Comments Add Comment

उपाध्यक्षकै नेतृत्वमा पकाहामैनपुर गाउँपालिकामा तालाबन्दी

तालाबन्दीको क्रममा उपाध्यक्ष घाइते, अस्पतालमा भर्ना

४ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ । उपाध्यक्ष कुशमीदेवीको नेतृत्वमा गएको स्थानीयको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । गत असार ३१ गते सम्पन्न भएको चौथो गाउँ सभाप्रति असन्तुष्टी जनाउँदै उपाध्यक्ष कुशमीदेवी ठूलो संख्यामा सर्वसाधरणसहित तालाबन्दी गर्न कार्यालय गएकी थिइन् ।

गाउँ सभामा ३२ करोड ९ लाख ७८ हजार रुपैयाँको अनुमानित आय व्यय विवरणसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कोरोना महामारीमा खर्च गरिएको रकम सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को लक्षित वर्गको रकम र खर्च शिर्षक सार्वजनिक गर्नुपर्ने, ०७६/०७७ मा गरिएको इन्धन खर्च ३० लाखको हिसाब सार्वजनिक गर्नुपर्ने, जेसीबीको आम्दानी, गाउँपालिकाको वडा नं २ र ३ मा रहेको मधुवनी पोखरी र गोनाहापोखरीको माछा बिक्रीबाट आएको रकम, एम्बुलेन्स सञ्चालनबाट आएको आम्दानी र पछिल्लो दुई आर्थिक वर्षमा गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले सेवा सुविधाको नाममा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग उनको छ ।

तालाबन्दी गर्ने क्रममा उपाध्यक्ष कुशमीदेवीको समूह र सुरक्षाकर्मीबीच कार्यालय परिसरमा केहीबेर घम्साघम्सी नै भएको थियो । प्रहरीसँगको धकेलाधकेलमा चोट लागेको भन्दै उपप्रमुख कुशमीदेवी नारायणी अस्पतालमा भर्ना भएकी छन् । गाउँपालिकामा तालाबन्दी गर्न जाँदा पुरुष सुरक्षाकर्मीले आफूलाई धकेलेको आरोप उनले लगाएकी छन् । चौथो गाउँसभा सम्पन्न भएको कुरा पनि आफूले सञ्चारमाध्यमबाट सुनेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस पकाहामैनपुर गाउँपालिकामा अनियमितता भएको आरोप

सुरक्षाकर्मीले धकेलेका कारण अस्वस्थ भएपछि उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको जनता समाजवादी पार्टीका स्थानीय नेता शिवजी सोनीले जानकारी दिए ।

‘सुरक्षाकर्मीले धकाल्दा उहाँलाई सञ्चो भएन, गाउँपालिकाको एम्बुलेन्स पनि उपलब्ध हुन सकेन । टेम्पु रिजर्भ गरेर अस्पताल ल्याएका छौं,’ उनले भने, ‘ घाँटी र छातीमा चोट लागेको छ ।’

गाउँपालिका अध्यक्ष चौरसियाले मनोमानी र अपारदर्शी ढंगले बजेट खर्च गर्ने, हिसाब किताब सार्वजनिक नगर्ने गरेकोमा उपाध्यक्षले विरोध गर्दै आएको उनी बताउँछन् । गाउँसभा पनि उपप्रमुखलाई झुक्याएर गरिएको दाबी उनले गरे ।

‘गाउँपालिका वडा स्तरीय योजना तर्जुमा नै भएको छैन, २९ गतेका दिन ३१ गते बैठक छ भन्ने चिठ्ठी पाएपछि उहाँ जानुभएको रहेछ,’ उनले भने, ‘ एउटा मोबाइलसहितको झोला दिएछन्, कुनै कार्यक्रम होला भनेर केहीबेर बसेर फर्कनुभएछ । पछि गाउँ सभा सम्पन्न भएको समाचार सुनेर उहाँ छक्क पर्नुभयो ।’

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले भने तालाबन्दीको क्रममा गाउँपालिकामा बढी नै भिडभाड देखिएपनि सुरक्षाकर्मीले कसैलाई कुटपिट नगरेको दाबी गरे ।

‘पानी परिरहेको भएपनि तालाबन्दी गर्न भनेर उपाध्यक्षसहितको ठूलो समूह कार्यालय पुगेको थियो । प्रहरीले बेलैमा गएर स्थिति विग्रनबाट रोकेको हो,’ उनले भने, ‘उपाध्यक्ष त परको कुरा सुरक्षाकर्मीले कसैलाई कुटपिट गरेको छैन । ’

अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीका भएपनि पकाहामैनपुरमा अध्यक्ष र उपाध्यक्षबीच सुरुदेखि नै मनमुटाब रहँदै आएको छ । विगतका वर्षमा पनि उपाध्यक्ष कुशमीदेवीले अध्यक्ष चौरसियाले अनियमितता गरेको भन्दै विरोध गर्दै आएकी थिइन् ।

यो पनि पढ्नुहोस पर्साका दुई स्थानीय तहमा अझैं गाउँसभा हुन सकेन

गाउँपालिकामा तालाबन्दी र प्रदर्शन हुँदा अध्यक्ष चौरसिया वीरगञ्जमा थिए । पर्सा जिल्ला अदालतमा पोखरीको विषयमा परेको मुद्धाको पेशी आइतबार नै चढेपछि उनी वीरगञ्ज आएका हुन् । गाउँपालिकामा तालाबन्दी गरिएकोे खबर अदालतमा थाहा पाएको उनले बताए ।

उपाध्यक्ष कुशमीदेवीले विभिन्न माग राखेर सुरुदेखि नै आफूलाई दुःख दिने काम गर्दै आएको अध्यक्ष चौरसिया बताउँछन् । ‘उहाँ आफैं चलिरहनुभएको छैन, अरुले चलाइरहेका छन् । सबै कुराको जानकारी हुन्छ तर केही थाहा छैन भन्नुहुन्छ । धेरै कुरा त वेभसाइटमै राखिएको हुन्छ । ’ अध्यक्ष चौरसिया भन्छन् ‘झगडा गर्ने नै मनसाय भएपछि कसैले रोक्न सक्दैन । आजपनि आएर गाउँपालिकामा ताला मारेर जानुभएको छ ।’

उपाध्यक्षले विगतदेखि नै गाडीको माग गर्दै आएको तर आफूले नियमले नमिल्ने भएकोले दिन नसकेको उनले बताए । ‘उहाँ कहिले गाडी चाहियो, कहिले के चाहियो भन्नुहुन्छ नियमले दिन मिल्दैन,’ उनले भने ।

वडा नं २ मा वडाध्यक्षले एकल महिलालाई मात्रै ग्याँस सिलिण्डर वितरण गर्दा अरु असन्तुष्ट बनेको र तिनै महिलालाई उचालेर ल्याएर गाउँपालिकामा तालाबन्दी गरेको अध्यक्ष चौरसियाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment