Comments Add Comment

बोलबम : सात्विक जीवनशैलीका लागि

साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यत्मिक चिन्तन गर्ने महिनाको रुपमा लिइन्छ । यतिबेला पूजा आराधना गरिन्छ, सात्विक खानेकुरा मात्र खाने गरिन्छ, व्रत–उपवास बसिन्छ । मन्दिर धाउने, बोलबम जाने परम्परा पनि छ, भलै यसपाली कोरोनाको कारण यी सबै संभव नभएपनि ।

सामान्य अवस्था हुँदो हो त साउनमा गेरु बस्त्र धारण गरेर ‘बोलबम’ अलाप्दै हिँड्नेहरुको लस्कर देखिन्थ्यो । तर, यसपाली कोरोना भाइरसको संभावित जोखिमले गर्दा बोलबम हिँड्ने वा मन्दिर धाउने अनुकुलता छैन । देवघाट लगायतका तीर्थस्थलहरुमा बोलबम मेला नलाग्ने भएको छ ।

के हो बोलबम ?

बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ ।

बोलबमले सात्विक जीवनशैलीतर्फ डोहो¥याउँछ । किनभने, बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पु¥याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।

सृष्टिको महत्वलाई बुझ्न

बोलबम को सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रित छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो ।

यसलाई यौनसँग पनि जोडेर व्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । यो भनाईलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ ।

तर, धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए ।

त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment