Comments Add Comment

पर्यटकको ट्र्याकिङ गर्न बन्यो अनलाइन सिस्टम

३० असार, काठमाडौं । सरकारले नेपाल आउने पर्यटकको निगरानीका लागि अनलाइन माध्यमको प्रयोग गर्ने गरी प्रणालीका विकास गरेको छ ।

अनलाइन ट्रयाकिङ सिस्टम तयार पारी सफल परीक्षण समेत गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए । कोरोना भाइरसको महामारी शुरु भएको समयमा नेपाल आएका पर्यटकको निगरानीका लागि हामीले एक प्रणालीको विकास गरेका थियौं, उनले भने, ‘यसको सफल परीक्षण भएको छ ।’

खासगरी पर्यटक विमानस्थलबाट होटेलमा चेक-इन भएपछि उसले अनलाइन माध्यम प्रयोग गरी गर्ने हरेक गतिविधिलाई विभागले आफ्नो संयन्त्रमार्फत निगरानी गर्न सक्ने भएको छ ।

यसले पर्यटक कहाँ जान्छ, कुन होटेलमा बस्छ, कुन पदमार्गमा छ भन्ने पत्ता लाग्नेछ । निर्देशक थापाका अनुसार यसले पर्यटक स्वयमको सुरक्षा अभिवृद्धि गर्नेछ भने सरकारले समेत पर्यटकबारे आवश्यक सूचना सजिलै पत्ता लगाउन सक्ने भएको छ ।

कोरोना भाइरसको संक्रमणको सुरुआती समयमा जहाज चढेर आउने पर्यटकबाट कोरोना आउन सक्ने जोखिम थियो । सोहीकारण यस्तो प्रणालीको आवश्यकता महसुस भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार यो प्रणालीलाई आगामी दिनमा निरन्तरता दिइने भएको छ ।

यसले मन्त्रालयलाई पर्यटकबारे यकिन तथ्यांक राख्न समेत सहयोग पुग्नेछ । मन्त्रालयका अनुसार नेपाल आउने विदेशी पर्यटकको होटेल, लज, रिसोर्टमा बसाईका विवरण प्राप्त गर्न बनाइएको अनलाइन ट्रयाकिङ सिस्टममा आवद्ध हुन सम्बन्धित व्यवसायीलाई आहृवान समेत गरिएको छ ।

३५ जनामा परीक्षण

पर्यटन विभागका अनुसार यो प्रणाली प्रयोग गरेर ३५ जना पर्यटकको निगरानी गरिएको थियो । यसले सफल नतिजा दिएको थियो ।

११ चैतपछि सरकारले लकडाउन घोषणा गरेपछि भने विभिन्न स्थानमा रहेका पर्यटकलाई उल्टो उनीहरुकै मुलुक पठाउनु परेपछि भने अहिले सिस्टम संचालनमा छैनन् ।

विभागका अनसार होटेल, टिम्स कार्ड खरीद हुने बुथ तथा पर्यटकले आफ्नो विवरण दिनुपर्ने निकायसँग विभागको सिस्टमलाई जोडिएको छ ।

जसले गर्दा एउटा पासपोर्ट नम्बरबाहक पर्यटक जुन स्थानमा गएर चेक-इन गर्छ, त्यो पर्यटक त्यहाँ पुगेको छ भन्ने पत्ता लाग्नेछ । यसले यात्रा इतिहास पत्ता लगाउन, सम्भावित नकारात्मक गतिविधिको निगरानी गर्न, आपतिकालीन अवस्थामा पर्यटकको उद्धार गर्न समेत सहयोग पुग्ने बताइएको छ । प्राकृतिक प्रकोप, हिमपातजस्ता समयमा पर्यटकको निगरानीले उनीहरुको सुरक्षा अभिवृद्धिमा ठूलो सहयोग पुग्ने गर्छ ।

अनलाइन टुरिष्ट रेकर्ड एप बन्दै

उता, नेपाल आउने सबै पर्यटकको एकिकृत तथ्यांक राख्न एकिकृत कम्प्यूटर एप्लिकेशनको समेत निर्माण गरिएको छ । यो एप्लिकेशन भने अहिले परीक्षणकै चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो एप्लिकेशन निर्माणमा अध्यागमन विभागसँग समेत सहकार्य गरिएको मन्त्रालयले जनाएको छ ।

यसले विदेशी पर्यटकबाट एउटै संयन्त्रमार्फत पूर्ण विवरण प्राप्त हुने मन्त्रालयको भनाइ छ । अध्यागमन विभागले नेपाल आउने र नेपालबाट बाहिरिने पर्यटकको विवरण राख्छ ।

पर्यटन मन्त्रालय, बोर्ड र विभागले अहिले पनि पर्यटकीय सूचनाका लागि अध्यागमनमै निर्भर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment