News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिकाले विषादी वा हानिकारक रसायन झुक्किएर खाने जोखिम बढी हुन्छ किनभने उनीहरूलाई यसको खतराबारे ज्ञान हुँदैन।
- अभिभावकले विषादी सुरक्षित राख्न, बच्चालाई यस्ता वस्तुबाट टाढा राख्न र विषादी सेवन भएमा तुरुन्त अस्पताल लैजानुपर्छ ।
बालबालिकाले झुक्किएर विषादी वा हानिकारक रसायन खाँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ । उदाहरणका लागि, भर्खरै मकवानपुरका एउटा घटना घटेको छ ।यही साउन १३ गते रोपाइँ गर्ने बेला खेतमा हाल्न तयार पारेको झार मार्ने विषादी ११ वर्षीय बालकले खाए ।
झुक्किएर पाराक्वेट नामक विषादी खाएका ती बालक अहिले चितवन मेडिकल कलेज अस्पतालको आईसीयूमा उपचाररत छन् । यस्ता घटना नेपालमा धेरै हुने गर्छ । विषादी वा रसायन सेवनका कारण सास फेर्न गाह्रो हुने, पेट पोल्ने, रगत नै बान्ता हुने, बेहोस हुने जस्ता घातक लक्षणहरू देखा पर्छन् ।
बच्चा किन विषादीको शिकार बन्छन् ?
बालबालिकामा उमेरको जिज्ञासा र त्यसको जोखिमबारे ज्ञान नहुँदा उनीहरूले विषादी तथा हानिकारक रसायन खाने जोखिम बढी हुन्छ ।
विषादीको बट्टा, प्याकेटहरूलाई खेलौना ठानेर खेल्दाखेल्दै पनि खान सक्छन् । साना बालबालिकाले वस्तुको उपयोगिता बुझ्दैनन् । उनीहरू रङ, सुगन्ध वा बनावटमा आकर्षित हुन्छन् र विषादी वा रसायनलाई खानेकुरा ठान्न सक्छन् ।
खेतबारी वा घरायसी प्रयोजनका लागि प्रयोग हुने विषादी, पेट्रोल, थिनर, फिनाइल, हर्पिक, ब्याट्री एसिड, सेल्फस आदि खुला ठाउँमा राख्दा बच्चाहरूको पहुँचमा सजिलै पुग्छ । अभिभावकले विषादी पानीको बोतल, जुस वा खानेकुरा राख्ने बोतल वा भाँडामा राख्दा बच्चाहरू झुक्किन्छन् ।
अभिभावकहरूमा विषादी सुरक्षित राख्ने वा बच्चालाई यस्ता खतरनाक वस्तुबाट टाढा राख्ने चेतनाको कमीले यस्ता दुर्घटना बढ्छन् । प्रयोगपछि बाँकी रहेको विषादी नष्ट नगर्दा वा लेबल नराख्दा बच्चाहरूले सेवन गर्न सक्छन् ।
बच्चाले विषादी खाए तुरुन्त के गर्ने ?
बच्चाले विषादी वा हानिकारक रसायन खाएमा तुरुन्त सही कदम चाल्नु अत्यन्त आवश्यक हुन्छ । गलत उपायले अवस्था झन् बिग्रन सक्छ । त्यसैले बच्चाले विषादी खाएको थाहा भएमा तुरुन्त नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लैजानुपर्छ । पहिलो एक घण्टाभित्र उपचार सुरु गर्न सकेमा ज्यान जोगाउन सकिन्छ । यसमा उसले सेवन गरेको कुरा कति हानिकारक छ भन्ने कुराले पनि निर्भर गर्छ ।
सम्भव भएमा एम्बुलेन्स प्रयोग गर्नुपर्छ, किनभने एम्बुलेन्समा अक्सिजन र प्राथमिक उपचारको सुविधा हुन सक्छ ।
बच्चाले के खाएको हो ? कति मात्रा खाएको हो ? कहिले खाएको हो ? यी तीन प्रश्नको जवाफ संकलन गर्नुपर्छ । यो जानकारी उपचारमा चिकित्सकका लागि सहयोगी हुन्छ।
विषादीको बोतल, कन्टेनर वा लेबल अस्पतालमा लैजानुपर्छ । यसले डाक्टरलाई उपचारका लागि सही एन्टिडोट वा विधि छनोट गर्न सहज हुन्छ ।
यदि बच्चाको मुखमा विषादी बाँकी छ भने सफा कपडाले पुछिदिनुपर्छ । पानीले कुल्ला गर्न वा धुन नदिनुहोस्, किनभने पानीले विष घाँटीतिर बग्न सक्छ, जसले थप जटिलता निम्त्याउछ ।
बच्चाको सास चलिरहेको छ कि छैन, जाँच गर्नुपर्छ । यदि सास रोकिएको छ भने तुरुन्त अक्सिजनको व्यवस्था गर्नुपर्छ र अस्पताल पुर्याउनुपर्छ । बच्चाको होस र शारीरिक गतिविधि पनि जाँच्नुपर्छ । बेहोस भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
नजिकको प्राथमिक स्वास्थ्य केन्द्रलाई फोन गरेर सुविधा र रेफरल सम्भावनाबारे बुझ्नुपर्छ । कुन अस्पतालमा लैजाँदा उपचार प्रभावकारी हुन्छ, सो जानकारी पनि लिनुपर्छ ।
अस्पताल पुगेपछि चिकित्सकले सिफारिस गरेको परीक्षण जस्तैः इन्डोस्कोपी र उपचार तुरुन्त गराउनुपर्छ ।
के नगर्ने ?
बच्चाले विषदी खाएको थाहा पाएपछि बच्चालाई जबरजस्ती औँला हालेर बान्ता गराउनु हुँदैन । बान्ता गर्दा विषादीले नली जलाउन सक्छ, जसले थप क्षति पुर्याउँछ । बच्चाको मुख पानीले कुल्ला गर्न वा धुन दिनुहुँदैन । पानीले विष फोक्सोमा पुग्न सक्छ, जसले फोक्सो सुन्निने र ज्यानलाई नै खतरा हुन्छ ।
दूध, दही, वा अन्य खानेकुरा खुवाउनु हुँदैन । यस्ता पदार्थले विषादीको पाचन प्रक्रिया परिवर्तन गरी थप फैलाउन सक्छ । घरेलु उपचारको प्रयास गरेर समय बर्बाद गर्नुहुँदैन । समय बर्बाद गर्दा बच्चाको अवस्था गम्भीर बन्न सक्छ ।
यस्ता दुर्घटना रोक्न के गर्ने ?
-विषादी, रसायन, वा औषधिलाई बच्चाको पहुँच नपुग्ने ठाउँमा ताला लगाएर राख्ने ।
-विषादी राख्ने ठाउँमा स्पष्ट लेबल राख्ने र बच्चालाई त्यहाँ नजान चेतावनी दिने ।
-प्रयोगपछि बाँकी रहेको विषादी तुरुन्त सुरक्षित तरिकाले नष्ट गर्ने। खेतबारीमा छोड्ने वा घरमा राख्ने गल्ती नगर्ने ।
-विषादी कहिल्यै खानेकुरा राख्ने बोतल, जार वा कन्टेनरमा नराख्ने । सधैं मूल बोतल वा विशेष कन्टेनरमा भण्डारण गर्ने ।
-बालबालिकालाई सानैदेखि विषादी, रसायन र औषधिको खतराबारे सिकाउने । उनीहरूलाई यस्ता वस्तु छुन हुँदैन भन्ने जानकारी गराउने ।
-बच्चालाई एक्लै नछोड्ने, विशेष गरी रसायन राखिएको ठाउँमा ।
-स्कूल र समुदायमा विषादीको सुरक्षित प्रयोग र भण्डारणबारे शिक्षालाई प्राथमिकता दिने ।
थप सुझावहरू
-आपतकालीन नम्बरहरू राख्ने : नजिकको अस्पताल, स्वास्थ्य केन्द्र, वा विषादी नियन्त्रण केन्द्रको सम्पर्क नम्बर सधैं तयारी अवस्थामा राख्ने ।
-अभिभावक र शिक्षकहरूलाई प्राथमिक उपचारको आधारभूत तालिम दिने, जसले आपतकालीन अवस्थामा तुरुन्त कदम चाल्न सकियोस् ।
-घरमा रसायन र विषादीको भण्डारण नियमित जाँच गर्ने र पुराना वा अनावश्यक रसायन नष्ट गर्ने ।
प्रतिक्रिया 4