Comments Add Comment

मुख्यमन्त्रीलाई हरि खड्काको प्रश्न– प्रशिक्षक र व्यवस्थापकको भूमिका के ?

१ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले पुरस्कार र सम्मान गर्दा खेलाडीलाई मात्रै पुरस्कार दिने विषयको आलोचना गर्दै प्रशिक्षक र व्यवस्थापकको भूमिका के हो भनेर प्रश्न उठाएका छन् ।

प्रदेश १ सरकारले बुधबार सागमा पदक जितेका आफ्नो प्रदेशका खेलाडीहरुलाई पुरस्कार दिएको प्रसंगमा खड्काले खेलाडीहरुलाई बधाई दिँदै प्रशिक्षक र व्यवस्थापक पनि सम्मानको उत्ति नै हकदार हुने बताएका छन् ।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश नम्बर एकले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीहरुलाई बधाई अनि प्रदेश प्रमुखलगायत सम्पूर्ण टिमलाई धेरै धरै धन्यवाद, तर एउटा जिज्ञासा प्रशिक्षक अनि व्यवस्थापकको भूमिका के ?’

हरि खड्का थप लेख्छन्, ‘यदि भूमिका छैन भने भन्नुपर्यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् या व्यवस्थापक सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले स–सम्मान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन् यसमा मुख्यमन्त्रीज्यूले के भन्न चाहनुहुन्छ ।’

साथै उनले खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकको पनि उत्ति नै योगदान हुने बताएका छन् । ‘मुख्यमन्त्रीज्यूलाई उहाँहरुको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभाएको हो कि भन्ने मलाई लागेको जिज्ञासा हो । म गलत हुँला । तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस् या व्यवस्थापन सबै सम्मानका भोका हुन्छन् । त्यसैले यसतर्फ मुख्यमन्त्रीज्युको ध्यानाकर्षण गर्न चाहन्छु ! जय नेपाली फुटबल ।’

खड्काको प्रशिक्षणमा नेपालले १३ औं सागमा महिला फुटबलमा रजत जितेको थियो । स्वर्ण जित्न नसकेपछि उनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

खड्काको उक्त स्ट्याटसमा सहमति जनाउँदे अन्य खेलकर्मीले पनि कमेन्ट गरेका छन् । जसमा चार पटक सागमा स्वर्ण जितेका ओलम्पिकदेखि एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठसम्म छन् । सबैले खड्काको भनाइलाई समर्थन गरेका छन् ।

बुधबार प्रदेश १ सरकारले खेलाडीहरुको बैंक खातामै पैसा जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरुलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment