Comments Add Comment

गाउँपालिकाका अध्यक्षलाई कांग्रेसले भन्यो– ठोरीको समग्र विकासमा ध्यान देऊ

२८ असार, वीरगञ्ज । ठोरोको समग्र विकासमा ध्यानदिनु पर्ने लगायतका ३० बुँदे माग राख्दै  नेपाली कांग्रेसले ठोरी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका ठोरी गाउँपालिका संयोजक शम्भुराम पौडेल नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाे हो।

ज्ञापनपत्रमा ठोरीको रेड हिलमा केबुलकार सञ्चालनका लागि डीपीआर बनाउनुपर्ने लगायत विभिन्न ३० बुँदे माग राखिएको छ । स्थानीय सरकार गठन भएको ३ वर्षमा एक अर्ब सकिन लागेको भएपनि विकासको अनुभूति सर्वसाधरणले गर्न नपाएकोले ज्ञापनपत्र मार्फत गाउँपालिकाको ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका महासमित सदस्य वृहस्पतिकृष्ण श्रेष्ठले बताए ।

गाउँपालिकामा वैकल्पिक शिक्षा दिन नसकेको, कृषिमा प्राथमिकता दिन नसकेको, कृषकलाई आत्मनिर्भर बनाउन योजना ल्याउन नसकेको, पर्यटनको प्रचुर सम्भावना भएपनि पर्यटकीय क्षेत्रमा सूचिकृत गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ ।

ज्ञापनपत्रमा कोभिड–१९ ले अन्यौलमा परेका विद्यार्थीलाई उत्तम वैकल्पिक स्मार्ट शिक्षा दिने व्यवस्था मिलाउन, ठुटे, ढेडु, ओडार, ओरिया लगायतका खालाहरुको नियन्त्रणका लागि डीपीआर तयार गर्न, ठोरी अस्पतालमा चिकित्सकसहितको अत्यावश्यक सेवाको व्यवस्थापन मिलाउनुपर्ने, शव बहान खरिद गर्न, कतिपय गाउँवासीको सट्टाभर्ना जग्गाको जग्गा धनीपूर्जा नभएकोले त्यसका लागि पहल गरिदिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य वृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला सदस्य प्रकाश खनाल, ठोरी २ का वडा अध्यक्ष किशोर तामाङ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment