
१ साउन, काठमाडौं । पाकिस्तानमा एक पूर्वमन्त्रीविरुद्ध ईश्वरको निन्दा गरेको अभियोगमा उजुरी परेको छ ।
पूर्वप्रधानमन्त्री नवाज सरिफको पालाका केन्द्रीय मन्त्री ख्वाजा आसिफविरुद्ध सत्तारुढ दल तहरिके–इन्साफका एक स्थानीय नेताले ईश्वरको निन्दा गरेको अभियोगमा उजुरी दिएका हुन् ।
ख्वाजाले राष्ट्रिय सभामा गत साता गरेको सम्बोधनमा २२ करोड जनसंख्या रहेको पाकिस्तानमा कसको धर्म के हो भन्ने कुराले कुनै अर्थ नराख्ने बताएका थिए ।
उनले कुनै पनि धर्म अर्को धर्मभन्दा ठूलो नरहेको पनि उल्लेख गरेका थिए । उनले पाकिस्तानको इस्लामाबादमा मन्दिर बनाउन विरोध गर्नेहरु मुलुकको संस्थापकको पनि सम्मान नगर्ने मानिस रहेको बताएका थिए ।
ख्वाजाले अल्पसंख्यक समुदायको रक्षा गर्नु इस्लामिक परम्परा रहेको पनि बताए । इस्लामिक शासनकालमा अल्पसंख्यक कहिल्यै पनि असुरक्षित नरहेको उनको भनाइ थियो । समाजमा सहिष्णुता र भाइचारालाई बढावा दिनु आफूहरुको जिम्मेवारी रहेको उनको धारणा छ ।
उनको भनाइको विरुद्धमा प्रधानमन्त्रीको पार्टीका स्थानीय नेता कमर रियाजले प्रहरीमा निवेदन दिएका छन् । यद्यपि अहिलेसम्म प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको छैन । रियाजले भने यो मुद्दा अघि नबढाए प्रहरीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रियाज पेशाले वकिल पनि हुन् । उनले सबै धर्मलाई संवैधानिकरुपमा बराबर बताउनुले आफूहरुलाई चोट पुगेको बताएका छन् । उनले कुरानमा इस्लाम धर्म अन्य सबै धर्मभन्दा उत्तम रहेको उल्लेख गरिएकाले यस्तो भन्नु इस्लामको विरुद्ध रहेको उनले उल्लेख गरेका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4