Comments Add Comment

बुर्जुवाले चाहेको ‘राजनीतिक स्थिरता’को अन्तर्य

गत असार २५ मा एक हुल सफेदपोश ‘नागरिक समूह’ले सत्तारुढ नेकपाभित्रको विवादलाई लिएर सत्ताको अस्वस्थ प्रतिस्पर्धा भएको र यसले राजनीतिक अस्थिरता निम्त्याउने भन्दै एक थान पुनः एक विज्ञप्ति जारी गरे ।

सरकार फेरिएपिच्छे केही नियुक्तिका लागि डोलायमान भइरहने केही अवसरवादीहरु रहेको त्यस हुलले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नेकपाभित्रका प्रतिपक्ष नेतृत्वलाई अस्थिरता निम्त्याउनेका रुपमा चित्रित गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेर ‘चिन्ता’ व्यक्तको मञ्चन गरी भ्याए ।

कम्युनिस्ट आन्दोलनभित्र अन्तरपार्टी संघर्षको स्वरुपबारे चिनियाँ नेता ल्यू शाओचीले भनेझैं, जब कम्युनिस्ट पार्टीमा अन्तरपार्टी संघर्ष चुलिएर जान्छ, तब यसले विचारधारात्मक बाटो गुमाउने खतरा रहन्छ र जुन समूहले विचारधारात्मक बाटो गुमाउँछ, त्यही समूहलाई पुठ दिँदै दक्षिणपन्थीहरु कम्युनिस्ट विरुद्ध मोर्चाबन्दीमा उत्रिनेछन् । त्यसैले अन्तरपार्टी संघर्षको स्वरुप कम्युनिस्ट विचारधाराबाट च्यूत हुन नदिनमा सबै पार्टी सदस्यहरुको भूमिका र खबरदारीको महत्वपूर्ण भूमिका रहनुपर्दछ ।

नेकपाभित्रको विवादमा उपरोक्त नागरिक समूहको सकृयता र ‘चिन्ता’को प्रपञ्चले प्रष्ट रुपमा यथास्थितिवादको पक्षपोषण गर्नु नै मूल ध्येय रहेको प्रष्ट रुपमा देखिन्छ÷बुझिन्छ । यो कुनै नौलो कुरा पनि रहेन । किनकि, समाजका सफेदपोश बुर्जुवाहरु स्थिरताको नाममा परिवर्तनदेखि डराउने मध्ययुगीन पछौटे चिन्तनले अद्यपि ग्रस्त छन् भन्ने द्योतक हुन् उनीहरुको सकृयता र चिन्ता ।

पछिल्लोपटक जारी नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटीको ४१ जनामा करिब ३० जनासहित अर्का अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल सहितले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा मागेपछि राजनीतिक बजार पछिल्लो चरणमा गर्माएको छ । तर, यो भवितव्य मात्रै थिएन ।

वस्तुतः कोरोना महामारीबीच गत वैशाख ८ गते नै प्रधानमन्त्री ओलीले कतिपय मन्त्रीको असहमतिका बाबजुद पनि पार्टी फुटाउने अध्यादेश जारी गरेपछि चर्किएको विवादको दोस्रो अध्याय मात्रै थिएन, बरु नेकपाभित्र अध्यक्ष ओलीको ‘म नै राज्य हुँ, म नै पार्टी हुँ’ भन्ने लुई चौधौं प्रवृत्तिको पराकाष्ठाको द्योतक समेत थियो ।

तथापि, नेकपाभित्रको समस्या र दुर्दशाको व्याख्यान यो लेखको ध्येय हैन । भनिरहन परोइन, प्रधानमन्त्री ओलीको सत्ता सञ्चालन र पार्टी सञ्चालन जति तन्किँदै गइरहेको छ, केही मण्डली बाहेक आम नागरिकमा निराशा, दुःख र आक्रोशको चाङ चुलिँदै गइरहेको यथार्थ लुकाउनु किमार्थ वाञ्छनीय हुनेछैन ।

भलै, पछिल्लो पटक जारी लिम्पियाधुरा समेटिएको नेपालको नक्शाले ‘राष्ट्रवाद’को बुटी सुघाँइको कामले आफ्नो नालायकी ढाकछोपमा ओली समूह निष्फल प्रयत्नरत देखिन्छन् । तर जब मान्छे भोकको यथार्थमा ओर्लिनेछ तब चुच्चे नक्शा सुघाँइ नाकाम बनिहाल्ने नै छ । प्रधानमन्त्रीको रुपमा र पार्टी अध्यक्षको रुपमा ओलीको नालायकी छोप्ने ढालको रुपमा खडा गरिएको चुच्चे नक्शाको पाश्र्वपक्ष र अन्तर्यबारे व्याख्यान दिनुपनि यो लेखको ध्येय हैन ।

भलै, पार्टी एकताको दौरानमा ओलीले ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा एक लामो अन्तरवार्ता दिँदै भनेका थिए– अब बन्ने पार्टी न त कम्युनिस्ट पार्टी हुनेछ, न त मार्क्सवादी पार्टी नै हुनेछ । त्यसकारण पनि ओलीको सत्ता संकटको गुठियारी टेको बन्ने दुश्प्रयत्न स्वरुप जुर्मुराएको सफेदपोष नागरिक समूहको वैचारिकी अन्तर्य नेकपा कै चुनावचिन्ह घामजत्तिकै छर्लङ्ग छ भन्न सकिन्छ ।

किनकि, जो सफेदपोशहरु उक्त समूहमा आबद्ध देखिन्छन्, वस्तुतः उनीहरुको वैचारिक गंगोत्री मात्रै हैन पुस्ता–पुस्तान्तर देखि नै नेपालमा कम्युनिस्ट राजनीति र माक्र्सवादी विचारधाराको विरुद्धमा कन्दनी कसेर लागिपरेका विगत सजिलै खुट्याउन सकिन्छ ।

यथा, अध्यक्ष ओलीको नेतृत्वमा पछिल्लो समय नेकपाभित्र हुर्किएर मौलाइरहेको जुन विचारधारा र प्रवृत्ति छ त्यो वस्तुतः चीनको कोमिन्ताङ बनेको काँग्रेसबाट पार नलाग्ने भएपछि नेकपाकै फ्र्याक्सनभित्र ती दक्षिणपन्थीहरु आफ्नो विचारधारात्मक भ्रूण परागसेचनार्थ क्रियाशील देखिन्छन् ।

त्यसैको जारी सिलसिला हुन् उनीहरुको छटपटाहटरुपी विज्ञप्ति र बालुवाटार, बुढानीलकण्ठतिरका परेडहरु अनि ओलीलाई दिइएको बाहिरी टेकोको राजनीति ।

नेकपाभित्रको विवाद, रुपमा हेर्दा नेताहरुको स्वार्थसंघर्षको उपजको रुपमा देखिन्छ । तर सारमा यो त्यतिमा मात्रै सीमित छैन । वस्तुतः एउटा माक्र्सवादी वा कम्युनिस्ट पार्टीको विचारधारा, व्यवहार, मूल्य र मान्यता पार्टीको मूल चरित्रको रुपमा आजको नेतृत्वले स्थापित गरिरहेको छ कि विस्थापित गरिरहेको छ ? भन्ने दृष्टिकोणको कसीमा यसलाई हेरिनुपर्छ ।

आजको नेकपा भनेको हिजोको तत्कालीन एमाले र माओवादीभित्र हुर्किरहेका प्रवृत्तिहरुको कुलयोगको सम्प्रेषण हो । यसमा हिजो तत्कालीन एमाले नेतृत्वको रुपमा केपी ओली र माओवादी अध्यक्षको रुपमा पुष्पकमल दाहाल नै मुख्य जिम्मेवार हुन् ।

र, हिजोका नेतृत्वकै निरन्तरताको रुपमा उनीहरु आजको भालेजुधाइका मुख्य अंशियार पनि हुन् नै । तर, यो बिन्दुमा आइपुग्दाको बखतसम्म अढाई बर्षसम्म पनि पार्टी एकता पूर्णरुपमा सम्पन्न नहुनु, पार्टी जीवन मर्नु, कमिटीप्रणाली ध्वस्त हुनु, पार्टी र सरकार सञ्चालनमा मनमौजी पाँडेपजनीको हर्कतमा उत्रिनु र यसले उत्पादन गरेका तमाम विकृतिका चाङहरुको समाधान विचार र आन्दोलनबाट भागेर, विभाजनको बाटो अपनाएर किमार्थ हुने छैन भन्ने कुरा पार्टी भित्रका यो वा त्यो समूहका राजनीतिक त्राण बोकेका दोस्रो तहका नेताहरुमा टड्कारो रुपमै देखिन्छ । पार्टीभित्रको त्यो तब्काको पछिल्लो पहलकदमी कै कारण पनि तात्तिएको नेतृत्व केही मत्थर जस्तो देखिन्छन् ।

तथापि, उपल्लो तहका नेताहरुका जीवनको उत्तरार्दमा आन्दोलनलाई भर्सेलामा पार्ने सत्ताको जिजीविषामाथि विचारको तिलाञ्जली दिन तयार हुने प्रवृत्ति वा आफ्नो सत्ता जिजीविषालाई नै सिद्धान्तको लेपन लाएर सिद्धान्तहीन भड्खालोमा जाक्न तम्तयार नेतृत्व कै कारण ती तमाम बलिदानी, शहादत, रगत र पसिनाप्रति उत्तरदायी हुनुपर्ने एउटा आन्दोलन पतन र च्यूतको दिशामा अग्रसर हुनु पक्कै पनि धेरै चिन्ताको विषय हो ।

र, यसको समाधान ती जिम्मेवार तब्काले बुझ्नैपर्दछ । तर वैचारिक रुपमा गैरविरादरी समूहबाट वा उनीहरुको टेकोमा आफ्नो सत्ता निरन्तरता होला भनेर सोचिलिनु पनि आजको नेतृत्वको आफ्नै अवदान माथिको उपहास हुन जाने नै छ ।

साथै, आजको नेकपाले जे आर्जेको छ, यसको लाखौं भुईंतहमा खटिएका जमातको दुःख, नेतृत्वको समझ र सुभेच्छुकहरुको साथले सम्भव भएको हो । त्यसैले आज राजनीतिक स्थिरता वा सत्ताको अस्वस्थ प्रतिस्पर्धाको चिन्ता मञ्चन गरेर नेकपा भित्रको अमूक पक्षलाई उचाल्ने, अमूक पक्षलाई पछार्ने स्वार्थप्रेरित सफेदपोश मण्डलीको कारण आजको सफलता आर्जिएको हैन ।

बरु उनीहरु त आजको नेकपाभित्रको दक्षिणपन्थलाई पुट दिएर, नेकपाभित्रको लुई चौधौं रुपी नेतृत्वलाई टेको दिँदै सत्ताको नालायकीलाई अर्को चुनावसम्म तन्काएर जनतामा कम्युनिष्टप्रति वितृष्णा फैलाउने वातावरण सिर्जना गरी समग्र कम्युनिस्ट आन्दोलनलाई चौराहामा पछार्ने ध्येयसहित परिचालित गिरोहको रुपमा समेत बुझिलिनु कुनै नौलो कुरा हैन ।

त्यसैले ल्यू शाओ चीले भने झैं आजको नेकपाभित्रको अन्तरसंघर्षमा आजन्म कम्युनिस्ट आन्दोलनको विरुद्धमा उर्जा खर्चेका सफेदपोश नागरिक समूहहरुले दिने दक्षिणपन्थी पुटबारे सजग हुनैपर्दछ । र, यदि कदाचित नेतृत्वले त्यस्तो दक्षिणपन्थी पुटको आडमा लुई चौधौंकालीन सत्ताको महत्वकांक्षा पूर्ति गर्ने कडी उत्पादन गरिरहेका हुन् भने त्यो महाभ्रमको घडा त चाँडै फुटिपनि हाल्ने नै छ साथै इतिहासमा आफैंले गरेका कबोल र आफ्ना अवदानहरु माथिको भद्धा मजाक पनि हुनेछ ।

यसले आन्दोलनलाई कुनै रुपमा क्षति अवश्य पुग्नेछ तर श्रमजीवीहरुको मुक्ति आन्दोलनले चिहानबाट उठेर भएपनि त्यस्तो दक्षिणपन्थ र सत्ता महत्वकांक्षाको हिसाबकिताब चुक्ता त गरिछाड्ने छ ।

त्यसैले सफेदपोष बुर्जुवाहरुले चाहेको राजनीतिक स्थिरताको अन्तर्यलाई खुट्याउन सामथ्र्य राख्ने हो भने परिवर्तनको गति र दिशा कुन बाटोमा अनि कसरी डो¥याउने भन्ने आजको नेकपाभित्रको प्रगतिशील पक्षले जिम्मेवारी लिनैपर्छ ।

कदाचित आज पार्टी र सरकारमा जुन प्रवृत्ति हावी छ, यही प्रवृत्तिको निरन्तरता वा स्थिरताको लागि कामना मात्रै गरिरहने हो भने यसले निम्त्याउने अर्को भयावहपूर्ण दुर्घटना व्यहोर्नको लागि पनि अभिसप्त हुनुपर्नेछ ।

किनकि, यो प्रवृत्तिको स्थिरता भनेको अन्ततः पार्टी जीवन, भविष्य र आन्दोलनको अस्थिरताको बाटो हो । त्यसैले यसलाई स्थायी रुपमा समाधान वा अन्तरपार्टी संघर्षलाई विचारधारात्मक मोड सहित आन्दोलनलाई बचाउने हो भने जीवनको उत्तरार्धमा सत्ता महत्वकांक्षाका लागि आन्दोलनको जुवा खेलिरहेको आजको नेतृत्वलाई विस्थापित गरी दोस्रो पुस्ताले हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नै पर्छ, यसका लागि दोस्रो पुस्ताले हिम्मत नै गर्नुको विकल्प किमार्थ छैन ।

त्यसकारण आजको नेकपाभित्रको अन्तरपार्टी संघर्षमा आफ्नो वैचारिक गंगोत्रीको भ्रूण परागसेचनार्थ सल्बलाएका सफेदपोश नागरिक समूहले आफ्नो वर्चश्व कायमका लागि वा सत्ता दोहनार्थ अकूत स्वार्थपूर्ति खातिर अमूक गुटलाई दिइएको पुठबारे पनि उत्तिकै सचेत हुनैपर्छ ।

(राई नेकपाका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment