News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने अल्पकालीन पूँजीगत लाभकर १० प्रतिशत र दीर्घकालीन लाभकर साढे सात प्रतिशत बनाएको छ ।
- पूँजीगत लाभकर अन्तिम कर हुने वा नहुने विषयमा लगानीकर्ताबीच अन्योल हुँदा धितोपत्र बजारमा उतारचढाव देखिएको छ ।
- आन्तरिक राजस्व विभाग र कर विज्ञहरूले सेयर कारोबारको पूँजीगत लाभकर नै अन्तिम कर भएकाले थप कर नलाग्ने प्रस्ट पारेका छन् ।
२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्था अहिले चर्चामा छ । सरकारले सेयर कारोबारबाट भएको आयमा पूँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले वृद्धि गरी अन्तिम हुने घोषणा समेत गर्यो । तर पूँजीगत लाभकर अन्तिम हुनेबारे आर्थिक विधेयकमा परेको विषयले धेरैलाई अन्योल बनाएको छ ।
त्यसरी अन्योल हुनुको मुख्य कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा जसरी स्पष्ट घोषणा गरे, आर्थिक विधेयकमा त्यस्तो प्रष्ट व्यवस्था नगर्नु हो ।
सेयर लगानीकर्ताले बजेटको पूर्वतयारीमा अर्थमन्त्रीलाई सुझाव दिँदै पूँजीगत लाभकर बढाए पनि अन्तिम घोषणा गरिदिन सुझाएको अर्थमन्त्री आफैंले सार्वजनिक रूपमा जानकारी गराइसकेका छन् । अर्थमन्त्रीले पनि पूँजीगत लाभकर अन्तिम नै भएको स्पष्ट बताइसके ।
तर, पनि आर्थिक विधेयकमा सबै पूँजीगत लाभकर अन्तिम हुने कुरा उल्लेख नभएको भन्दै असन्तुष्टि बढेको छ । लगानीकर्तामा करको अन्योलता हुँदा धितोपत्र बजार सूचक बजेट पछिको पहिलो दिन सोमबार २६ अंक घट्यो । यद्यपि मंगलबार २२ अंकले बढेको छ ।
सरकारले आर्थिक विधेयक मार्फत आयकर ऐन संशोधन गरी पूँजीगत लाभकर अल्पकालीनका लागि १० र दीर्घकालीनको ७.५ प्रतिशत बनाएको छ । यसअघि यस्तो करको दर अल्पकालीन ७.५ र दीर्घकालीन ५ प्रतिशत थियो । एक वर्षसम्म सेयर होल्ड गरेर बिक्री गरेको खण्डमा अल्पकालीन र सो भन्दा धेरै समय होल्ड गरेर सेयर बिक्री गरेको खण्डमा दीर्घकालीन कर लाग्दै आएको छ ।
यसरी सेयर बिक्री गर्दा भएको लाभमा पूँजीगत लाभकर तिरिसकेपछि अन्य कर विगतका वर्षमा नलागेको चार्टर्ड एकाउन्टेन्ट उमेशराज पाण्डेले बताए ।
‘पूँजीगत लाभकर लागिसकेको आयमा पुनः कर लाग्ने अभ्यास छैन,’ उनले भने, ‘नेपालको सन्दर्भमा पनि विगत देखि नै पूँजीगत लाभकर लागेको आयमा अन्य कर लागेको छैन, यो व्यवहारमा विगतदेखि नै अन्तिम थियो, अहिले आएर यसलाई अन्तिम भनिनुले खासै फरक परेको देखिँदैन ।’ पूँजीगत लाभकरको सन्दर्भमा अन्तिम हो वा होइन भन्दा पनि पूँजीगत लाभकर लागेको आय कुन शीर्षकमा वर्गीकरण गरिन्छ भन्ने विषयले महत्त्व राख्ने पाण्डेले बताए ।
‘हाम्रो कानुनले पूँजीगत लाभकर चिन्दैन,’ पाण्डेले भने, ‘सेयर कारोबारबाट भएको लाभलाई गैर व्यावसायिक सम्पत्तिको बिक्रीबाट भएको लाभ हो वा व्यापारिक बिक्रीबाट भएको लाभ हो वा व्यवसायिक सम्पत्तिको बिक्रीबाट भएको लाभ हो भन्नेमा अन्योल हो ।’ सामान्य अर्थमा सेयर कारोबारबाट हुने लाभ व्यवसायबाट भएको लाभ वा लगानीबाट भएको लाभ अन्तर्गत राखेर गणना हुन्छ भन्नेमा अन्योल रहेको उनले बताए ।
सेयर लगानीकर्ताले पनि पूँजीगत लाभकर तिरेपछि पुनः सोही आम्दानीमा कर तिर्ने गरेका छैनन् । ‘पूँजीगत लाभकर तिरेपछि सो आम्दानीलाई आयमा देखाई पुनः आयकर तिर्ने गरेका छैनन्’ एक लगानीकर्ताले भने, ‘तर आगामी दिनमा पूँजीगत लाभकर तिरेको आम्दानीलाई पनि आयमा जोडेर कर तिर्नुपर्ने व्यवस्था गरेमा समस्या पर्ने डरले लगानीकर्ताले अन्तिम घोषणा होस् भन्ने चाहेको हो ।’ मन्त्रीको बजेट भाषणमा आयो तर आर्थिक विधेयकमा अन्तिम भन्ने लेखिएको नदेख्दा अन्तिम होइन कि भन्ने बुझाई परेको उनले बताए ।
आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम नै हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्ने काम प्रक्रियामा रहेको अन्तरिक राजस्व विभागका प्रवक्ता केशव रघुबंशीले बताए ।
‘सेयर कारोबारबाट भएको लाभमा पूँजीगत लाभकरपछि अरू कर लाग्दैन,’ रघुवंशीले भने, ‘विगतका वर्षहरूमा पनि पूँजीगत लाभकर लागेको आम्दानीमा अन्य कर लागेको छैन, सरकारले भनेजस्तै अन्तिम नै हो ।’
नेपालको कानुनले कसरी आम्दानी भएको हो ? व्यवसाय, रोजगार वा लगानी भन्ने मात्रै चिन्ने चार्टर्ड एकाउन्टेन्ट पाण्डेले बताए । ‘सेयर कारोबारबाट आएको नाफा लगानीको आम्दानी हो भने विगत देखि नै अन्तिम कर हो,’ पाण्डेले भने, ‘फेरि कर लाग्दैनथ्यो, तिरिसकेको अवस्थामा पनि कर फिर्ता पाइन्थ्यो । त्यो व्यवसायको आम्दानी हो भने विगतदेखि नै ३९ प्रतिशत कर लाग्न सक्थ्यो ।’
‘लगानीको आम्दानी हो कि व्यवसायको आम्दानी हो भन्नेमा विवाद छ,’ पाण्डेले भने, ‘आर्थिक विधेयकले ४० लाखभन्दा कमको आम्दानीलाई विवरण बुझाउनु पर्ने व्यवस्था खारेज नै गरेको छ । ४० लाखभन्दा माथिको आम्दानी भएर विवरण नै बुझाउँदा पनि सेयर कारोबारीले तिरेको साढे ७ वा १० प्रतिशतभन्दा बाहेक अरु तिर्नुपर्ने हुँदैन ।’
हाल पनि लगानीकर्ताले सेयर बजारबाट वार्षिक ४० लाखभन्दा बढी कमाएको खण्डमा आम्दानी विवरण भरेर र पूँजीगत लाभकर मात्रै तिरेर कर चुक्ता प्रमाणपत्र लिने गरेको एक लगानीकर्ताले बताए । यसको अर्थ वार्षिक १ करोड वा सोभन्दा माथि सेयर बजारबाटै आम्दानी गर्नेको हकमा पनि पूँजीगत लाभकर नै अन्तिम हुनेछ ।
करदाताले विवरणमा समावेश गर्नका लागि अनुसूची ८ फारम भर्छन् । अनुसूची ८ मा फरम भरेपछि सिस्टमले स्वत साढे ७ र १० प्रतिशत गणना गर्छ । त्यो गरिसकेपछि जति नेप्सेले काटेको हो, त्योभन्दा बढी तिर्नु नपर्ने पाण्डेले बताए ।
पूँजीगत लाभकर र आयकरको गणना उदाहरणबाट बुझौँ
जस्तो कुनै करदाताले आर्थिक वर्ष २०८३/८४ मा समग्रमा ११ लाख रुपैयाँ आम्दानी गर्यो, उक्त आम्दानीमा आगामी आर्थिक वर्षमा १० लाखसम्म आयकर लागेन । तर, बाँकी रहेको एक लाखमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।
यदि सो एक लाख आम्दानी धितोपत्रको दोस्रो बजारमा सेयर बिक्री मार्फत भएको हो भने बिक्री गर्दा नै होल्डिङ अवधिका आधारमा ७.५ र १० प्रतिशत लाभकर लाग्यो । उक्त आम्दानीमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिरिसक्ने भएकाले १० प्रतिशत (आयकर स्ल्याबअनुसारको) पुर्याइराख्नु परेन ।
त्यसैगरी कुनै एक व्यक्तिले आगामी आर्थिक वर्षमा रोजगारीबाट १० लाख र सेयर बजारबाट १० लाख कमायो । त्यसमध्ये सेयर बजारमा गरेको आम्दानीमा ७.५ वा १० प्रतिशत कर तिर्यो, अरू तिर्न परेन । रोजगारीबाट भएको आम्दानी आयकरमा भने स्ल्याबअनुसार न्यूनतम सीमाभित्रकै रकम भयो ।
आर्थिक विधेयक अनुसारको आयकर सीमा १० लाखभन्दा धेरै १५ लाखसम्म आम्दानी भएको खण्डमा बाँकी ५ लाखमा १० प्रतिशत आयकर तिर्नुपर्छ । तर बाँकी १० लाख रुपैयाँ सेयर बजारबाटै आम्दानी भएको हो भने, पूँजीगत लाभकर मात्रै तिरे पुग्छ, आयकरमा गणना हुँदैन ।
सोही अनुसार कुल ११ लाख कमाइमा १ लाख सेयर बजारबाट आम्दानी भएको अवस्थामा एक लाखमा १० प्रतिशत (आयकर स्ल्याबअनुसार) लाग्ने भन्ने बुझाइ गलत हो । त्यो १ लाखमा १० प्रतिशत लाग्ने होइन । सेयर बिक्री गर्दा नै पूँजीगत लाभकर तिरिसकेको हुनाले थप २.५ प्रतिशत कर तिरेर १० प्रतिशत पुर्याउनु पर्ने होइन ।
विगत देखिनै नै आयकरको सीमामा पूँजीगत लाभकर तिरेको आम्दानी गणना हुने गरेको छैन । साथै अन्तर्राष्ट्रिय अभ्यासमा पनि पूँजीगत लाभकर लागेको आम्दानीमा पुनः अर्को कर लाग्दैन ।
कर फिर्ता कसरी हुन सक्थ्यो ?
माथिको उदाहरणमा आगामी आर्थिक वर्ष ११ लाख रुपैयाँ आम्दानी गरेको व्यक्तिले सबै रकम सेयर बजारबाट कमाएको हुन्थ्यो भने कर फिर्ता पाउने अवस्था थियो । उक्त व्यक्तिको वार्षिक आयअनुसार कर नलाग्ने सीमा १० लाख रुपैयाँ छ ।
सो अनुसार उसले ७.५ वा १० प्रतिशत पूँजीगत लाभकर तिरेको हुनाले आयकर ऐन २०५८ को दफा ११३ अनुसार फिर्ता लिन सक्ने अवस्था थियो । आगामी आर्थिक वर्षदेखि विवरण बुझाउन नपर्ने व्यवस्थाले त्यसलाई काट्ने चार्टर्ड एकाउन्टेन्ट पाण्डेको भनाइ छ ।
कानुनमा अन्तिम हो भनेर नलेखेको भएपनि अन्तिम नै हो । विगतदेखिको अभ्यास अनुसार अन्तिम हो । कानुन परिवर्तन वा संशोधन भएको छैन । साथै आयकर ऐनको अनुसुची १ मा पनि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर नै तोकिएको छ । त्यसले गर्दा पनि अन्तिम कर भन्नेमा द्विधा हुनु नपर्ने पाण्डेले बताए ।
प्रतिक्रिया 4