Comments Add Comment

अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग पराजित, तेस्रो स्थान उक्लने अवसर गुम्यो

२९ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी एएफसी बर्नमाउथसँग ४-१ ले पराजित भएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा चौथो स्थानको लेस्टर पराजित भएको हो । खेलमा लेस्टरका एक खेलाडीले रातो कार्डसमेत पाएका थिए ।

बर्नमाउथको मैदानमा भएको खेलमा २३औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई पहिले अग्रता दिलाएका थिए र पहिलो हाफमा लेस्टरले उक्त अग्रता कायम राखेको थियो । तर दोस्रो हाफमा खेलले नाटकीय मोड लियो ।

पेनाल्टी गोल, आत्मघाती गोल, रातो कार्ड सबै सम्भव भएको दोस्रो हाफमा बर्नमाउथले ४ गोल गर्‍यो । ६६औं मिनेटमा जुनियर स्टानिस्लासले पेनाल्टीमा गोल गरेपछि बर्नमाउथ खेलमा फर्किएको थियो । लेस्टरका विलफ्रड एनदिदीले कलुम विलसनलाई फाउल गरेपछि बर्नमाउथले पेनाल्टी पायो र त्यसमा स्टानिस्लासले सहजै गोल गरे । त्यसको एक मिनेटपछि नै डोमिनिक सोलान्केले गोल गर्द बर्नमाउथलाई २-१ को अग्रता दिलाए ।

६७औं मिनेटमा सोयन्चु रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टरलाई अर्को धक्का लाग्यो । लेस्टर १० खेलाडीमा झर्‍यो । त्यसैको फाइदामा बर्नमाउथले दुई गोल थप्यो । ८३औं मिनेटमा लेस्टरकै जोनी इभान्सले गोल गर्दा बर्नमाउथले ३-१ को अग्रता बनायो । सोलान्केले ८७औं मिनेटमा व्यक्तितग दोस्रो गोल गरेपछि बर्नमाउथले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

हारपछि लेस्टरले चेल्सीलाई पछि पार्दै तेस्रो स्थान पुग्ने अवसर गुमायो । ३५ खेलबाट ५९ अंकसहित लेस्टर चौथो स्थानमै यथावत छ । समान खेलबाट चेल्सी ६० अंकसहित तेस्रोमा छ । यसअघि चेल्सी शेफिल्डसंग पराजित भएको थियो । अब पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडलाई भने यसले फाइदा पुगेको छ । ३४ खेलबाट युनाइटेडको ५८ अंक छ । अब हुने खेलमा जित हात पारे युनाइटेड तेस्रो स्थानमा पुग्नेछ ।

उता लेस्टरलाई पराजित गरेपछि ३५ खेलबाट ३१ अंक जोडेको बर्नमाउथ अझै रेलिगेसन क्षेत्रमै छ । बर्नमाउथ पूछारबाट तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment