्धीकरणका लागि जैविक, वैज्ञानिक तथा आध्यात्मिक अभियान एकसाथ सञ्चालन गरेर बागमती किनारलाई ध्यान, योग तथा साधनायोग्य सात्विक क्षेत्रका रूपमा विकास गर्नुपर्दछ ।
- विश्वभरिका सनातनी पर्यटकलाई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘एकपटक पशुपति’ राष्ट्रिय अभियान सञ्चालन गरेर विद्यालय, विश्वविद्यालय तथा धार्मिक संस्थासँग सहकार्य गरी पशुपति शैक्षिक भ्रमण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
- पशुपति क्षेत्रको इतिहास, सनातन वैदिक दर्शन तथा संस्कृतिबारे जानकारी दिने डिजिटल संग्रहालय स्थापना गर्नुपर्छ । संस्कृत, वेद, तन्त्र, योग तथा शिवदर्शन अध्ययनका लागि अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गरेर नियमित वैदिक संगीत, भजन, शिवताण्डव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा उत्तम हुनेछ ।
- वाग्द्वारदेखि पशुपतिनाथसम्म आध्यात्मिक पदयात्रा तथा जलयात्रा मार्ग विकास गरेर पशुपति क्षेत्रलाई ‘विश्व आध्यात्मिक चेतना केन्द्र’ का रूपमा स्थापित गर्दै नेपाललाई सनातन सभ्यता, अध्यात्म र सांस्कृतिक पुनर्जागरणको वैश्विक केन्द्र बनाउन पहल गर्नुपर्दछ ।
अर्को महत्वपूर्ण पक्ष; सामाजिक समन्वय र राष्ट्रिय एकता हो । यहाँ जात, भाषा, क्षेत्र, वर्ग वा सम्प्रदायको विभाजन रहने छैन । बागमती सबैको हो, त्यसैले यो यात्रा सम्पूर्ण नेपाली समाजको साझा आध्यात्मिक चेतनाको केन्द्र बन्नुपर्दछ ।
यो अभियानले ‘म नेपाली हुँ’ भन्ने राष्ट्रिय चेतनालाई अझ बलियो बनाउँछ । साधुसन्त, विद्वान, कलाकार, अभियन्ता, युवा, विद्यार्थी, स्थानीय समुदाय तथा विश्वभर रहेका सनातन अनुयायीहरूलाई एकसूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्नेछ । बागमती बगिरहोस्, चेतना जागिरहोस्, सनातन संस्कृति पुनर्जागृत होस् !
प्रतिक्रिया 4