Comments Add Comment

‘अबको यात्रा सम्मान र राज्यबाट अभिभावकत्व प्राप्तीका लागि हुनेछ’

विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गइरहेका छौं त्यो चार महिनाअघि सकिइसकेको हुन्थ्यो । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्यहोर्नुप¥यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुप¥यो ।

कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझै कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीहरूलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो ।

कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्यसम्बन्धी चुनौती र दोस्रो आर्थिक चुनौती । स्वास्थ्यसम्बन्धी चुनौतीलाई सरकारले सामना गरिरहेको छ भन्ने हाम्रो विश्वास हो ।

तर आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउनेबाहेक अर्को विकल्प छैन ।

कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्न तपाईं हाम्रो व्यक्तिगत पहलमात्रै काफी हुँदैन । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न हामीबीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रूपमा हाम्रा पूर्खाले हामीलाई नेपालको सबैभन्दा सशक्त त्यो फोरम उपहारमा दिएका छन् ।

त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रूपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ ।

तपाईंहरूको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा चार महिनाअघि नै औपचारिक घोषणा गरिसकेको छु ।

तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो समूहको जरुरत पर्छ । आज हामी त्यो टिमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं ।

हाम्रो टिममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनुहुनेछ ।

महासंघमा नयाँ नेतृत्वका रूपमा आउने हाम्रो यो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रूपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ ।

हाम्रो यो टिम अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टिमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।

तपाईंलाई दुःख परेको बेला हाम्रो टिम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्माता कहाँ पु¥याइदिएर समाधान खोजिदिनेछ ।

आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन र ?

आज हामी चुनावमा छौं, स्वाभाविक रूपमा हाम्रो टिमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टिम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टिमको तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस् ।

विपक्षी टिमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यसअघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरि सम्झनुहोस् ।

अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरूसँग आग्रह गर्न चाहन्छु । उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनुभएका हाम्रा विपक्षी टिमका साथीहरू बितेका वर्षहरूमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ?

तपाईंले खोज्दा, के उहाँहरूसँग भेट भएको थियो ? तपाईंले फोन गर्दा उहाँहरूको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरूले सुनिदिनु भएको थियो ? समाधान खोजेर ल्याइदिनु भएको थियो ?

सुन्दैछु, अहिले फेरि तपाईंहरूलाई ती साथीहरूको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरि आश्वासन आउन थालेको छ रे, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ।

भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरि उहाँहरूको फोन आउँछ भन्ने आशा तपाईंलाई छ ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरूले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् ।

म भन्छु, उहाँहरूको मात्रै होइन, हाम्रो पनि विगत हेर्नुहोस् । हामी तपाईंको समीपमा रहेर कसरी काम गरेका थियौं । म आज तपाईंहरूलाई फेरि विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं ।

हामी चुनाव जितेपछि तपाईंहरूको सम्पर्कबाट भाग्नेवाला होइनौं । कम्तीमा हाम्रो टिमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिबद्धता पनि हो ।

तपाईंहरू आफैँ मनन् गर्नुहोस्, तपाईंहरू आफैले मूल्याङ्कन गर्नुहोस् । त्यो टिम छान्ने वा यो टिम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो ।

स्वाभाविक रूपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रूपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।

चार महिनाअघि मैले मेरो घोषणासभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ ।

मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो केका लागि ?

आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरूले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लविङ गरेको थियो ? भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ।

यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो । हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टिमको सदस्य हौं । सायद उहाँका लागि यो साधारण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो ।

यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामी भित्र विश्वास जगाउन हो ।

हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ ।

हिजो अस्ति राज्यसँग लडेर त्यो भूमिका खोज्नुपथ्र्याे, सम्मान माग्नुपथ्र्यो । तर आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टिमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ ।

मैले मेरो घोषणासभामा पनि भनेको थिएँ । निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौं ।

जिल्ला नगरका साथीहरूलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई ३०÷७० को सहभागिता लागू गर्न पहल गर्नेछौं ।

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता विकासका तालिम दिने, एक गाउँ एक उत्पादनजस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगम, बैङ्किङ, राजस्वलगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।

हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं ।

हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायिक हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नेछ ।

हामीले महासंघलाई ठूला उद्यमीहरूको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्नेछौं ।

कोरोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन् । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्नेछ ।

नेतृत्व भनेको संकटको सारथि हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरूलाई अपिल गर्दछु ।

(ढकालले प्यानल घोषणा गर्दै राखेको मन्तव्यको पूर्ण पाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment