Comments Add Comment

सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र हतियारधारी समूहबीच मुठभेड

२ साउन, विराटनगर । गएराति सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान भएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीट्यांकीमा भारतीय मोटरसाइकलमा आएका आपराधिक समूह र चेकजाँचका लागि खटिएको प्रहरी टोलीबीच गोली हानाहान भएको हो ।

घटनामा प्रहरीको गोली लागेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले अनलाइनखबरलाई बताए ।

प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा आएको समूहले फायरिङ गरेको थियो । प्रहरीले जवाफी कारबाहीमा बाह्र राउण्ड फायर गरेको थियो ।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव, देवानगञ्ज–३ का ३२ वर्षीय राजेश यादव घाइते भएका छन् । अन्य तीन जनाको समूह भारततर्फ भागेको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार प्रहरीको गोली लागेर पिन्टु र राजेश सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवाबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

राजेश यादवको दाहिने तिघ्रामा गोली लागेको छ । प्रहरीका अनुसार पिन्टु यादवको घुडामुनि एउटा र बायाँ खुट्टाको नलीमा २ वटा प्वाल देखिएको छ ।

घटनास्थलबाट एउटा पेस्तोल, त्यसमा लाग्ने गोली ६ राउण्ड, २ वटा म्यागजिन, बिआर ३८ भि ३५२८ र अनटेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद भएको छ ।

प्रहरीका अनुसार पिन्टु यसअघि पनि चोरीका घटनामा संलग्न थिए । फरार रहेका तीन जनाको खोजी भइरहेको जनाइएको छ । उनीहरु के उद्देश्यले आएका थिए भन्ने पनि खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment