Comments Add Comment

पाँच महिनाअघि बेपत्ता भएका युवकको कंकाल भेटियो

४ साउन, सुर्खेत । गत फागुनमा सिकार खेल्न गएको बेला बेपत्ता भएका सुर्खेतका एक युवकको कंकाल फेला परेको छ । बराहताल गाउँपालिका -१, सम्सेलीका ३० वर्षीय शिवराम रानाको कंकाल पाँच महिनापछि भरुवा बन्दुकसहित प्रहरीले फेला पारेको हो ।

इन्स्पेक्टर गोपाल रायमाझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बर्दियाको ठाकुरद्वार नगरपालिका-१ स्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट शिवराम रानाको कंकाल फेला पारेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी राजेन्ऽप्रसाद भट्टले जानकारी दिए ।

एसपी भट्टका अनुसार रानाको हात, खुट्टाको हड्डी, खप्परसहित एक नाले भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग गरिने छर्रा, एक/एक थान हँसिया, खुकुरी, चक्कु, मृतकको कपडा, झोला र चप्पल पनि फेला पारेको छ ।

गत फागुन १० गते शिवरामकी श्रीमती मनरुपा रानाले आफ्नो श्रीमानलाई सँगै गएका दुई छिमेकीले नै बेपत्ता पारेको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका यामबहादुर सम्सेली र सूर्यबहादुर वलीलाई असार १६ गते पक्राउ गरेको थियो ।

घटना भएको केही दिनमा भारत गएका सम्सेली र वली बराहताल-१ स्थित घर फर्किएको सूचना मृतकको श्रीमतीले दिएपछि पक्राउ गरेको एसपी भट्टले बताए ।

आफन्तले कपडा मृतकै भएको बताएपछि कंकाल शिवराम रानाकै भएको खुलेको प्रहरीले बताएको छ । अब केही दिनमा थप पुष्टिका लागि मृतकको डीएनए परीक्षण गरिने एसपी भट्टले बताए ।

सनाखत भए पनि मृतकको श्रीमतीले भने गत बिहीबार आफ्नो श्रीमानको हत्या भएको भन्दै गत बिहीबार प्रतिवादी सम्सेली र वलीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment