+
+
Shares

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, नयाँलाई अवसर दिइने

लुम्बिनीको मन्त्रिपरिषद् हेरफेर हुनेछ । एमाले्का ४ जना मन्त्री फेर्ने तयारी मुख्यमन्त्री चेतनारायण आचार्यको छ । एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारका एमालेका चार जना मन्त्रीले मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि राजीनामा बुझाउने तयारी गरेका छन् ।
  • एमालेले नयाँ मन्त्रीका लागि डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीको नाम सिफारिस गरेको छ ।
  • मुख्यमन्त्री आचार्यले आगामी असार १ गते बजेट ल्याएपछि मात्रै सरकारको नेतृत्व छाड्ने अडान लिएका छन् ।

२० जेठ,बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्री आचार्यको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउने तयारी गरेका छन् ।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।

एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दवाव दिइरहेको भएपनि मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । नेपाली कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?