Comments Add Comment

काठमाडौंमा यसरी सतर्कतासहित चल्दैछन् बिजुली बस (फोटोफिचर)

बढी भाडा नलिई बस चलाउँदै सुन्दर

३० असार, काठमाडौं । सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थाले । यातायात व्यवसायी कम्पनीका दुई छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।

सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

बस नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघको निर्णय अवज्ञा गर्ने क्रम मंगलबारबाट झनै बाक्लिएको छ । विभिन्न यातायात कम्पनीले अब सरकारको निर्णयअनुसार नै बस चलाउन थालेका हुन् ।

तर, अझै पनि बहुसंख्यक बस कम्पनी भने आफ्ना छाता संगठको निर्णय मान्ने पक्षमा छन् । विभिन्न माग राख्दै सार्वजनिक सवारी नचलाउने निर्णय गरेका महासंघअन्तरगत रहेका कम्पनीहरुले बस निकाल्न सकेका छैनन् ।

तर, विगतमा पनि सिन्डिकेटको विपक्षमा उभिएका केही कम्पनीहरुले सेवा दिन थालेपछि यात्रुलाई राहत महसुस भएको छ । उनीहरुले सरकारी मापदण्डको पालना गरेर बस चलाइएको बताएका छन् ।

काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रालिले मंगलबारबाट सेवा थालेको छ । कम्पनीले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको  छ ।

सुन्दरका ४ वटा बसले दुई वटा रुटमा सेवा दिन सुरु गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार कम्पनीले पुरानै भाडादरमा सेवा सञ्चालन गरेको छ ।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर बस चलाउन लागिएकाले बढी भाडा नलिने निर्णय भएको थापाले जानकारी दिए ।

सूर्यविनायक-रत्नपार्क र चक्रपथमा सुन्दरका दुई-दुई वटा विद्युतीय बसले सेवा दिने थापाले जानकारी दिए ।

‘सरकारले तोकेका सबै मापदण्ड पालना गरेका छौं’ थापाले भने,’यात्रुलाई बसमा प्रवेश गराउनुअघि ज्वरो नाप्ने व्यवस्था पनि गर्छौं ।’

कम्पनीले बसलाई डिस्इन्फेक्ट गर्ने काम पनि समय समयमा गरिरहने बताएको छ । बस चढ्ने ज्येष्ठ नागरिकलाई निःशुल्क मास्क पनि वितरण गरिने थापाले जानकारी दिए । उनका अनुसार बस चढ्नेहरुलाई मास्क अनिवार्य गरिएपनि ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment