Comments Add Comment

भान्साको कामबाट बालबालिकाले के सिक्छन् ?

दिनभर बालबच्चा घरमा बसिरहेका छन् । उनीहरु फुर्सदिला छन् । फुर्सदको यो क्षणमा के गर्ने ? उनीहरुले मेलोमेसो पाइरहेका हुँदैनन् । निस्क्रिय एवं शान्तसाथ बस्न पनि सक्दैनन् । किनभने बालबच्चा स्वभावैले चञ्चल हुन्छन् । उनीहरुमा अनेकन कौतुहलता जागिरहेको हुन्छ, केही न केही नगरी बस्नै सक्दैनन् ।

अहिलेको अवस्थामा उनीहरु गलत दिशातर्फ मोडिने जोखिम पनि हुन्छ । किनभने मोबाइल, टिभी आदि उपलब्ध भएकाले त्यसमै कार्टुन हेर्न, गेम खेल्न, भिडियो हेर्न तल्लिन हुन सक्छन् । बेलाबखत त मनोरञ्जन गर्नै पर्छ । उनीहरुलाई यस्ता गतिविधिमा पूर्णत रोक्न पनि उचित हुँदैन । यद्यपि हरक्षण मोबाइल, ल्यापटपमा लिप्त भइरहँदा भने त्यसले उनीहरुमा एकदमै नराम्रो प्रभाव पार्न सक्छ ।

त्यसैले फुर्सदको यो समयमा उनीहरुलाई यस्तो काममा व्यस्त राख्न वा प्रेरित गर्नुपर्छ, जो जीवनोपयोगी र रचनात्मक होस् । जस्तो कि, बगैंचाको काम । सागसब्जी रोप्ने, फूल रोप्ने, स्यहार्ने, गोडमेल गर्ने, मल बनाउने । यसले उनीहरुलाई मोवाइलबाट मुक्त मात्र राख्दैन, बोट बिरुवा वा सागसब्जीबारे व्यवहारिक ज्ञान पनि प्राप्त हुन्छ । प्रकृतिमा रमाउन सिक्छन् । माटो र पानीमा खेल्दा बलियो हुन्छन् ।

त्यसैगरी बालबच्चालाई घरभित्रै भान्साको काममा खटाउन सकिन्छ । सागसब्जी केलाउने, पखाल्ने, भाडावर्तन सफा गर्ने, चिया पकाउने जस्ता कामले उनीहरुले व्यवहारिक ज्ञान आर्जन गर्छन् । यसबाट उनीहरुले आफ्नो काम आफै गर्न सिक्छन्, शारीरिक रुपमा सक्रिय हुन्छन्, मौसमी सागसब्जीको गुण एवं स्वाद जान्न सक्छन्, पाककला सिक्छन्, खानेकुरा र पोषणबारे जानकारी पाउँछन् ।

बच्चालाई सजिलो खानेकुरा बनाउने कला सिकाउनु पर्छ । जस्तो चिया पकाउने, अण्डा उसिन्ने । यससँगै उनीहरु क्रमस भान्सामा काम गर्न अभ्यस्त हुन्छन्

जब बच्चा भान्सामा काम गर्न सिक्छन्, त्यसले उनीहरुमा धेरै फाइदा पुग्छ । एक त उनीहरुले श्रम गर्न सिक्छन्, पाककलाको ज्ञान पाउँछन् । सहयोग गर्ने बानीको विकास पनि हुन्छ । यससँगै शैक्षिक ज्ञान समेत हासिल गर्न सक्छन् ।

अन्डा गन्न, आधा कप दुध नाप्ने जस्ता सानोतिनो कामले उनीहरु थाहै नपाई गणितिय ज्ञान आर्जन गर्न पुग्छन् । साथै घोल्ने, जमाउनेदेखि तापमान सम्बन्धी अन्य कुरा भान्सामा व्यवहारिक रुपमै सिक्छन् ।

कुक बुकको रेसेपी पढेर त्यही अनुसार खानेकुरा पकाउन सिकाउन सकिन्छ । यसले उनीहरुको शब्द ज्ञान समृद्ध हुन्छ । साथसाथै शब्द उच्चरणमा पनि सुधार हुन्छ । यसका साथै कुनैपनि निर्देशनलाई कसरी कुशलतापूर्वक पालना गर्ने भन्ने कुरा पनि सिकाउन सकिनेछ ।

जब बच्चा खाना बनाउने प्रक्रियामा समेल हुन्छन्, उनीहरु त्यही खानेकुरा खान उत्सुक रहन्छन् । किनभने आफुले पकाएको खानेकुरा कस्तो भयो होला भन्ने कौतुहलता हुन्छ । यस हिसाबले उनीहरुमा खानेकुरामा रुची जाग्न थाल्छ । साथै कुन खानेकुरामा कस्तो गुण हुन्छ भन्नेदेखि त्यसलाई कसरी प्रयोग गर्ने भन्नेसम्मको जानकारी मिल्छ ।

बच्चालाई किचनमा आमन्त्रित गरेपछि उसलाई सुरक्षित ढंगले काम गर्न पनि सिकाउनु पर्छ । भान्साका सामग्रीहरु जस्तो ग्याँस चुल्हो, मिक्सचर, चक्कु, फ्रिज, ओभन कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment