Comments Add Comment

सटर भाडा मिनाहा गर्न बुटवलका व्यवसायीको माग

४ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवसायिक भवनका सटर भाडामा लिएका व्यवसायीहरुले लकडाउन अवधिको भाडा मिनाहा गर्न माग गरेका छन् ।

लकडाउनका कारण चैतदेखि झण्डै चार महिनासम्म व्यवसाय बन्द गर्नुपरेकोले कम्तीमा तीन महिनाको भाडा मिनाहा गर्न उनीहरुले माग गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाको स्वामित्वका बुटवल-५ हाटबजार र अमरपथको भवनमा बस्दै आएका करिब ४० वटा सटरका व्यवसायीले घर भाडा मिनाहाको माग गरेका छन् ।

बुटवलमा ६० जनाभन्दा धेरै घरधनीले व्यक्तिगत रुपमा लकडाउन अवधिको तीन महिनासम्मको भाडा मिनाहा गरेको अवस्थामा स्थानीय सरकारको रुपमा रहेको उपमहानगरले पनि तीन महिनाको भाडा मिनाहा गर्नुपर्ने व्यवसायीको तर्क छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यवसायी भरत श्रेष्ठले भने, लकडाउनका कारण झण्डै चार महिना पसल बन्द भएको र व्यवसाय ठप्प भएको देख्दादेख्दै एक महिना मात्र मिनाहा गरेर उपमहानगरपालिकाले झारा टार्ने काम मात्रै गर्‍यो ।

राजस्व परामर्श समितिले समेत लकडाउन अवधिको तीन महिनाको भाडा शतप्रतिशत मिनाहा गर्न उपमहानगरपालिकालाई सुझाव दिए पनि बेवास्ता गरिएको उनको भनाइ छ ।

एक महिनाको मात्रै भाडा छुट गर्ने उपमहानगरपालिकाको निर्णयले कुनै राहत नदिने व्यवसायीहरुको तर्क छ ।

पाँच वर्षे भाडा सम्झौताको म्यादसमेत असार मसान्तमै सकिएको कारण आफूहरु थप समस्यामा परेकाले भाडा सम्झौताको अवधि कम्तीमा तीन वर्ष बढाइदिन पनि व्यवसायीले उपमहानगरपालिकासँग माग गरेका छन् ।

उपमहानगरले भने एक वर्ष मात्रै सम्झौता अवधि थप्ने निर्णय गरेको छ । बारम्बार गरिने टेण्डरले व्यवसायीहरु विस्थापित हुने र ढुक्क भएर लगानी थप्न र व्यवसाय गर्न नपाउने समस्या भएकाले विज्ञहरुको आयोग बनाएर वैज्ञानिक भाडा दर लागु गर्न पनि उनीहरुले माग गरेका छन् ।

‘उपमहानगरपालिकाले खाली जग्गा देख्यो कि सटर बनाइहाल्ने र भाडामा लगाउने अनि टेण्डर गर्दै बिचल्ली बनाउने काम मात्रै गरेको छ,’ अर्का गंगाराम भुसालले भने, ‘पाँच वर्ष व्यवसाय गरेपछि फेरि टेण्डर नपरे कहाँ जाने ?’

उपमहानगरपालिकाले खाली जग्गामा व्यवसायकि भवन बनाएर भाडामा लगाउने काम बन्द गर्नुपर्ने मागसमेत व्यवसायीहरुले गरेका छन् ।

सरकारकै कारण घर र सटर भाडा अप्राकृतिक रुपले महँगो भएको र त्यसको मारमा उपभोक्ता पर्ने गरेको उनले बताए ।

पटके टेण्डरले अप्राकृतिकरुपमा भाडा वृद्धि हुने र त्यसको असर उपभोक्तामा पर्ने भएकाले सरकारले टेण्डरको सट्टा वैज्ञानिक भाडा दर लागु गर्नुपर्ने व्यावसायी मिना मानन्धरले बताइन् ।

व्यवसायीहरुले हाटबजारमा एउटा सटरको कम्तीमा २५ हजारदेखि अधिकतम ३५ हजारसम्म र अमरपथमा ३५ हजारदेखि ७० हजारसम्म भाडा तिर्दै आएका छन् । माग पूरा नभएर चरणवद्ध आन्दोलनका लागि व्यवसायीहरुले भरत श्रेष्ठको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले लकडाउनका कारण व्यवसायी मारमा परेकाले नै एक महिनाको भाडा मिनाहा र एक वर्ष सम्झौता अवधि थप गरिएको बताए । उनले व्यवसायीका समस्याबारे थप छलफल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment