
५ साउन, सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
राजविराज नगरपालिका- ६ का ७२ वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमित देखिएका छन् ।
सोमबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए ।
यसअघि आइतबार मृतक वृद्वका पत्नी, छोरा, बुहारी र नाति, नातिनासमेत गरी ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ । वृद्धको परिवार दुई साताअघि भारतबाट घर आएको थियो ।
वडा अध्यक्ष यादवले उनको परिवार भारतबाटै संक्रमित भएर आएको देखिएको बताए । ‘उनी आएपछि को कोसँग भेटे भन्ने सन्दर्भमा डिटेल हिस्ट्री पत्ता लगाइरहेका छौं’ उनले भने ।
प्रतिक्रिया 4